काठमान्डू आश्विन १९,
भाषा शर्मा : मालिक्नीले चरीमायालाई भगवती दुर्गा माताको दर्शन गराउन लगिन्।
बाहिर निस्कन नसकेको आँसु लुकाउँदा उनको मन भिजेको थियो। खुलेको आकाश र न्यानो घामको स्पर्शले उनको अनुहारमा थोरै घाम झुल्कियो।
अरू साथीजस्तै मालिक्नीको पछिपछि लुरुलुरु हिँडिरहेकी थिइन्, चरीमाया।
भगवतीको प्रतिमाछेउ पुगेर मालिक्नी लगायत सबै आँखा चिम्लेर प्रार्थना गर्न थाले।
बाघमाथि चढेर हातमा त्रिशूल बोकेकी, कतै त्रिशूलले राक्षसलाई उनिरहेकी महाकालीरूपी भवानीको प्रतिमा देख्दा चरीमाया हेरेको हेर्यै भइन्। जब उनी त्यो प्रतिमा गढेर हेर्न थालिन्, एकाएक उनीभित्र करेन्ट लागेजस्तो भयो।
१६ वर्षकी अवला चरीमायालाई लाग्यो– 'म किन यस्तै काली हुन सकिनँ?'
दसैंमा बुबाआमाले शक्तिस्वरूपा देवीको पूजा गर्थे। त्यही शक्ति आफूमा उतार्दै प्रार्थना गरेको उनले सानैदेखि हेर्दै आएकी थिइन्। आँखा चिम्लिएर उनले पनि प्रार्थना गर्न थालिन्– 'मलाई पनि तिमीजस्तै बनाऊ देवी! बाघको वाहन देऊ। शक्तिशाली त्रिशूल देऊ। म पनि महाकाली बन्नेछु। मलाई बेच्ने दलाल दैत्यहरूलाई त्यही त्रिशूलले प्रहार गर्नेछु।'
'एई...' मालिक्नीले पाखुरामा समातेर तान्दा पो चरीमाया झसंग भइन्।
न उनीसँग त्यसबेला रणचण्डी कालीकै रूप थियो, न हातमा त्रिशूल नै।
उनी त थिइन्, आफूकहाँ आउने ग्राहकलाई महिला–अस्मिताको मोलतोल गरिदिने बम्बईकी 'मालिक्नी' सँग।
...
२०५१ सालको दसैं। बम्बईको कोठी।
घटस्थापनादेखि नै दसैंको चहलपहल सुरु भइसकेको थियो। मालिक्नीले रेडिमेड पिंक कलरको एक जोर कुर्ता सलवार उनका लागि ल्याइदिएकी थिइन्।
दुर्गामाताको पूजा गर्नेहरू गल्ली र चोकमा राखिएका मूर्तिअघिल्तिर लाम लागेका हुन्थे। जताततै गुञ्जिने मालश्री र भजन–कीर्तनले दसैं आगमनको संकेत गरिसकेको थियो।
दसैं त आयो तर मनमा नमिठो अनुभूति बोकेर। खै ती साथीसंगी अनि पिङ खेल्दाका दौंतरी! दसैंमा पिङ लगाएको, साथीहरूसँग दोहोरी गाएको सम्झनाले उनी कोठाको कुनामा बसेर भक्कानिन्थिन्। केही नयाँ परिकार त बन्थे। ग्राहकले उपहार दिन्थे। कतिले सुन पनि दिन्थे। तर त्यो 'नरक'को दसैंले चरीमायालाई खुसी दिएन।
यसरी नै उनको अर्को दसैं पनि आँसुमै बित्यो।
...
सिन्धुपाल्चोक हेबु्रङमा पनि धुमधाम दसैं मेला लाग्थ्यो। हेब्रुङ–३ मा जन्मेकी चरीमाया सानैदेखि दोहोरी खेल्न भनेपछि मरिहत्ते गर्थिन्। संगीसँगै मेला जान्थिन्। घुम्थिन्। रमाउँथिन्। १२/१३ वर्ष हुँदै उनी दोहोरी खेल्ने भइसकेकी थिइन्। दसैं बेला किशोर–किशोरीको समूह बन्थ्यो। गाउँमा प्रचलित लोक भाकामा दोहोरी सुरु हुन्थ्यो।
किशोरहरू सुरु गर्थे–
तिमी हामी जाऔं हिँड बम्बैमा
खाऔंला, पिऔंला बसौंला सम्मैमा।
चरीमाया आफ्नो समूहबाट जवाफ फर्काउँथिन्–
फस्ने छैन दलालको झडपमा
डुब्ने छैन म कहिल्यै नरकमा।
यस्तै शब्द उनेर दोहोरीमा रमाउने चरीमायाले दलालको फन्दामा परेर बम्बई पुगेको पत्तै पाइनन्।
...
२०५० चैत १४।
जंगलमा घाँस काटिरहेकी चरीमायाका अगाडि गाउँकै एकजना नाताले काका पर्ने देखा परे। हातमा एउटा पोको बोकेका थिए। केहीबेरमै आएका चारजना अपरिचित मान्छेले उनका पाखुरा समाते।
जंगलमा आएका नचिनेका मान्छे धुइरिएपछि उनी रोइन्। कराइन्। चिच्याइन्। उनको चित्कार पर भित्ताको छहारामा ठोक्किन्थ्यो, फेरि फर्किएर उनीतिरै आउँथ्यो।
जबर्जस्ती पोकाबाट केही झिकेर खुवाएपछि के भयो, उनलाई थाहा भएन।
होसमा आउँदा आफूले लगाएका लुगा थिएनन्। अनुहार आफ्नोजस्तै लागेन। ऐना हेरिन्– आफैंलाई ठम्याउन सकिनन्।
बाहिर निस्कन खोजिन्। ढोकाबाहिरबाटै बन्द गरिएको थियो। गोरखपुरको एक लजमा पुगेको त उनले पछि मात्रै थाहा पाइन्।
नचिनेका मान्छे आएर काश्मिर जाने टिकटबारे कुरा गरे। 'तिमीलाई राम्रो काममा लगाइदिन्छु। अब यतै काम गर्नुपर्छ' भन्दै फकाउन थाले।
त्यहाँ पुर्याउनेले काश्मिरको सल बुन्ने कारखानामा काम लगाउने बताएपछि उनी केही ढुक्क भइन्। तर चिनेको कोही नहुँदा उनको ओठ–मुख सुकेर आउँथ्यो।
गाउँकै एकजनाले भनेछन्, 'हामीले तिमीलाई जर्बजस्ती ल्यायौं। माफ गर। काम मन नपरे फर्कन सक्छौ।'
उनले केही खाइन्। त्यसपछि केही थाहा पाइनन्।
'रेलमा चढेको अलिअलि याद छ। फेरि केही सुँघाइदिए। ब्युँझँदा बम्बई पुर्याइसकेका रहेछन्,' उनले सम्भि्कइन्, 'एउटी महिलाको जिम्मा लगाएका थिए।'
बम्बई पुगेको दोस्रो दिनमात्रै उनले आफू 'बेचिएको' चाल पाइन्। केही दिनपछि नै मालिक्नीले ५० हजारमा बेचिएको सुनाएकी थिइन्। 'छोरी मान्छेलाई दलालले बम्बईमा बेच्न लान्छन्' भन्ने अलिअलि सुनेकी थिइन्, स्वयं भागिदार भइन्।
एउटी नारीका लागि आफ्नो अस्मिताभन्दा ठूलो के हुन्छ र! तर त्यही जोगाउन नसकिने ठाउँमा पुगेकी चरीमायाले अस्मिता लुटाउनुभन्दा आत्महत्याको बाटो रोजिन्। कोठाभित्रको भेन्टिलेसनमा सलको एक छेउ लगेर कसिन्। टुलमा चढेर अर्को छेउले घाँटीमा बाँधिन्। एकछिन सोचिन्। टुल धकेलेर पर हुत्याइन् ...।
उनले बाँधेको सल बलियो थियो भने चरीमायाको यो कहानी यसरी लेखिने थिएन। न त उनको शरीर मासु खान पल्किएका 'ब्वाँसा'हरूले नै चिथोर्न पाउने थिए!
'एकदमै छटपटी भयो। सास बन्द भयो। तर सुतीको सल मक्किसकेको रहेछ, एकैछिनमा चुँडियो,' उनले सुनाइन्, 'भुइँमा पछारिएपछि होसै भएन। बल्ल चेतना आयो– भगवानले आत्महत्या नगर् भनेको रहेछ।
बाँचेरै संघर्ष गर्छु भन्ने लाग्यो।'
भोलिपल्टदेखि उनको नियमित काम सुरु भयो– बिहानै सिँगारपटार गर्नु, ग्राहक कुरेर बस्नु र उनीहरूले जे भन्यो त्यही मान्नु। एक वयस्कलाई त उनले कुटेरै पठाइन्। लगत्तै मालिक्नी आएर फलामको रडले शरीरभरि नीलडाम हुनेगरी कुटेको सम्झँदा अहिले पनि उनको जीउ कट्कट्ती दुख्छ।
केही दिनपछि मुन्द्रा लगाएका, दाह्री पालेका केही युवाको जमात कोठभित्र छिर्यो। उनीहरू एकैचोटि धुरिए। बिचरी उनी के गर्न सक्थिन्। यौन पिपासुहरूको तानातानबाट रक्ताम्मे बनिन्। काम तमाम गरेपछि 'लड्की तो मर्ने लगी' भन्दै उनीहरू बाहिरिए।
उनको अर्धचेत अवस्था देखेर मालिक्नीले तुरुन्त उपचार गराइन्। त्यो घटना सम्झँदा चरीमायाको आँत अहिले पनि सुकेर आउँछ। लामो सास तान्दै उनी १८ वर्षअघिको कहानी सुनाउँछिन्, 'त्यसपछिका दिन पनि त्योभन्दा दर्दनाक थिएनन्। भागेर कसरी उम्कने भनेर हरेक बिहान सोचिरहन्थेँ।'
कहिलेकाहीँ कोठीमा प्रहरीले छापा मार्थे। उनीहरू आउनुअगावै उनलाई लुक्न लगाइन्थ्यो।
...
२०५२ माघ २२।
चरीमाया खाना खाँदै थिइन्। एकाएक प्रहरीको हुल भित्रियो। झन्डै पाँच सय महिला भेडाबाख्राझैं बाहिर निस्किए। 'तीमध्येे दुई सय त नेपाली चेली नै थिए,' उनले सुनाइन्, 'कसैका खुट्टामा चप्पल थिएनन्, कोही अर्धनग्न अवस्थामै थिए।'
उद्धार गरिएका चेलीलाई तत्कालीन सरकारले नेपालले लिन नमानेका कारण मुम्बईको एक गैरसरकारी संस्थामा राखियो। छ महिनापछि मात्रै नवज्योति संस्थाको पहलमा चरीमायासहित अन्य महिला नेपाल फर्किए।
उनीहरूका लागि लजको व्यवस्था गरियो। लज भन्नेबित्तिकै उनका लागि भयानक तस्बिर अगाडि उभिएझैं लाग्न थाल्यो। जीवनमा पहिलोचोटि उनी लजमा बसेकी थिइन्, गोरखपुरको कुनै लजमा; घाँस काट्न गएकी चरीमायालाई बेहोस बनाएर पुर्याइएको लज।
.
..
नेपाल फर्किएपछि केही दिनमा उद्धार गरिएका महिला धेरै घर फर्किए। चरीमायाले भने भिन्नै सोच बनाइन्। गाउँ फर्कनुभन्दा आफूजस्तै बोचिएका चेलीका लागि केही गर्ने आँट पलायो। बेचिएर फर्केका महिलाहरू जुटे र निर्माण गरे– 'शक्ति समूह'।
कैयौं महिलाको उद्धार गरिसकेको यही समूहले सन् २०१३ को म्यागासेसे पुरस्कार पनि हात पार्यो।
चरीमायाले दुइटा दसैं बम्बईमै बिताइन्। अहिले पनि दसैं आउँदा मनको कुनामा त्यही कोठीको घाउ चस्स दुखेर आउँछ। शक्ति समूहकी हर्ताकर्ता चरीमाया अब त्यो बेलाकी चरीमाया रहिनन्।
उनीसँग शक्ति समूह छ र छन् लाखौं सहयोगी हातहरू।
भगवती दुर्गा माताकै जस्तो।
बम्बइया कोठीको 'नारकीय जीवन' बिताउँदा उनले कुनै बेला दुर्गा माताको प्रतिमा हेरेर सोचेकी थिइन्, 'मलाई पनि तिमीजस्तै बनाऊ देवी! बाघको वाहन देऊ। शक्तिशाली त्रिशूल देऊ। म पनि महाकाली बन्नेछु। मलाई बेच्ने दलाल दैत्यहरूलाई त्यही त्रिशूलले प्रहार गर्नेछु।'
अहिले उनीसँग शक्ति समूहरूपी बाघको वाहन छ। शक्तिशाली त्रिशूल पनि छ। उनको शक्ति समूह महाकालीकै रूप हो, जसले दलाल दैत्यहरूलाई त्रिशूल प्रहार गर्ने अभियान चलाइरहेको छ।
र, आफूजस्तै चेलीको उद्धार निम्ति सहयोगी हात बढाइरहेको छ।(नागरिकबाट)