काठमाण्डौ श्रावन ३०,
फोक्सोमा क्यान्सर लागेर थलिएका पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको स्वास्थ्य अवस्था नाजुक बनेपछि भारतको नयाँ दिल्लीबाट नेपाल फर्काइएको छ। दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत उनको बोली बन्द भएपछि नेपाल फर्काइएको हो। उनलाई अहिले थापाथलीस्थित नर्भिक अस्पतालको भेन्टिलेटरमा राखिएको छ। पञ्चायतकालीन प्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा बिहानै अस्पताल पुगेका छन्।
नागरिकन्युजका दाङ संवाददाता देवेन्द्र बस्नेतका अनुसार गत आइतवारदेखि उनलाई आईसियुमा राखेर दिल्लीको अस्पतालमा उपचार भइरहेको थियो। पूर्व प्रधानमन्त्री श्रेष्ठलाई साढे तीन महिना अघि फोक्सोमा क्यान्सर देखिएको थियो। सल्यान स्थायी घर भएका श्रेष्ठ वैशाख १७ देखि बिरामी परेका हुन्। सुरुमा सामान्य ज्वरो आएपछि उनलाई राजधानीको हिमालय अस्पतालमा उपचार गरीएको थियो। उक्त अस्पतालले उनलाई दिल्ली रेफर गरेको थियो। उपचारका लागि दिल्ली लगिएका श्रेष्ठको फोक्सोमा क्यान्सर लागेको मेदान्त अस्पतालका चिकित्सकले पुष्टि गरेका थिए।
भारतमा उपचाररत पूर्वप्रधानमन्त्री श्रेष्ठको उपचारका लागि रकम अभाव भएपछि परिवारले उपचार खर्चका लागि हारगुहार गरिरहेको छ। श्रेष्ठको उपचारमा राज्यले सहयोग नगरेपछि श्रेष्ठ परिवार उपचार खर्चका लागि हारगुहारमा लागेको हो। सरकारले उनको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भने पनि श्रेष्ठले रकम लिन इन्कार गरेका छन्। 'पूर्वप्रधानमन्त्रीको सम्पूर्ण उपचार खर्च बेहोर्नु पर्नेमा सरकारले रकम तोकेर चन्दा दिए जस्तो गर्नु ठिक लागेन, त्यहि भएर त्यो रकम लिएनौ,'नागेन्द्रले भने 'बरु संघसंस्थाकै अगाडि हात फैलाउनु ठिक ।'
श्रेष्ठको उपचारका लागि सल्यानमा रहेको जग्गा जमिन बिक्री गरिसकीएको नगेन्द्रले बताए। हाल सल्यानको खलंगामा रहेको घरमात्रै श्रेष्ठको नाममा छ । नगेन्द्रका अनुसार हाल उपचारका लागि दैनिक पचास हजार (भारु) खर्च लाग्ने भएकाले उपचारमा आर्थिक समस्या भएको हो। हाल सम्म उपचारमा ४५ देखि ५० लाख रुपैयाँ सम्म खर्च भैसकेको छ ।
मरिचमान सिंह पञ्चायतकालका प्रधानमन्त्री श्रेष्ठ ४ वर्ष प्रधानमन्त्री बनेका थिए। २०४२ देखि २०४६ सम्म उनी प्रधानमन्त्री थिए। सल्यान खलंगा स्थायी घर भएका उनी राजधानीको धापासीमा बस्दै आएका छन्। पारिवारका अनुसार धापासीमा उनको एकतले घर छ। नागरिक बाट !