तीजको दर र आधुनिकता I


नेपाली समाजमा आजभोलि समयको माग र आधुनिकताको बाहाना पारी हरेक कुराहरुलाई अति नै जोड्ने गरिन्छ । हरेक कुराहरुमा भित्रयाइयको आधुनिकताले हामीलाई फाइदा पुर्याउला वा नोक्सान पुर्याउला त्यो त भबिश्यले नै बताउने छ । प्रशंग जोड्छु तीजको दर सँगइ भनिने आधुनिकताको । हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज पौराणिक मान्यताका आधारमा महिलाहरुको लागी जती महत्वपुर्ण छ समस्त हिन्दूहरुको लागी त्यती नै महत्वपुर्ण चाड दशै र तिहार पनि छन । 

दशै र तिहारमा हिन्दू मान्यता अनुसार नै दशै र तिहार कै दिन टिका लगाइ मान्यजन बाट आशिर्वाद लिने गरिन्छ । सो परम्परा हिजो पनि थियो र आजको आधुनिक जमानामा पनि त्यसरी नै कायम रहिरहेको छ । तर तीजको दर भने महिनौ अघी देखी खाने र खुवाउने यो नया प्रचलन बिशेष गरी नेपालका शहरी क्षेत्रमा पछिल्ला बर्षहरुमा आधुनिकताको नाममा भित्री सकेको छ । हाम्रो संस्कारमा त तीजको अधिल्लो दिन सबै दिदीबहिनीहरु जम्मा भइ आत्मिय भावना साटासाट गरी मिठो मसिनो जे छ त्यसैलाई श्रद्दा पुर्वक खाने खानालाई दर भनिन्छ ।

हामी कहाँ परिवर्तन भयको तीज मनाउने शैली र मेरो मानस पट्ल भरी घुमिरहेको बिदेशी हरुले मनायको चाड पर्वको याद त्यतिकै ताजा छ जुन यहाँ राख्न उचित लाग्यो । झन्डै ६, ७ बर्ष बिदेशी संस्कारमा रही त्यहाँका चाड पर्व मनाउने शैली राम्रो सँग जान्ने मौका मिल्यो ।आधुनिकता सँगइ समयको माग बिदेशी समाजमा पक्कै पनि भित्रियको छ तर उनिहरुको रहन सहन र चाड पर्व मनाउने तरिका हरेक बर्ष यौटै छ र हरेक बर्गमा समान छ । उनिहरुमा पनि पनि हाम्रो समाजका जस्तै हुने खाने छ्न । फरक यत्ती हो कि उनिहरुमा कोही सानो र कोही ठुलो भन्ने मानसिकता नै छैन । बाच्नको लागी काम गर्नु ठुलो कुरा हो चाहे काम जे सुकै किन नहोस । प्रत्यक मानिस र उसले गर्ने काम लाई सम्मानित रुपले हेरिन्छ जसले गर्दा आपसमा मानिस मानिस बिच सानो र ठुलो को कुनै मतलव नै हुँदैन । चाड पर्व आफ्नो खुशी को लागी मनाउछ्न अरुलाई देखाउन को लागी होईन ।

हामीहरु जती शिक्षित छौ त्यती नै हाम्रो वास्तबिकता के हो भन्ने कुरा पनि बुझ्नु जरुरी छ । सबै नेपालीहरुले यकै किसिमको जीवन स्तर यापन गरीरहेका छैनन । हामी कहाँ हुने खाने र हुँदा खाने २ बर्ग छ । यी २ बर्ग बिचको काहाली लाग्दो ठुलो खाडल पनि सँगसँगइ कायम छ । हुने खाने हु भन्दैमा मौलिक संस्कार लाई नै लात हान्दै आधुनिकताको नाम पारी समाजमा भड्किलो पारा को प्रवेश गराउनु आफैमा शिस्ट्ता र सभ्यताको परिचय होईन । तीजको दर पनि हुने खाने बर्गले महिनै अघी देखी खान शुरु गरेको कारण कतै खिल्ली उडेको त छैन , यक पट्क सोच्ने हो कि ?

प्रिय दिदीबहिनीहरु, आफु रहे मात्र आफ्नो परिचय रहन्छ ।समयको माग सँगइ हामी हिड्नु पर्छ तर हाम्रा संस्कारहरुलाई निमोठेर होइन परिमार्जन गरेर जाउ । आफु कुन स्थानमा रहने हो त्यो स्थान आफैले बनाउनु पर्छ होईन भने आफ्नो पहिचान पहिल्याउन सकिदैन ।

सबैमा तीजको शुभकामना !!
 लक्ष्मी ज्ञवाली 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com