प्रकृति विपतका कारण फिलिपिन्समा १० हजारभन्दा बढीको ज्यान गयो I

मनिला  कार्तिक २७,

आँधीबाट भारी तहसनहस भएको फिलिपिन्सलाई विश्वका विभिन्न संस्था तथा देशहरूले सहयोग पठाइरहेका छन् । यो ताजा प्रकृति विपत्मा १० हजारभन्दा बढीको ज्यान गइसकेको सरकारले पुष्टि गरेको छ । हजारौं अझै बेपत्ता छन् । 

परिवारजनले हराइरहेकाको हरसम्भव खोजी गरिरहेका छन् । अमेरिका, राष्ट्रसंघ र अस्ट्रेलियाले आइतबारदेखि नै आपत्कालीन सहायता पठाउन सुरु गरेको छ । पूर्वी द्वीप लेट तथा समरलाई भूमध्यसागरीय शक्तिशाली आँधी 'सुपर टाइफुन हायान'ले सबभन्दा बढी प्रभावित बनाएको छ । घरका पर्खालहरू मात्र देखिएका छन् । आँधीपछि उठेको १५ मिटर अग्लो पानीको छालले पूरा सहरलाई ढाकेको थियो । आँधीले सडक तथा विमानस्थल जस्ता आधारभूत पूर्वाधारलाई जर्जर बनाएको छ । राहत कार्यमा पनि अवरोध उत्पन्न भएको छ । झन्डै ९० लाख जनता प्रभावित भएका छन् । 

अधिकांशसँग भोजन, पानी र बास छैन । भोजन र दूधको खोजीमा पसल र मलमा लुटपाट सुरु भएको छ । भोकमरीले धेरैको मृत्यु हुने अनुमान गरिएको छ । सरकारले अति आवश्यक दैनिक उपभोग्य सामग्रीको अभाव भएको स्वीकारेको छ । राहत कार्यको खराब व्यवस्थापनका कारण स्थानीय असन्तुष्ट छन् । अस्ट्रेलिया र अमेरिकाले आपत्कालीन सैनिक सहयोग र उद्वारका लागि उद्वारकर्मीहरू परिचालन गरेको छ । आँधीले पुर्‍याएको क्षतिको आँकलनसँगै उद्वार जारीे छ । 

त्यहाँ सञ्चार अवरुद्ध भएको छ । ऊर्जा तथा टेलिफोन सञ्जाल नष्ट भएका छन् । ती क्षेत्रमा सञ्चार लगायतका विभिन्न आधारभूत सहायताको काम भइरहेकोे छ । क्षतिको पूर्ण विवरण अझै प्राप्त हुन सकिरहेको छैन । गति कम भइइसकेको यो आँधी चिनियाँ सीमास्थित उत्तरी भियतनाममा प्रवेश गरेको छ । चीनको दक्षिणी तटीय क्षेत्रमा पनि यस आँधीबाट कम्तीमा ६ को मृत्यु भएको छ । हजारौं घर क्षतिग्रस्त भएका छन् । उक्त क्षेत्रबाट ३० हजारलाई सुरक्षित स्थानमा सारिएको छ । एएफपी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com