काठमाण्डौ भाद्र २८,
मान्छे जति आधुनिक भए पनि उनीहरू जन्मजात लिएर आएको संस्कार, संस्कृतिलाई चटक्कै छोड्न सक्दैनन्। नेपालमा बाहुन, क्षेत्री समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ। तीजलाई महिलाहरूको रमाइलो पर्वका रूपमा लिइने भएकाले टिनएजरहरू पनि यसमा निकै रमाउँछन्। वर्ष दिनको कामबाट केही समय फुर्सद लिएर परिवार एवं साथीभाइसँग जमघट गर्नु, घुमघाम, नाचगान यो पर्वको अर्को विशेषता बन्दैछ।
यो पर्वमा नेपाली सेलिब्रेटीहरूसमेत मनैदेखि मनाउन थालेको देखिन्छ। गायिका मल्लिका कार्की तीज आउनासाथ आफ्नो बाल्यकाल सम्झन्छिन्। आमा, छिमेकीहरू मिलेर एक-अर्काको घरमा दर खाने, नाच्ने र तीजको दिन व्रत बसेर भगवान् शिवको पूजा गर्छन्। उनी त्यही भक्तिभावबाट प्रभावित भएर तीजको व्रत बस्न थालेकी हुन्। गत केही वर्षदेखि मल्लिका तीज आउनु महिनौं दिनअघिदेखि देश-विदेशमा हुने सांगीतिक तीजका कार्यक्रममा व्यस्त हुन्छिन्। तीज महिलाहरूको उत्सव हो भने कलाकारहरूका लागि कमाउने पर्व पनि बन्न थालेकोमा कार्की तीजप्रति आभार पनि व्यक्त गर्छिन्।
गायिका शोभा त्रिपाठी तीजको नामैले रातो रंगले सजिने दिनको सम्झना हुन्छ। शोभा तीजलाई महिलाहरूको सुख-दुःख व्यक्त गर्ने पर्वका रूपमा लिन्छिन्। हरेक महिला घरपरिवारमै व्यस्त रहने हुँदा यो चाडको बहानामा भए पनि बाहिर कतै गएर खाने, नाच्ने, गाउने र भेट्ने मौका जुट्ने उनको अनुभव छ। शोभा तीजको व्रत बस्न रुचाउँछिन्। तीजमा रातो रंगमा सजिएर मन्दिर जाँदा भित्रबाटै आस्था र विश्वास उत्पन्न हुने उनी बताउँछिन्।
गायिका मञ्जुलाई पौडेल तीज रमाइलो लाग्छ। अहिले युवापुस्ताले आफ्ना चाड, पर्व एवं संस्कृतिलाई बिर्सदै गएको परिप्रेक्ष्यमा तीजको आधुनिकीकरणको कारणले भए पनि हरेक उमेरका महिला तीजमा रमाउनुलाई उनी सकारात्मक रूपमा लिन्छिन्। तीजलाई उनी भेटघाटको सुखद अवसर र भगवान्लाई हृदयदेखि पुकार्ने एउटा शुभ दिनका रूपमा लिन्छिन्। कतिपय महिला शरीरले नधान्दा-नधान्दै व्रत बसेको उनलाई मन पर्दैन। मञ्जु भन्छिन्, 'कुन धर्ममा, शास्त्रमा भगवान्लाई खुसी पार्न पानी खानु हुँदैन भनेको छ ? यस्ता कुरीति हटाउनैपर्छ। म तीजको दिनमा रातै पहिरनमा हुन्छु र भगवान् शिवको पूजा गर्छु। भ्याएसम्म पशुपति नै जान्छु। दर तथा तीज कार्यक्रमहरूमा तीजको ३ हप्तादेखि म व्यस्त रहन्छु। तीज वर्ष दिनमा केही समय आफन्तहरूसँग नजिकिएर रमाउने एउटा पर्व पनि हो।' गायिका रमिला न्यौपाने तीजको बेला कार्यक्रमहरूमै व्यस्त हुन्छिन्। उनी अहिले तीजमा बाल्यकालमा रहरले बसेका व्रतका क्षणहरू सम्झन्छिन्। रमिला ७ वर्षको उमेरदेखि तीजको व्रत बस्न थालेकी हुन्। रहरैरहरले व्रत बस्न थालेकी रमिला पछि असल श्रीमान् पाउने विश्वासमा व्रत बस्न थालिन्। रमिला तीजलाई नेपाली नारीको विशेष पर्वका रूपमा लिन्छिन्।
मिस नेपाल सुगारिका केसी न्यौपानेको यो तीज विवाहपछिको पहिलो तीज हो तर प्रेगनेन्ट भएका कारण उनले संस्कार र स्वास्थ्यका हिसाबले पनि व्रत लिनु हुँदैन। सानैदेखि तीज र अरु व्रत पनि लिन अघि सर्ने सुगारिका विवाहको पहिलो वर्षमै तीजको व्रत लिन नपाउँदा केही दुःखी छिन्। व्रतले स्वास्थ्य र संस्कारलाई बढावा दिए पनि तीजका नाममा नचाहिँदो तडकभडक बढेको चाहिँ उनलाई पटक्कै मन पर्दैन। सुगारिका पानी नै खानु हुँदैन भन्ने मान्यताको पनि विरोधी हुन्।
नायिका करिश्मा मानन्धरलाई तीज रमाइलो लाग्छ तर केही वर्षदेखि तीजका नाममा भैरहेको तडकभडक उनलाई राम्रो लाग्दैन। हुनेका लागि तीज दसैं र नहुनेका लागि तीज दशा हुनु हुँदैन। करिश्मा भन्छिन्-'अहिले नेपालमा तीज यही रूपमा अघि बढिरहेकोमा म दुःखी छु।' भिजे सन्ध्या केसी तीजका रमाइला कार्यक्रमहरूमा व्यस्त हुन्छिन्। उनलाई तीजका गीत निकै मन पर्छन्। साथीभाइकहाँ गएर दर खाँदा र ख्वाउँदा पनि रमाइलो लाग्छ। उनी तीजका लागि छुट्टै पहिरन बनाउँछिन् र व्रतको दिन पूजापाठ गर्छिन्, नाच्छिन्। तीजलाई हरेक महिलाले आफ्नो पर्वका रूपमा भव्य रूपमा मनाउनुपर्छ भन्ने उनको धारणा छ। नारी: