नयाँदिल्ली आश्विन १,
भारतको गुजरात राज्यका मुख्यमन्त्री नरेन्द्र मोदीको सुरक्षालाई कडा पारिएको छ । भारतीय जनता पार्टी (भाजपा) ले प्रधानमन्त्री पदको प्रत्यासी रूपमा उनलाई छानेपछि नेसनल सिक्योरिटी गार्ड (एनसीजी) ले सुरक्षा प्रबन्धमा विशेष ध्यान दिएको छ । उनी भारतको लगभग सबै ठूला आतंकवादी संगठनको हिट-लिस्टमा छन् ।
मोदीको क्लोज रेन्ज सुरक्षामा १ सय ८ जना एनसीजी सुरक्षाकर्मी तैनाथ रहने छन् । यो टुकडीले नै गुजरातबाहिर यात्रामा जाँदा मोदी चढ्ने सवारीको जाँच गर्छ । उनी अब सबभन्दा बढी सुरक्षा पाउने व्यक्तित्वमा परेका छन् । उनीसँग जेड प्लस सुरक्षा पाएका भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी, बहुजन समाज पार्टीकी मायावती, तमिलनाडुकी मुख्यमन्त्री जयललिता, छत्तीसगढकी मुख्यमन्त्री रमण सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवभन्दा बढी सुरक्षाकर्मी छन् ।
सम्भाव्य खतराअनुरूप अति विशिष्ट व्यक्तिसँग रहने सुरक्षाकर्मीको संख्या निर्धारण हुन्छ । उनको अकासिँदै गरेको प्रोफाइल सुरक्षा एजेन्सीका लागि चिन्ताको विषय बनेको छ । आफ्नो राज्यभन्दा बाहिर मुलुकभरि उनको गतिविधि बढेको छ । एसएनजी सबभन्दा असुरक्षित भीआईपी मोदीको सुरक्षा बढाउन नयाँ योजनामा काम गरिरहेको छ । गत जुनमा उनलाई भाजपाको निर्वाचन प्रचार समितिको अध्यक्ष बनाइँदा पनि सुरक्षा बढाइएको थियो । गृह मन्त्रालयको स्वीकृतिमा मोदीको आन्तरिक सुरक्षा घेरा हेर्ने सुरक्षाकर्मीको संख्या वृद्धि गरेर १८ बाट ३६ गरिएको थियो । एजेन्सी :