काठमाण्डौ श्रावण ३
डा. अरुणा उप्रेती : नेपाली समाजमा ‘लिङ्ग पहिचान गरेर’ छोरी छिन् भने ‘गर्भपतन’ गराउने समस्या अलिक पुरानै हो । पहिले, गर्भपतन कानुनी नभएकाले हुनेखाने परिवारका महिलाले धेरै पैसा तिरेर स्त्रीरोग विशेषज्ञ कहाँ गएर जाँचेर छोरी छन् भने गर्भपतन गराउँथे ।
तराईका महिला भारतमा गएर गर्भपतन गराउँथे । तर, अहिले नेपालमै गर्भ पहिचान गर्ने र छोरी छिन् भने गर्भपतन गराउने चलन बढ्दै आएको छ । यो एउटा सामाजिक समस्या हो, यसमा केही शंका नै छैन । तर, गर्भपतनलाई ‘स्त्री हत्या’ ‘बालहत्या’ र ‘भ्रुण हत्या’ भनेर जसरी छापामा आइरहन्छ त्यसले गर्दा गर्भपतनको अधिकार महिलालाई दिनु नै गलत थियो कि भन्ने प्रश्न उठाएको छ । त्यसैले मिडियामा गर्भपतन सम्बन्धी लेख/समाचार लेख्दा ‘गर्भपतन’ मात्र लेखेर अन्यथा रूपमा नलेख्नु होला ।
‘गर्भको शिशु छोरीहरू थाहा पाएपछि गर्भपतन गराउने डाक्टरहरू दोषी हुन्, तिनलाई सजाय दिनुपर्छ । डाक्टरहरू बदमास हुन्, पैसा कमाउन जस्तो गर्भपतन पनि गर्छन्,’ भन्ने भ्रम जनमानसमा फैलिएको छ । डाक्टरहरूले गर्भपतन गराउन आउने महिलालाई सेवा दिनु त उनीहरूको कर्तव्य हो । यसका लागि उनीहरूलाई किन दोष दिने ? कति परिवारले महिलालाई एक ठाउँमा लगेर जाँच गराएर छोरी भएको पत्ता लगाउँछन् र अर्को डाक्टर कहाँ गएर गर्भपतन गराउने सेवा मात्र लिन्छन् ।
यसमा डाक्टरको दोष कसरी भयो र ? नेपालको कानुनमा ‘यदि आमाको मानसिक र शारीरिक स्वास्थ्यमा नराम्रो असर परेको छ भने गर्भपतन गराउन पाउने अधिकार छ’ भनेर लेखिएको छ ।
परिवारले गर्भको लिङ्गको पहिचान गरेको÷नगरेको खुलासा नगरेर गर्भवती महिला धेरै बिरामी भएको, मानसिक रूपमा चिन्तित भएको र जसरी पनि गर्भपन गराउनै पर्ने अड्डी लिएपछि डाक्टर पनि विवश हुन्छन्, गर्भपतन गराउन । चार–पाँच महिनाको होस् वा ६ महिनाको नै किन नहोस् । यस्तो समस्यामा डाक्टरलाई दोष दिने कि छोरीलाई दोस्रो दर्जाको नागरिक बनाएर आमाबाबुको मनमा छोरी नै चाहिँदैन भन्ने भावना सिर्जना गर्ने समाजलाई दिने ? ‘छोरी नभए पनि हुन्छ तर छोरा नभई हुँदैन’ भन्ने हाम्रो धार्मिक, सांस्कृति र सामाजिक मनोविज्ञानले छोरी भ्रुणहत्याको क्रम बढेको हो ।
न कि डाक्टरको सिमित फाइदाका कारण मात्र ।
हाम्रा धार्मिक किताब, पण्डितहरूको विचार, गरुड पुराण, स्वस्थानी, तराईतिरको कठोर पर्दा प्रथा र छोरी र बुहारीप्रति गरिने अमानवीय व्यवहार आदिका कारण परिवारलाई छोराको चाहना बढाएको हो । र, यसको अहिले सजिलो उपाय भनेकै गर्भबाटै छोरीलाई हटाइदिने । त्यसैले छोरीको भ्रुणहत्या गर्ने दोष आमाबाबुको मात्र पनि होइन, डाक्टरको मात्र पनि होइन, यो सिंगो समाजको हो, सामाजिक संरचनाको हो ।
गर्भपतनलाई ‘हत्या’सँग जोडिनु गलत हो । यसले त नेपाली महिलाले पाएको अधिकारको अवमूल्यन गरिरहेको अवस्था सृजना भएको छ । ‘गर्भपतनको अधिकार पाएकाले नै छोरीलाई मार्ने चलन बढेको हो’ भन्ने जस्ता सन्देशले समाजमा नकारात्मक असर पार्छ । गर्भपतनको अधिकार महिलाको जीवन बचाउन, अनिश्चित गर्भ तुहाउन, असुरक्षित तरिकाले गर्भपतन गरेर बिरामी हुने र मृत्यु हुनबाट बच्न सकियोस भनेर ल्याइएको कानुन हो । यसले महिलाको प्रजनन स्वास्थ्यमा राम्रो असर पारेको पनि छ ।
तर, यदि कसैले अधिकारको दुरुपयोग गर्छ भने त्यो अधिकार नै गलत हो भन्न मिल्दैन । सकेसम्म गर्भपतनको अवस्था आउन नदिन पुरुष र महिला स्वयं सचेत हुनुपर्छ । अस्थायी साधन प्रयोग गर्नुपर्छ र ती साधन असफल हुँदा रहने अनिश्चित गर्भलाई पतन गर्न सुविधा लिनुपर्छ । महिलाको शरीरमाथिको अधिकार स्थापित गर्नकै लागि र सकारात्मक उद्देशयसहित गर्भपतनको कानुन ल्याइएको हो । र यसलाई त्यही रुपमा ग्रहण गर्नुपर्छ न कि दुरुपयोग गर्ने हिसाबले ।(स्वास्थ्य खबर)