काठमाडौं श्रवान २४,
सुन्धाराको गेस्ट हाउसमा हत्या गरिएकी युवती गोल्फुटारकी बबिता गुरुङ भएको खुलेको छ। मंगलबार सुन्धाराको पर्वतशिखर गेस्ट हाउसमा एक युवतीको हत्या भएको थियो। कोठा नम्बर ४०३ को शौचालयमा घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परे पनि पहिचान हुन सकेको थिएन।
प्रहरीका अनुसार समाचार सार्वजनिक भएपछि एक युवक आफ्नी श्रीमती हराएको भन्दै प्रहरी सम्पर्कमा आएका थिए। उनले शवका आधारमा युवतीको पहिचान गरेका हुन्। उनले आफ्नी श्रीमतीको हत्या भएकाले घटनामा संलग्नको खोजी गरी कारबाहीको माग गर्दै बुधबारै महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको प्रहरी स्रोतले बतायो।
प्रारम्भिक अनुसन्धानमा विवाहइत्तर सम्बन्धका कारण उनको हत्या भएको देखिए पनि हत्यामा संलग्नको पहिचान भने हुन सकेको छैन। प्रहरीस्रोतले अनुसन्धान अभियुक्तनिकट पुगेको दाबी गरेको छ।
मंगलबार बिहान साढे १० बजे एक युवकका साथ उनी सो गेस्ट हाउसमा आएकी थिइन्। ४०३ नम्बरको कोठा बुक गरर साढे १२ बजे गेस्ट हाउसबाट युवक बाहिरिएपछि कोठामा गएका गेस्ट हाउसका कर्मचारीले बबितालाई शौचालयमा मृत अवस्थामा फेला पारेका थिए।
साढे १२ बजेतिर बाहिरिएका युवक नफर्केपछि कर्मचारी कोठामा गएर हेर्दा बेडमा रगतको टाटो देखेका थिए। पछि शौचालयमा हेर्दा शव फेला परेको थियो। गेस्ट हाउसको रजिस्टरमा नवीन मगर र ठेगाना बालाजु लेखे पनि दुवै नक्कली देखिएको थियो। उनले रजिस्टरमा टिपाएको फोन नम्बर राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीको भएको खुलेको थियो।nagarik :