भैरहवा, कार्तिक ८ ,
तिहारको तयारीलेे सिक्टहन ८ को जयपुर गाउँमा रौनक छाएको छ । अधिकांशको खेतमा झुकेको धानको बालाले किसानको मन प्रफुल्ल बनाएको छ । तर गाँउका ४ परिवार भने गाउँलेले बहिष्कार गरेपछि चिन्तामा छन ।
बिहीबार गाउँमा बसेको बैठकले परिवारलाई सामाजिक बहिष्कार गर्ने घोषणा गर्यो ।
'हामी आजदेखि गाउँसमाजबाट बहिष्कृत छौं,' बहिष्कारमा परेकामध्ये स्थानीय त्रिलोकी थारूले रुँदै भने, 'अबदेखि बहिष्कारमा परेका हाम्रो घरमा मर्दापर्दा र दुःखसुखमा कसैले साथ नदिने अरे ।'
परिवारका कुनै सदस्यले अन्य कसैको खेतबारीमा दिसापिसाव गरेमा १० हजार जरिवाना तिराइने निर्णय भएको उनले सुनाए ।
स्थानीय बेलबहादुर चौधरीको घरमा बिहीबार बसेको बैठकले स्थानीय यमकुमारी थारू, खुशीलाल थारू, त्रिलोकी था र सुदामा अहिरको परिवारलाई समाजबाट बहिष्कारको घोषणा गरेको हो । बहिष्कार गरिएपछि चिन्ताले उनीहरूको घरमा बिहानदेखि चुलो बलेको छैन । केही घरमा रित्तै छन् । बैठकमा सामाजिक बहिष्कार गर्ने भनेर रजिष्टरमा सबै परिवारको हस्ताक्षरसमेत गराइएको पीडितले बताएका छन् ।
परिवारलाई गाउँसमाजबाट बहिष्कार गरिनुको कारण छैन । विपन्न परिवारले गाउँको कुनै घरपरिवारलाई पिरेका छैनन् । अन्याय गरेको पाइँदैन ।
बोक्सीको आरोपमा गाउँका व्यक्तिबाट आफूमाथि गरिएको दुव्र्यवहार, यातना र अपमानजनक व्यवहार गरिएपछि पीडकमाथि कारबाहीको माग गर्दै प्रहरीको शरणमा पुगेको परिवारमाथि न्याय र मानवता देखाउनुपर्नेमा उल्टै सिङ्गो गाउँ विरोधमा उत्रेको छ ।
घटना गत नवमीको दिनको हो । गाउँमा दुर्गा मूर्ति स्थापना गरी दिउँसो सबै जम्मा भएर माइकमा भजन बजाउँदै नाचगान भइरहेको थियो । स्थानीय २२ वषर्ीया रेणु र २० की निर्मला थारू दुर्गा माता उत्रेको भन्दै बेहोसी शैलीमा नाच्दै बोक्सी बकाउन थाले ।
दुई युवतीले ४ घरका ४ महिलामाथि बोक्सी भएकोे आरोप लगाए ।
बोक्सीको आरोप लगाइएपछि रेणु र निर्मलालाई साथ दिँदै स्थानीय गुञ्जा थारू नामकी महिला, बालकेश चौधरी, आशिष चौधरी र अशोक चौधरीले लछारपछार गर्दै घरबाट तानेर नाचगान भइरहेको स्थलमा पुर्याएको जनाए । स्थानीय ६२ वषर्ीया वृद्धा यमकुमारी थारू, ६४ वषर्ीया फूलमति अहिर, ४१ वषर्ीया धनकुमारी थारू र ३६ वषर्ीया पार्वती थारूलाई बोक्सी भन्दै मूर्ति अगाडि स्थानीयको भीडले लछारपछार गर्दै दुव्र्यवहार गरेको थियो । लछारपछार पार्दै शरीरको बस्त्र फुकालेर बोक्सी भएको स्विकार्न दबाब दिँदै थुक चाट्न लगाइएको लिखित जाहेरी पीडितले दिएका छन् ।
'हामी धेरै रोयौं, सहयोगका लागि करायौं, कसैले पनि सुनेन,' पीडित यमकुमारीले भनिन्, 'हामीलाई लछारपछार गर्दा गाउँलेले थपडी बजाएर तमासा हेरे ।' उनले पीडित महिलालाई घर घरबाट तानेर लगिएको र देवी उत्रेको बताउने युवतीले साडी निकालेर पेटीकोटको भरमा नचाउँदै भुइँमा पछारेको बताइन् ।
पीडित महिलाका आफन्तले उनीहरूमाथि गरिएको दुव्र्यवहारको मोबाइलमा खिचेको भिडियो प्रहरीलाई उपलब्ध गराएका छन् ।
रुपन्देहीका डीएसपी दिपक न्यौपानेले पीडितको जाहेरीका आधारमा रेणु, निर्मला, गुञ्जा, आशिष र अशोकलाई पक्राउ गरी बुधबार मुद्दा दर्ता गरिएको जनाए ।
'पीडित परिवारविरुद्ध पूरै गाउँ एकातिर लागेको पाइएको छ,' उनले भने, 'प्रहरी संवेदनशील छ र यस प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक कानुनी कारबाही जारी राख्ने छ ।'
प्रहरी नियन्त्रणमा रहेकी आरोपी रेणु र निर्मलाले दुर्गामाताको पूजा र भजन गर्ने बेलामा एक्कासि बेहोसी भएको र त्यस बेलाको कुनै पनि घटनाका बारेमा याद नभएको बताए । घटनापश्चात् माफी मागेका उनीहरूले बताए । उनीहरूमध्ये, रेणु कक्षा १२ की छात्रा हुन् ।
पीडित महिलामाथि २ साताअघि पनि बोक्सी आरोप लगाइएको थियो । पीडितका अनुसार त्यस बेला गाउँमा भेला बसेर आउँदा दिनमा बोक्सी नभन्ने निर्णय भएको थियो । साभार -कान्तिपुर :