खोटाङ, १३ साउन ,
खोटाङका महिला अधिकारकर्मीले दुई बलात्कारीलाई कारबाहीको माग गरेका छन् ।
जिल्लाका १२ भन्दा बढी संघसंगठनमा आवद्ध महिला अधिकारकर्मीले बुइपाका एक युवतीलाई जबर्जस्ती करणी गर्ने दिक्तेल–४ का पर्शु आचार्य र दोर्पाचिउरीडाँडाका एक महिलालाई बलात्कार गर्ने दोर्पाचिउरीडाँडा–३ का प्रेमबहादुर पाण्डेलाई कारबाही गर्न प्रशासनसँग माग गरेका हुन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेललाई आइतबार ज्ञापनपत्र बुझाउँदै उनीहरुले बलात्कारका आरोपित आचार्य र पाण्डेलाई कारबाही गर्न आग्रह गरेका हुन् । महिला अधिकारकर्मीले अपराधलाई ढाकछोप गर्दै दोषीलाई बचाउने प्रपञ्च सुरु गरिएको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
बुइपाबाट एसएलसीको पूरक परीक्षा दिन सदरमुकाम दिक्तेल जानेक्रममा पर्शु आचार्यले एक युवतीलाई बाटोमा गत शुक्रबार करणी गरेका थिए ।
यस्तै, दिक्तेलबाट दोर्पाचिउरीडाँडा जानेक्रममा एक महिलालाई पाण्डेले शुक्रबार नै स्थानीय काउले सामुदायीक वनमा बलात्कार गरेका थिए । बलात्कारमा संलग्न आचार्य र पाण्डेलाई प्रहरीले पक्राउ गरिसकेको छ । नाताले ससुरा पर्ने पाण्डेले जबर्जस्ती करणी गरेपछि हत्या गर्न लागेका बेला भीरबाट हामफालेर महिलाले ज्यान बचाएको महिला अधिकारकर्मीले बताएका छन् ।
आफ्नै छोरा बीरबहादुर पाण्डेसँग विवाह गरेका ती महिलालाई प्रशासनबाट एक महिनाभित्रमा नागरिकता दिने शर्तपछि घर फर्कने क्रममा पाण्डेले बलात्कार गरेको पीडितको भनाइ छ । नौ वर्षीयछोरी समेत भएका बीरबहादुर पाण्डेले विवाह भएको चार वर्षपछि उदयपुरमा दोश्रो विवाह गरेर बस्दै आएका छन् ।एए :