चीनमा तुवाँलोले सास फेर्न गाह्रो भएपछि I

बेइजिङ  कार्तिक ५ ,

चीनको हेइलङजिङ प्रान्तको हर्बिन सहरमा तुवाँलोले सास फेर्न गाह्रो भएपछि सोमबार विद्यालय र राजमार्गहरू बन्द गरिएका छन् । उडानहरू प्रभावित भएका छन् । हावामा कणहरूको घनत्व विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको सीमाभन्दा बढी कयौं गुणा बढी छ । 

सहरभित्र दृष्टिक्षेत्र ५० मिटरभन्दा तल झरेको थियो । स्थानीय सञ्चारमाध्यमहरूले प्रदूषणलाई हिउँदका लागि सहरको 'पब्लिक हिटिङ सिस्टम' जोडेका छन् । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार हावामा २.५ माइक्रोमिटरभन्दा साना कणहरू नाप्न प्रयोग गरिने पीएम २.५ सोमबार बिहान प्रतिक्युविक मिटर ५ सय माइक्रोग्रामभन्दा बढी थियो । डब्लूएचओको 'गाइडलाइन' अनुसार पीएम २.५ को औसत दैनिक घनत्व प्रतिक्युविक मिटरमा २५ माइक्रोग्रामभन्दा बढी हुनु हुन्न । 

हेइलङजिङ प्रान्तका सबै राजमार्ग र हर्विनको ताइपिङ अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य बन्द गरिएको थियो । हेइलङजिङ, जिलिन र लिओनिङ प्रान्तमा बाक्लो तुवाँलोको चेतावनी दिइएको थियो । यस तुवाँलोबारे ट्वीटर जस्तै चिनियाँ माइक्रोब्लग सिना वेइबोमा विस्तृत बहस छाएको छ । 'हामी सबै आज कक्षामा ढिलो पुगेका थियौं, किन कि हामीले पढाउने भवन नै देख्न सकेनौं,' जिलान प्रान्तका एक माइक्रोब्लग प्रयोगकर्ताले लेखे । 

हार्बिनका एक माइक्रोब्लगरले हर्बिन 'आज मृत सहर भएको' उल्लेख गरेका छन् । 'बेइजिङ तिमी लामो समय एक्लै रहेनौ । तिम्रो साथ हामी पनि छौं,' वायु प्रदूषणले बारम्बार सताउने बेइजिङ सहरबारे उनले लेखे । यस वर्षको सुरुमा राजधानी बेइजिङमा पनि वायु प्रदूषण खतरनाक तहमा पुगेको थियो । एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com