मुम्बई भाद्र ३१,
रजिनीकान्त द्वारा अभिनित बहुप्रतीक्षित फिल्म 'कोचदैयाँ' उनकै ६३ औं जन्मदिन अर्थात् आगामी डिसेम्बर १२ मा रिलिज हुने भएको छ। बिरामी परेपछि रजिनीकान्तको लगभग तीन वर्षपछि फिल्म आउन लागेको हो। डेढ वर्षदेखि नै यस फिल्मको झुठो रिलिज डेट पटकपटक सार्वजनिक भइरहेको थियो। तर अहिले फिल्मका सहनिर्माता मुरली मनोहरले औपचारिक रिलिज डेट पुष्टि गरेका छन्।
'हामी डिसेम्बर १२ कै दिन फिल्म रिलिज गर्ने तयारीमा छौं, हामीले धेरै संघर्ष गर्नुपर्यो, तर विश्वस्त छौं रजिनीजीका फ्यानहरुले ३० वर्षपछि पूरा सन्तुष्टि पाउनेछन्,' उनले भने।
एआर रहमानले कम्पोज गरेको यस फिल्मका गीतहरु चाहिँ अक्टोबरमा रिलिज हुने बताइएको छ। फिल्म हिन्दी, तामिल, तेलुगु र जापानी भाषामा पनि रिलिज हुनेछ।
यो फिल्मसँगै अभिनेत्री दीपिका पादुकोणको सन् २०१३ भित्रै तीनवटा फिल्म हिट हुने सम्भावना देखिएको छ। उनका दुई फिल्म 'ये जवानी है दिवानी' र 'चेन्नई एक्सप्रेस' सुपरहिट भइसकेको छ। दीपिकाको 'रामलीला' पनि यही वर्ष रिलिज हुँदैछ। फिल्म 'कोचदैयाँ'को निर्देशन रजिनीकी छोरी सौन्दर्याले गरेकी हुन्। यसको रिलिजको एक हप्तापछि 'धूम ३' रिलिज हुनेछ। एजेन्सी :