काठमान्डौ भाद्र २४,
जिवन पराजुली : वैदेशिक रोजगारीका क्रममा झण्डै दुई बर्ष अघि साउदी अरबमा निधन भएका स्व.हरिराम थापा मगरको परिवारलाई श्री सत्य साई सेन्टर इजरायलले आर्थीक सहयोग गरेको छ। मंगलवार चलचित्र निर्माता कम्पनी नेचुरल मुवी मेकर्सको आयोजनामा भएको एक कार्यक्रममा तीन लाख पैँसठ्ठी हजारको चेक थापामगरको धादिङ निवासी परिवारलाई प्रदान गरिएको हो।
आर्थीक रुपमा न्यून सो परिवारको दैनिक जिवनलाई सहज बनाउने उद्देश्यले सो सहयोग प्रदान गरिएको आयोजकले बताएको छ कार्यक्रममा प्रमूख अतिथी साथै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव तथा बरिष्ठ चलचित्रकर्मी युवराज लामा, कार्यक्रमका बिशिष्ठ अतिथी तथा बरिष्ठ चलचित्र निर्देशक नारायण पुरी, कार्यक्रममा अतिथी तथा चलचित्र पत्रकार संघका महा-सचिव लक्ष्मण सुवेदी र चलचित्र निर्माता प्रकाश थापाको हातबाट सत्य साई सेन्टरका उपाध्यक्ष सुर्य सिंखडाका पिता राम प्रसाद सिंखडा, माता सिता सिंखडा र काका कृष्ण प्रसाद सिंखडाको बिशेष उपस्थितीमा सहयोग प्रदान गरिएको थियो।
सहयोग लिनको लागि स्व.थापामगरका पिता जगत बहादुर थापा, श्रीमती ईश्वरी, छोराहरु सरोज, सविन र सरन साथै तीनजना बच्चाहरुको शिक्षामा सहयोग पुर्याईरहनुभएका जाल्पा निमावी कुमपुर धादिङ्का शिक्षक हरिचन्द्र शर्मा उपस्थित हुनुभएको थियो। समाजसेवी मञ्जु कार्कीले सुरुवात गर्नुभएको सो सहयोग अभियानलाई इजरायलमा रहेका नेपालीहरुको संस्था श्री सत्य साई सेन्टर तथा सो संस्थाका उपाध्यक्ष सुर्य सिम्खडा लगाएतका पदाधिकारीहरुले मूर्तरुप दिनुभएको थियो।
नेपाल लगायत इजरायलमा रहनुभएका थुप्रै सहयोगीहरुबाट सो रकम जम्मा पारिएको हो। कार्यक्रममा बोल्दै प्रमूख अतिथी लामाले असहायलाई सहयोग प्रदान कार्यक्रमको प्रमूख अतिथी बन्न पाउनु आफ्नो भाग्यको कुरा रहेको बताउनुभयो। बिशिष्ठ अतिथी पुरीले पनि यस्तो सुनौलो संयोग आफूले पहिलो पटक पाएको बताउँदै सहयोग संकलनकर्ता प्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै कामहरु गर्दै जान शुभकामना दिनुभएको थियो। कार्यक्रमका सभापती तथा निर्माता थापाले आफूले यस्तो पुनित कामको संयोजन गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो।
सो कार्यक्रममा नेचुरल मुवी मेकर्सले निर्माण गरेको रामशरण पाठक निर्देशित चलचित्र ‘वर्ल्ड कप इन नेपाल’को अडियो गीत, फर्ष्ट लुक प्रोमो तथा भिडियो गीत सार्वजनिक गरिएको थियो।