काठमाडौं, श्रावण २१,
राष्ट्रिय धर्मसभा नेपालले नेपाली कला, संस्कृति र राष्ट्रियता झल्काउने नेपाली चलचित्र “ठेगाना” देशैभर प्रदर्शन गर्ने भएको छ । धर्मसभाले आज राजधानीमा पत्रकार सम्मेलन गरी कथानक चलचित्र ठेगानाबारे जानकारी दिएको छ ।
धर्मसभाका अध्यक्ष प्राध्यापक डा. माधवप्रसाद भट्टराईले नेपाली मौलिकता, धर्म, संस्कृति र राष्ट्रियता संकेटमा परेको अहिलेको अवस्थामा यस चलचित्र मापृmत त्यसको जगेर्ना गर्न मद्धत पुग्ने बताए ।
आगामी शनिबार काठमाडौंको कालिकास्थनास्थित सर्वनाम नाट्यघरमा चलचित्रको पहिलो प्रदर्शन गरिने र सो वापत उठेको रकम राष्ट्रिय धर्मसभालाई प्रदान गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उत्तम खत्री र सुरज श्रेष्ठले निर्माण गरेको चलचित्रको लेखन तथा निर्देशन रामशरण पाठकले गरेका हुन् ।
चलचित्रमा विभिन्न कारणले विदेशिन बाध्य एक नेपाली पहिचानको खोजी गर्दै अन्ततः आफ्नै ठाउँमा फर्किएको कथा समेटिएको छ । निर्देशक पाठकले विक्रम संवत् २०६८ सालमै यस चलचित्रका लागि विशेष पुरस्कार प्राप्त गरेका थिए । तर राजनीतिक दबाबका कारण चलचित्र प्रदर्शनमा समस्या परेको बताइएको छ ।