बलात्कारको प्रयास गरेको उजुरी दिंदा उनै माथि गाउँलेले गरे यस्तो अमानवीय व्यवहार I

काठमाण्डौ श्रावण ९ ,

मोरङ्ग बेलवारीमा आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएकी एक महिलामाथि नै आक्रोशित गाउँलेले अमानवीय ढंगले चरम यातना दिएका छन् । बलात्कार प्रयासबाट बचेर उजुरी दिएकी एक दलित युवती र उनको पक्षमा बोल्ने अगुवा पुरुषलाई समेत कुटपिट गर्नुका साथै कालोमोसो दली जुत्ताको माला लगाइएको छ । 

मोरङ बेलाबारीको २३ वर्षीया युवती र सोही ठाउँका ३० वर्षीय दलित अगुवालाई पीडक पक्ष र गाउँले मिलेर यातना दिएका हुन् । श्रीमान् वैदेशिक रोजगारीमा गएकाले बेलबारीमा एक्लै बस्दै आएकी ती युवतीले घर फर्कने क्रममा गत शनिबार साँझ आफूलाई स्थानीय जीवन भेट्वालले बलात्कार गर्न खोजेको बताएकी छिन् । उक्त घटनाबारे उनले छिमेकी दलित अगुवा मनोज विश्वकर्मालाई सुनाएकी थिइन् । 

उनकैको सल्लाहमा प्रहरीमा उजुरी गरेपछि प्रहरीले जीवनलाई पक्रेपनि बलात्कार गर्न खोजेको पुष्टि नभएको भन्दै छाडेको थियो । त्यसै विषयमा दलितले आफूहरुलाई झुटो आरोप लगाएको र सामाजिक बेइज्जती गरेको भन्दै पीडक पक्ष र गाउँलेले स्थानीय अन्नपूर्ण विद्यालयमा सभा बोलाएका थिए । 

छलफलका लागि बोलाएकाले त्यहाँ पुगेकी पीडित युवतीलाई उनीहरुले कुटपिट गर्नुका साथै कालो मोसो दली जुत्ताका माला लगाएका हुन् । महिलालाई यातना दिइसकेपछि सहयोग गरेको भन्दै दलित अगुवा मनोजको घरमै पुगेर उनलाई पनि अमानवीय व्यवहार गरिएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com