ब्राजिलको दुई प्रमुख सहर रियो दी जनेरियो र साओ पाओलोमा हिंसा भड्केको छ । शिक्षकका समर्थकहरूले निकालेको शान्तिपूर्ण र्यालीमा सुरक्षाकर्मीले गरेको हस्तक्षेपपछि हिंसा भड्केको हो ।
प्रदर्शनकारीहरूले कयौं बैंकहरूलाई आफ्नो आक्रमणको निसाना बनाएका छन् ।
सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रण लिन कयांै सेल अश्रुग्यास प्रहार गरेको छ । ब्राजिलका यी सहरमा २०१४ मा विश्व कप र २०१६ मा ओलम्पिक खेल हुने कार्यक्रम भएकाले पछिल्लो हिंसात्मक प्रदर्शनले सुरक्षा चुनौती थपिएको छ । रियोमा निकालिएको शान्तिपूर्ण जुलुसमा १० हजारको सहभागिता थियो । बेलुकातिर 'ब्ल्याक ब्लक' नामको केही अराजकतावादीहरूले सिटी हलमा प्रवेश गरी ढोका फोर्न थालेपछि प्रहरीले बल प्रयोग गर्यो । त्यसपछि सुरक्षाकर्मीविरुद्ध प्रदर्शनकारीहरू खनिएका थिए ।
केही प्रदर्शनकारीहरूले सहरका बैंकहरूमा तोडफोड मच्चाउन थालेका थिए । त्यस क्रममा बैंकका एटीएममा तोडफोड गर्दै केही बैंकहरूमा आगजनीसमेत गरेको बीबीसीले जनाएको छ । प्रदर्शनकारीले सहरको अति व्यस्त क्षेत्र रियो ब्रान्को एभेन्यूमा एउटा बसमा समेत आगो लगाए ।
उनीहरूले बैंकमा प्रयोग गरिएका फर्निचरहरूलाई प्रहरीविरुद्धको ब्यारिकेडका रूपमा ल्याएका थिए ।
बीबीसीले २३ वषर्ीय एक अराजकतावादी ह्युगो क्रियोजलाई उद्धृत गर्दै भनेको छ, 'प्रहरीकै कारण हिंसा भड्केका हो ।' ब्राजिलका शिक्षकहरू दुई महिनायता तलब वृद्धिको माग गर्दै आन्दोलनरत छन् ।
शिक्षकहरूले निकालेको जुलुसको समर्थनमा ५० हजार मानिस सडकमा उत्रेको अनुमान छ । तर सरकारले भने १० हजारले मात्रै प्रदर्शनमा सहभागी भएको बतायो । एजेन्सी :