मिस नेपाल युएस-२०१३ को तेस्रो संस्करण I

काठमाण्डौ श्रावन ३०,

सांग्रिला मिस नेपाल युएस-२०१३ को तेस्रो संस्करण अमेरिकाको न्युयोर्कस्थित क्विन्स थिएटरमा सम्पन्न हुने भएको छ। यो सौन्दर्य प्रतियोगिताका लागि युवतीहरूको छनौट सम्पन्न भैसकेको छ। मिस नेपाल युएस-२०१३ को उपाधिका लागि अमेरिकाका विभिन्न राज्यका १६ जना नेपाली युवती मैदानमा छन्। 

अमेरिकामा बस्ने नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएपछि त्यहाँका नेपाली युवतीहरूलाई पनि सौन्दर्य प्रतियोगितामा सहभागिता गराउने उद्देश्यले विगत तीन वर्षदेखि मिस नेपाल युएस प्रतियोगिता सञ्चालन गरिँदै आएको संस्थाका एसइओ प्रतीक सुवेदीले बताए। नारी सौन्दर्य तथा प्रतिभाका निम्ति उपयुक्त प्लेटर्फम भनेर प्रचार गरिएको यो प्रतियोगितामा १८ देखि २६ वर्षसम्मका युवतीहरू सहभागी छन्। 

'विगतको अनुभवबाट सिक्दै यसपटक नयाँ रूपमा मिस नेपाल युएस हुन लाग्दैछ,' कार्यक्रममा प्रमुख कोरियोग्राफरका रूपमा सहभागी हुन बुधबार अमेरिका प्रस्थान गरेकी पूर्व मिस नेपाल, मोडल तथा व्यवसायी माल्भिका सुब्बाले भनिन्- 'नेपाली कला-संस्कृतिको जगेर्ना गर्दै सुन्दर प्रतिभावान् युवतीलाई मिस नेपाल युएस घोषणा गर्नेछौं।' प्रतिस्पर्धीहरूलाई माल्भिकाका अतिरिक्त चर्चित अमेरिकन रनवे मोडल मेटिज मार्टिनेजले पनि तालिम प्रदान गर्नेछन्। प्रतियोगीहरूले चर्चामा रहेका नेपाली फेसन डिजाइनर विश्व गौतमका पहिरन लगाएर र्‍याम्पमा आफ्नो प्रतिभा देखाउनेछन्। 

अमेरिकामा हुर्किएको नेपाली नेपाल र नेपाली संस्कृतीसँग युवा पुस्तालाई नजिक्याउन यो प्रतियोगिता प्रभावकारी हुने आयोजकहरूको दाबी छ। विगतदेखि नै आयोजक संस्थाले मिस नेपाल युएस विजेतालाई युथ आइकनका रूपमा प्रस्तुत गर्दै आएको छ। पहिलो संस्करणमा सुजिता बस्नेत तथा दोस्रो संस्करणमा आस्था श्रेष्ठ मिस नेपाल युएस भएका थिए। मिस नेपाल युएसको उपाधि विजेतालाई नेपाल पर्यटन बोर्डले सद्भावना राजदूत नियुक्त गर्दै आएको छ। करिब सय जनाको निवेदनमध्ये ३५ जनाको अडिसन लिँदै १६ जना अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका हुन्। 

माल्भिकाका अनुसार न्युयोर्क, टेक्सास, क्यालिफोर्निया, मेरिल्यान्ड, भर्जिनिया, वासिंगटन डिसी, पेन्सिलभेनिया, अरेगन, म्यासाचुएट्स राज्यलाई प्रतिनिधित्व गर्ने ती युवतीहरूबाट उपाधि विजेताले ५ हजार अमेरिकन डलर बराबरको पुरस्कार हासिल गर्नेछिन्। साप्ताहिकसँगको सहकार्यमा हुन लागिरहेको यसपटकको प्रतिस्पर्धामा एलिसा कार्की, अनुजा केसी, अनुजा थापा मगर, बार्तिका राई, विभीषिका भण्डारी, एलिसा थापा, निक्की पाण्डे, निर्जला श्रेष्ठ, प्रज्ञा विष्ट, रश्मि लामिछाने, रुथ राणा, सम्झना लामा, सेलिना शाक्य, सोनी पाठक, सृष्टि गौतम तथा सुनयना पालिखे सहभागी छन्।नारी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com