मैले नोबेल पुरस्कार पाउने त्यो पर्याप्त कार्य गरेको छैन-मालाला I

मिंगोरा आश्विन २५,

नोबेल शान्ति पुरस्कारका लागि मनोनित अधिकारवादी नवयुवा कार्यकर्ता मलाला युसफजाईले आफूले उक्त पुरस्कार प्राप्त गर्न पर्याप्त काम नगरेको बताएकी छन् । उनको विद्यालयमा बुधबार उनीमाथि तालिवानले गोली हानेको एक वर्षपछि बिदा दिइएको छ । गत वर्ष ९ अक्टोबरमा पाकिस्तानी तालिवानले १६ वर्षीया यी किशोरीमाथि उनीहरूविरुद्ध बोलेको भनी गोली हानेका थिए । यसपछि उनी बालिकाको विद्यालय जाने अधिकारका लागि अन्तर्राष्ट्रिय दूत बनिन् । 

उनलाई विश्वका नेताले प्रशंसा गरेका छन् र उनको साहसका लागि सम्मान गरिएको छ । उनले संयुक्त राष्ट्रसंघलाई पनि सम्बोधन गरिसकेकी छन् । यस साता उनको आत्मकथा प्रकाशन भएको छ र शुक्रबार उनको नोबेल पुरस्कारको निर्णय हुनेछ । पाकिस्तानको सीटीएटीनाइन एफएमलाई दिएको अन्तर्वार्तामा मलालाले शिक्षा प्रवर्द्धन गर्न बढी काम गर्न चाहेको बताउँदै आफूले नोबेल पुरस्कार प्राप्त गर्ने गरी काम नगरेको बताइन् । 'नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुपर्ने निकै व्यक्ति छन् र म आफूले अझै काम गर्नुपर्ने ठान्छु । मेरो विचारमा मैले नोबेल पुरस्कार प्राप्त गर्नका लागि धेरै गरेकी छैन,' उनले भनिन् । 

पाकिस्तानको उत्तर-पश्चिमी भागमा पर्ने परम्परावादी स्वात्त उपत्यकामा महिला घरैमा बसी खाना पकाउने र बालबालिका हुर्काउने काममा सीमित होऊन् भनी अपेक्षा गरिन्छ र त्यहाँका करिब आधा बालिका मात्र विद्यालय जान्छन् । आक्रमणपछि मलालालाई उपचारका लागि बेलायत लगिएको थियो । उनी हाल लन्डनको मध्यभागस्थित बर्मिङ्घमको एक विद्यालयमा अध्ययनरत छिन् । 

यसअघि उनले पढेको स्वात्तको खुसल पब्लिक स्कुलका एक शिक्षकले मलालामाथि आक्रमण भएको एक वर्षपछि उनीप्रति प्रतिबद्धता जनाउन विद्यालयका सबै शाखा बन्द गरिएको बताए । मलालाले बीबीसीको उर्दू सेवामा सन् २००७ मा तालिवानले स्वात्तमा नियन्त्रण जनाएपछि त्यहाँका बासिन्दाले भोगेको कठिनाइबारे ब्लग लेख्न थालेका कारण उनी चर्चामा आएकी हुन् । सन् २००९ मा सेनाले तालिवानलाई त्यहाँबाट हटाएको थियो । एएफपी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com