तीज पर्व सबै नेपालीका लागि सहज होस I

जनसंख्याको आधारमा विस्वमा आधा आकाश ओगटेका हामी महिला आधा धर्तिका हिस्सेदार हामी संसारको सृस्टी कर्ता हौं । हजारौं सन्तानका दृस्टीकर्ता र ममता कि खानी आज विभिन्न समस्यामा जकडिएर बाध्य बाध्य छौं । 

जीवनको सुरुआतदेखि नैं घात प्रतिघातमा पेलिएर काँडा बीचमा जेलिदै आएको हो । गरीवी, अशिक्षा , अज्ञानता, हत्या, हिंसा जस्ता समस्याबाट आज महिलाहरु अत्यन्त प्रभावित छौं । सामन्तवादी समाजले महिलालाई संधै दोश्रो दर्जाको नागरिक एवं पुरुÈका मनोरञ्जनको साधन, दासी र बच्चा जन्माउने मेसिनको रुपमा हेर्दै आएको छ स्त्रीलाई । 

आज विज्ञानको नयाँ“ आविस्कार संगै गर्भमा छोरी भएको थाहा पाए भ्रूण मैं मिल्क्याई / फ्याँकी दिने र जन्मिहाले पनि छोरा र छोरी बीचमा ठूलो विभेदबाट मुक्ति पाउन सकेका छैनन् महिलाहरुले । पढ्ने, लेख्ने, घरबाहिर आफू खुशी हिंड्डुल गर्ने, राजनैतिक, सामाजिक, शैक्षिक, आर्थिक जस्ता नैसर्गिक अधिकारबाट हामी महिलाहरु अझै बञ्चित छौं । बाल्य बस्था र किशोराबस्थामा बाबु दाजुको नियन्त्र र निर्देसनमा, यौवन अबस्थामा श्रीमान र ससुराको हैकम अनि वृद्धाबस्थामा छोरा नातिको अधिनमा खटिंदै सधंै अरुको खुसीको लागि बाच्दै आएको र अरुकै आबश्यकता परिपुर्तिमा खटिंदाखटिदै श्रम खर्चिंदै बगाएका पसिनाको न त मूल्य छ, न कुनै सामाजिक मर्यादा छ । 

सुनौला अवसरहरु बाट बचिन्त भैराह्यों अनि अबला र कम्जोर बनि असक्षमताको पगरी गुथेर दासता भित्र थोपरिएका छौं भने हिन्दु धर्म र सामन्ती परम्पराले नेपाली महिलाहरुलाई लामो समयदेखि गहिरो प्रभाव पार्दै आइरहेको छ । धर्म र परम्परा सँग जोडिएका थुप्रै चाडपर्वहरु हाम्रो समाजमा प्रचलित छन् । ती मध्ये तीज पर्वलाई नेपाली महिलाहरुले एक “महान् पर्व“का रुपमा मनाउ“दै आइरहेका छौं । तीजको अवसर पारेर एक ठाउँमा  भेला भएर नेपाली महिलाहरुले आफूहरुमाथि भएका सामाजिक, पारिवारिक, अन्याय, अत्याचार, हिंसा र घरपरिवारका समस्याका साथै आफ्ना मनका कथा, व्यथा , पीडा गीतको रुपमा पोख्ने प्रचलन छ । 

समाजले रुढीवादी र अन्धविश्वासलाई धर्मको नाममा महिलाहरु माथि जवरजस्ती थोपरी दिएको छ । जसको फलस्वरुप कृष्णजन्माष्टमी, तीज र पंचमीको वर्त बस्ने र वर्त बसेमा विवाहित महिलाहरुको श्रीमानको आयु बढ्ने, अविवाहित किशोरीहरुले राम्रो र असल श्रीमान पाइने जस्ता अन्धविश्वासहरुबाट नेपाली महिलालाई ग्रसित पारिरहेको छ । अर्को तर्फ तीजलाई माइत जाने, मिठो खाने राम्रो लुगा र गहना लगाउने चाडको रुपमा पनि यसलाई हेरिन्छ । जसरी पनि मिठो खाने राम्रो लुगा, गहना लगाउनु पर्ने प्रचलनले गर्दा आज समाजमा तीज पर्व विकृतिको रुपमा स्थापित हुँदै गएको छ । 

यसो हेर्दा तीज पर्वले एकातिर आफ्नो पींडा पोख्न पाउने, बर्षौं देखि माइती जान नपाएका महिलाहरु पनि माइत जान पाउने स्वतन्त्रता माथि नै ग्रहण लाग्ने सम्भावनालाई अस्वीकार गर्न सकिंदैन । युगौंदेखि रुढीवादी, अन्धविश्वासले महिलाहरुलाई जकडाइरहेको छ त्यस माथि पनि नयाँ-नयाँ फेशनले तीज पर्व महंगो बन्दै गएको छ आजकल यो एउटा बिकृति हो । यो भड्किलो प्रवृति यसरि नै बढ्दै गएमा भविष्यमा यो पर्वकै कारणले महिलाहरु माथि अझै नकारात्मक पीडाहरु भोग्नु पर्ने सम्भावनालाई अस्वीकार गर्न सकिंदैन । 

महिलामाथि हुने दाइजो, छाउपडी, बोक्सी, कुमारी, झुमा, बुर्का, जवरजस्ती विवाह, बहुविवाह जस्ता विभिन्न सामन्ती परम्परावादी पुरुषप्रधान प्रथाहरुले आज २१ औं शताब्दीको यस उत्तरार्धमा आइपुग्दा सम्म  पनि नेपाली महिलाहरुलाई उठ्नै नसक्नेगरी थेचारिएको अबस्था छ । र यो आम नेपाली जगतले देखेकै कुरा हो । त्यसैले हामीले तीजपर्वले बोकेको रुढीवादी परम्पराको विरुद्धमा समयमै सचेतनाको आवाज उठाई सामन्ती पुरुष प्रधान, सामाजिक संरचनाको विरुद्धको आन्दोलनको रुपमा यस चाडलाई रुपान्तरण्ँ गर्नुपर्ने आवश्यकता छ । त्यसैले हामी त्यही रुपमा अगाडि बढेको एक जुझारु, सशक्त संगठनमा आबद्ध भई अगाडि बढ्नुको विकल्प छैन । 

पञ्चायती कालमा पनि महिला मुक्ति, देश र जनताका गीतमार्फत देशका विभिन्न ठाउँमा महिलाहरुलाई जागरुक बनाउदै तीजलाई आन्दोलनका रुपमा मनाउने गर्दै आइरहेको थियो । विभिन्न कालखण्डमा देशका शासकहरुका विरुद्ध आन्दोलनहरु भएका छन् ती सम्पूर्ण आन्दोलनहरुमा नेपाली महिलाहरुको उल्लेख्य भूमिका रहेको हामी पाउदछौं । २००७ साल, २०१७ साल र २०३६ साल यी आन्दोलनहरुले केही न केही कागजी सुधारहरु भए पनि परम्परागत साँगुरो सोचमा सुधार अझै हुन सकेको छैन। २०४६ सालको आन्दोलनले तानाशाही पंचायती व्यवस्थाको अन्त्य गर्यो र देशमा बहुदलीय व्यवस्थाको स्थापित भयो । त्यसले राजनैतिक व्यवस्थाको परिर्वतन गर्ने काम तगर्यो तर महिलामाथि लागु हुने परम्परावादी सामन्ती समाजको सोंचको परिवर्तन हुन सकेन । 

महिलाहरुमाथि उही अन्धविश्वास, रुढीवादी परम्परा रही नै रह्यो । महिलाहरुले आफ्नो मौलिक हक उपभोग गर्न पाएनन् र पूर्ण रुपमा अझै पाएका छैनन् । पैतृक सम्पत्तिमा छोरा सरह छोरीलाई समान अधिकार, विवाह र सम्बन्धविच्छेदमा अधिकार, समान कामको समान ज्याला जस्ता बिभिध विषयहरुमा केही सुधार भएको जस्तो देखिएता पनि व्यवहारिक पक्षहरु भने अझै कमजोर देखिएका छन् । थुप्रै महिलाहरुका आवाजलाई विभिन्न महिला संघसस्थहरुले उठाउँदै आएता पनि उनीहरुले पनि सहि रुपमा सम्पूर्ण महिला मुक्तिको सवालमा समझ कमि भएको महशुस हुन्छ ।

हामी प्रबासमा रहेका नेपाली चेलीहरुले पनि आ–आफ्नै प्रकारबाट तीज मनाउने गर्दछौं अतिनै कामको व्यस्तताको बाबजुद पनि एक दिनको बिदा मिलाएर सबै दिदी बैनी एक ठाउँमा जम्मा भै बिना कुनै तडक-भाडाक आफ्नो गक्षेले भ्याएको मिठा मिठा नेपाली परिकार (खाजा) खाने गरिन्छ । विशेष गरेर हामी इजरायल बासी नेपाली चेलीलाई हाम्रा नेपाली दाजु भाइहरुले खाजा खुवाउने गर्नुहुन्छ देश, परिवार र आफन्तदेखि बिछोडिनु पर्दाको दुःख, पीर, बेदनालाई गीतको माध्यमबाट पोख्ने गरिन्छ । 

आफ्नो लोक संस्कृतिको जागेर्ना गर्नु राम्रो पक्ष हो । यसलाई हामीले रमाइलोको रुपमा लिनु पर्छ चाडको नाममा महंगा गर गहना लत्ता कपडा लगाएर बिकृतिको रुममा नलिउ । कैयौं चेलीहरुले यहा पनि दिन भर पानीको थोपासम्म नपिएर आफ्नो श्रीमानको लामो आयु तथा कुमारी चेलीले राम्रो जीवनसाथी पाउ“ भनेर वर्त बस्ने गर्नु हुन्छ । नारी–पुरुष समान हो भन्ने नारा घन्काइन्छन तर यसो चिह्यौंदा अन्धविस्वास महिलाहरु भित्र नै रहेको पाइन्छ । 

दिनभरीको वर्त बेलुका आफ्नो श्रीमानको जल (खुट्टा धोएको पानि) खाएर मात्र समाप्त गरिन्छ इजरायलमा पनि महिलाहरु तीजको दिन रातो सारी र छ्ट्के तिलहरीमा झप्पक गहना लागेर निकै उत्साहित हुँदै नाच्ने र  गाउँने गरेको देख्न पाईन्छ। तेल अविको लेबेन्की पार्कमा सम्पूर्ण महिला दिदी बैनी भेला भएर एक आपसमा शुभकामना साटा साटा गर्दै खुशी र आत्मियता बाडेको देख्दा यो कुनै प्रबासको भूमी नभएर आफ्नै मातृभूमी नेपालनै हो कि जस्तो भान हुन्छ ।

तसर्थ यस्ता रुढिबादी र अन्धबिस्वासलाई हामी महिलाहरुले नै हटाउनु पर्दछ । आफ्नो हक र अधिकारको लागि आवाज उठाउन अत्यावश्यक छ । पछिल्लो समयमा २०६२–६३ को जनआन्दोलनले महिलाहरुका पक्षमा केही महत्वपूर्ण उपलब्धीहरु दिएको छ । ती उपलब्धीहरुलाई संस्थागत गर्ने र त्यसैको जगमा टेकेर अगाडि बढ्नु पर्ने आवश्यकता छ । जे जति अधिकारहरु कागजीरुपमा सीमित छन् ती नेपाली महिलाहरुले उपभोग गर्न पाएका छैनन् । 

ती अधिकारहरुलाई व्यवहारमा लागु गर्न र परम्परावादी समाजलाई चुनौती दिनको लागि सीमित उपलब्धीहरुको संरक्षण र उपभोग गर्दै अधिकार सुनिश्चितताका लागि संघर्षलाइ अगाडि बढ्नु पर्दछ । त्यसले नै नेपाली महिलाहरुले मनाउने तीज पर्वलाई मात्रै नभएर महिला मुक्ति आन्दोलनलाई एउटा नयाँ“ आयाम दिनेछ । ताकि नजीक आइरहेको माहान पर्व तीजलाई बिकृतिको रुममा हैन लोक संस्कृति जगेर्नाको ध्येयले सहज तरिकाले मनाऔं जुन पर्व आम नेपालीहरुको घरमा सम्पन्न होस । 

(लेखिका हाल इज्रायलमा वैदेशीक रोजगारको शिलसिलामा रहनुभएको छ )

कल्पना पौडेल "जिज्ञासु" 
गैडाकोट,४ नवलपरासी 
हाल:इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com