आज अनपेक्षितरूपमा हजारौं नेपाली चेलिबेटीहरूको उद्धारकर्ता अनुराधा कोइरालाको फोन आयो। उनले मेरो 'खान पुगोस्, दिन पुगोस्' पुस्तक पढिरहेको बताउंदा मन खुशि त हुने नै भयो तर फोन सम्बादको शिलशिलामा उनले दुईवटा चिन्ता पनि व्यक्त गरिन्, जसले सार्है मन छोयो:
चिन्ता नम्बर एक: तपाईंलाई थाहा छ कि छैन, दार्जलिंगतिर टोल-टोलमा 'समाज' गठन गरिएको हुन्छ। हरेक हप्ता टोलबासीले त्यहां विविध खाद्यान्न र दश रूपैयां जम्मा गर्नुपर्छ। अनि टोलमा मर्दा-पर्दा त्यही खाद्यान्न र पैसा प्रयोग गरिन्छ। हामीले त्यस्तो संस्कारको विकासै गर्न सकेनौं।
चिन्ता नम्बर दुई: तीजमा यहां धेरै भोजभतेर गरिन्छ, खानपिनमा हजारौं रूपैयां सकिन्छ। मैले भजन गाएर कलेज पढीरहेका केही दृष्टीबिहीन युवतिहरू भेटें। उनीहरुका लागि तीजमा मकहां भेला हुने हरेक महिलाबाट रू २/२ सय रूपैयां उठाउने बिचार गरेको छु। त्यसो गर्दा ती दृष्टीविहीन युवतिहरुलाई तीजको नाममा रू ५/५ हजार उपहार दिन पुग्ने रहेछ। मैले ती युवतिहरूलाई ५ हजारले तपाई के गर्नुहुन्छ भनेर सोध्दा, उनीहरुले भने, "त्यो हामीलाई बर्षभरीको कलेज फी तिर्न पुग्छ।" उनीहरूले त्यसो भन्दा मेरो मन भक्कानियो। आखिर शहरहरुमा तीज मनाउने अधिकांश महिलाहरु २ सय रूपैयां असाहाय महिलाहरूका लागि छुट्टाउन नसक्ने छैनन् नि। तर हामीले त्यसो गर्ने संस्कारको विकास नै गर्न सकेनौं।
उनको कुरामा म हो मा हो मिलाउंदै गएं। मैले भनें, "हामी हेल्प नेपाल नेटवर्कमा पनि भोजभतेर नगरौं, रमाइलो नगरौं भनेर भन्दैनौं। तर त्यसो गरिरहंदा केही पनि नुहुनेहरुलाई संझिउं र उनीहरुका लागि मासिक या बार्षिकरूपमा केही छुट्याउं" भन्छौं, जसलाई हामीले 'ब्यबहारीक परोपकार' भन्ने गरेका छौं।
छिटै भेट्ने योजना गर्दै हाम्रो फोन संवाद टुंगियो। अनुराधाजीको प्रेरणा हामी सबैलाई मिलिरहोस् ! साभार-रबिन्द्र मिश्र !