क्यामरुनलाई यस्तो श्रीलंकाको चेतावनी I

कोलम्बो  कार्तिक २९ ,

श्रीलंकाली सरकारले शुक्रबारदेखि सुरु हुने तीनदिने राष्ट्रमण्डल मुलुकको बैठकको पूर्वसन्ध्यामा बिहीबार बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई युद्धअपराधको मुद्दा नउठाउन चेतावनी दिएको छ । उसले यसबारेमा कुनैखाले प्रश्न नगर्न क्यामरुनलाई सुझाव दिएको छ । 

उनले पनि उक्त बैठकमा सहभागी भएर श्रीलंकाको मानावधिकारसम्बन्धी तथ्यांकमाथि ध्यानाकर्षणको प्रयास गर्ने अडान व्यक्त गरेका छन् । यसकै लागि आमन्त्रण नगरिएको हुनाले उनलाई यो मुद्दा उठाउने अधिकार नभएको श्रीलंकाको जोड छ । राष्ट्रपति महिन्दा राजपाक्क्षेले सन् २००९ मा तमिल टाइगर विद्रोहीलाई पराजित गरेर हत्याको शृंखला रोकेको बताएका छन् । राष्ट्रमण्डलमा ५३ मुलुक सदस्य छन् । भारत, क्यानाडा र मरिससका प्रधानमन्त्री यो बैठकमा भाग लिइरहेका छैनन् । 

श्रीलंकामा गृहयुद्धको समाप्तिको अन्तिम महिनामा तमिल विद्रोहीविरुद्ध अकल्पनीय युद्धअपराध भएको हुनाले त्यसको विरोध गर्दै उनीहरू सहभागी नभएका हुन् । विपक्षी लेबर पार्टी र तमिल प्रतिनिधिहरूले क्यामरुनलाई बैठकमा सहभागी नहुन अपिल गरेका थिए । उनले बैठकमा मानवाधिकारको विषयलाई उठाई छाड्ने भन्दै भाग लिने जिद्दी गरेका थिए । श्रीलंकाले आफू उपनिवेश नभएर स्वतन्त्र मुलुक भएको भन्दै क्यामरुनको यो धारणाप्रति आक्रोश व्यक्त गरेको छ । 

राष्ट्रसंघका अनुसार श्रीलंकामा २६ वर्षसम्म जारी युद्धमा अन्तिमको पाँच महिनामा ४० हजार सर्वसाधारणको ज्यान गएको थियो । एकलकाँटे पाराले श्रीलंकाले यस आरोपको खण्डन गर्दै आएको छ । यसबारेमा त्यहाँ उपस्थित बेलायती सञ्चारमाध्यमले सोधेको प्रश्नको जवाफ श्रीलंकाले दिएको छैन । सरकार समर्थकले बीबीसी च्यानल-४ टिमलाई मुलुकको उत्तरी क्षेत्रमा जान दिएको छैन । 

त्यहाँ केही पत्रकारको हत्या भएको बीबीसीको कूटनीतिक मामिला संवाददाता जेम्स रोबिन्सले बताएका छन् । बेलायती युवराज चाल्र्स र पत्नी केमिला श्रीलंकामा शुक्रबार सुरु हुन गइरहेको राष्ट्रमण्डल सम्मेलनमा सहभागी हुन राजधानी कोलम्बो पुगेका छन् । ६५ वर्षे युवराज चाल्र्सले सम्मेलनको उद्घाटन गर्नेछन् । (एजेन्सी)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com