'फास्ट एन्ड फ्युरियस' को सातौं शृंखलामा दीपिका I

मुम्बई भाद्र २१,

बलिउड अभिनेत्री दीपिका पादुकोण हलिउडको फिल्म खेल्ने पछिल्लो भारतीय हुने भएकी छन्। एक्सन फिल्म 'फास्ट एन्ड फ्युरियस'को सातौं शृंखलामा दीपिकाको अभिनय समेटिन लागेको हो। 

फिल्ममा हलिउडका भिन डिसेल, ड्वानी जोनसन र जेसन स्टाथमको पनि भूमिका रहनेछ। अर्को वर्ष रिलिज हुने शृंखलामा दीपिकाले विशेष भूमिका पाएकी छन्। दीपिका र उनका प्रवक्ता दुवैलाई फिल्मको भूमिकाबारे बताउन अनुमति दिइएको छैन।

फिल्ममा खेल्नका लागि दीपिकासहित बलिउडका कंगना रनावत र चित्रांगदा सिंहले पनि अडिसन दिएका थिए। तर, निर्माण टोलीले दीपिकालाई नै उपयुक्त ठानेका हुन्। दीपिका अहिले अभिनेता शाहरुख खानसँग दुबईमा बलिउड फिल्म 'ह्यापी न्यु इयर'को सुटिङमा व्यस्त छिन्। २७ वर्षीया दीपिका र फिल्म टोलीबीचको कागजी प्रक्रिया पूरा हुन चाहिँ बढीमा ६ महिना लाग्ने बताइएको छ। 

मलेसियाली मूलका अस्ट्रेलियाली निर्देशक जेम्स वानले निर्देशन गर्ने यस फिल्ममा थाइल्यान्डका 'ओङ बाक' स्टार टोनी ज्या पनि रहनेछन्। जेम्सले यसअघि 'स', 'द कन्जरिङ' जस्ता हरर फिल्म निर्देशन गरेका थिए। कर्ट रसेल पनि 'फास्ट एन्ड फ्युरियस ७'मा देखिने सम्भावना छ।

यो फिल्मको तेस्रोदेखि छैटौं शृंखलासम्म ताइवानी मूलका अमेरिकी जस्टिन लिनले निर्देशन गरेका थिए। यसपालिको पटकथा पनि तेस्रो शृंखलादेखिकै क्रिश मोर्ग्यानले लेख्नेछन्। फिल्मको रिलिज २०१४ को जुलाईमा गर्ने लक्ष्य निर्माण टोलीको छ। फिल्मका एक अभिनेता तथा निर्माता भिन डिसेलका अनुसार यसको नवौं भागसम्म निर्माण हुनेछ। एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com