ओखलढुङ्गा कार्तिक ५,
दसैँ मान्न गएका यस जिल्लाका कतिपय कार्यालय प्रमुखहरु कार्यालय नफर्कंदा सेवाग्राही मर्कामा परेका छन्। कार्यालय खुलेको पाँच दिन बितिसक्दा पनि दर्जनभन्दा बढी सरकारी कार्यालयका प्रमुख र कर्मचारी अझै कार्यालयमा हाजिर भएका छैनन्।
जिल्ला शिक्षा कार्यालय, जिल्ला प्राविधिक, मालपोत, नापी, जिल्ला वन, विद्युत् प्राधिकरण, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, भूसंरक्षण कार्यालय, जिल्ला विकास समितिका कार्यालय प्रमुख कार्यालय फर्किएका छैनन्।
त्यस्तै कोष तथा लेखा नियन्त्रण कार्यालय, सहरी विकास तथा भवन निर्माण कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिमा पनि कार्यालय प्रमुख तथा कर्मचारीहरु नहुँदा सेवाग्राही मर्कामा परेका छन्। जनताको कामसँग प्रत्यक्ष जोडिएका कार्यालयका कर्मचारी नभएपछि समस्या भएको हो।
कार्यालय प्रमुखहरु नहुँदा कार्यालयको दैनिक काम प्रभावित भएको छ।
केही कार्यालय प्रमुखहरु काममा फर्के पनि अधिकांश कार्यालय निमित्तको भरमा चलेका छन्। कार्यालय प्रमुख र जिम्मेवार कर्मचारी नहुँदा दुर्गम गाउँबाट आएका सेवाग्राही सेवा नपाई रित्तो हात फर्कन बाध्य छन्।
निर्वाचन आयोगले कर्मचारीलाई जिल्ला नछोड्न निर्देशन दिए पनि कर्मचारी भने अझै जिल्लामा हाजिर भएका छैनन्। प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कर्मचारीहरु कार्यालयमा आउने क्रममा रहेका बताए। रासस: