कडा विरोध पछि अमेरिकाले घुँडा टेक्यो I

वासिङ्टन  कार्तिक १३ ,

आफ्नै सहयोगी मुलुकहरूले गुप्तचरीको कडा विरोध गरेपछि अमेरिकाले घुँडा टेक्नुपरेको छ । केही निकट युरोपेली र एसियाली मुलुकले यसको तिखो आलोचना गरेपछि अमेरिकी शक्तिकेन्द्र ह्वाइट हाउसले गुप्तचरी संयन्त्रमा बढी नियन्त्रणको आवश्यकतालाई स्वीकारेको छ । 

विभिन्न मुलुकका नागरिक र त्यसका ३५ नेताको फोनलाई अमेरिकी गुप्तचर निकायले निगरानीमा राखेको सार्वजनिक भएपछि जर्मनी, फ्रान्स, ब्राजिल, मेक्सिको, स्पेन लगायत मुलुक अमेरिकासँग असन्तुष्ट छन् । जर्मन चान्सलर एन्जेला मर्केलले आफ्नो गुप्तचर टोली वासिङ्टन पठाउन लागेकी छन् । अमेरिकी सरकारका प्रवक्ता जे कार्नीले गुप्तचर निकायको नीतिगत समीक्षामा व्यक्तिगत गोपनीयताको मुद्दालाई विशेष ध्यान दिने बताएको छ । सूचना संकलन गर्ने र प्रयोग गर्ने तरिकामा अत्यधिक नियन्त्रण महसुस गरिएको बताए । 

अमेरिकाले आर्थिक फाइदा वा आफू शक्तिशाली भएको देखाउनलाई नभई सुरक्षाका लागि गरेको बुझिदिन उनले आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसबारे सबैलाई सुनिश्चित गराउन चाहेको कार्नीले बताए । अमेरिकाको माथिल्लो सदन 'सिनेट' का डेमोक्रेट सदस्य डेन फिन्स्टनले यस बारे संसदीय गुप्तचर मामिला समितिले मुलुकको जासुसी कार्यक्रमको उच्च स्तरमा समीक्षा गर्ने बताएकी छन् । उनी समितिकी प्रमुख हुन् । राष्ट्रिय सुरक्षा एजेन्सी (एएसए) द्वारा गरिएको सहयोगी मुलुकको नेताको फोन कल्सको अनुगमनको उनले विरोध गरेकी छन् । 

ह्वाइट हाउसले यसलाई बन्द गर्ने विश्वास दिलाएको उनले जानकारी दिएकी छन् । वरिष्ठ गुप्तचर अधिकारीहरूलाई यसबारे जवाफ दिन मंगलबार अबेर तल्लो संसद्मा उपस्थित गराइने सम्भावना छ । स्पष्ट जानकारी नहुँदा यसबारेमा अमेरिका राष्ट्रपति ओबामाथि पनि दबाब बढेको छ । उनी सहयोगीको नजरमा पनि विश्वासघाती नेताजस्तै देखिएका छन् । युरोपेली संसदीय समितिले पनि सोमबार युरोली नेता र नागरिकको टेलिफोन गुप्तचरीबारे अमेरिकी कंग्रेसका सदस्यसँग कुराकानी गरेका छन् । 

युरोपियन युनियनको नागरिकको यसखाले जासुसी चिन्ताको विषय भएको आफूहरूले बताउन चाहेको बेलायतका लेबर पार्टीका सदस्य क्लाड मोरेसले बैठकपछि बताए । अमेरिकी अधिकारीको जवाफबाट उनी र उनका मित्रहरू सन्तुष्ट नभएको उनले स्पष्ट गरे । उनीहरूको 'सधैं जासुसी हुने गरेको' जवाफ सुन्दासुन्दा कान पाकिसकेको उनले बताए । 

अमेरिकाले यसबारेमा अहिलेसम्म नीतिगत परिवर्तनबारे बोलेको छैन । तर, राष्ट्रपति ओबामाले अमेरिकी सञ्चारमाध्यमहरूसमक्ष गलत नियतले गुप्तचर गतिविधि सञ्चालन नभएको र यो पूर्णतः नियन्त्रित रहेको विश्वास दिलाएका छन् । एक वर्षका लागि अमेरिकामा शरण लिएर बसेका अमेरिकी गुप्तचर एडवार्ड स्नोडेनले यसबारे दस्तावेज सार्वजनिक गरेपछि यो मामिलाले विश्वव्यापी चर्चा पाएको छ । अमेरिकाले यी भगौडा स्नोडेनमाथि आपराधिक मामिला चलाउन कम्मर कसेको छ । एजेन्सी : 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com