'' समय मसंगै हिंड्छ''
यो ऐजेरु समयको नलीहाड खिपेर
बाँसुरी-धून जिन्दगी
युग उराल्न चाहन्छु म
र,करङ्हरु भट्याएर
सिनित्त छाउन चाहन्छु आस्थाको छाना ।
जब कि,
निचारे रगत
मानवताको रङ्ग पोत्नु छ क्यानभास पृथ्वीमा
र, मेरुदण्ड-प्रेम
अनन्त आधार स्थापित गर्नु छ ।
गिडेर औंलाहरु
लेख्नु छ एउटा मान्छेको बर्बर इितहास
र, आँखाहरु चिरेर
भर्नु छ टम्म गोहीको आँशु ।
काढेर छाला,
विश्वासका भित्ताहरु फेर्नु छ
र, मनदेखी मनसम्मको नयाँ कित्ता जोड्नु छ ।
ओठ-जिब्रो थुतेर
सही-सत्यको स्वाद बकाउनु छ
र, झीरले छेडेर कान
िजन्दगीकाे रुमानी-धून श्रवण गराउनु छ ।
चुंडेर मुटु
धैर्यताको ढुकढुकी मापन गर्नु छ
र, गिदी भुटेर
चेतनाले हिर्काउनु छ टाउको बेस्सरी
र, ब्युँझाउँनु छ युगौं देखि सुतेको निष्कृय मान्छे ।
बस्...
निरिह समय
कैदी समय
जित युग हिड्नु छ
अब मसंगै हिड्ने छ लुरुलुरु....।
'' राई रुमानी ''