काठमाण्डु श्रावण १२,
पूर्व राजा ज्ञानन्द्रलाई राष्ट्रपति बनाउन मात्र नभई दलहरूलाई समेत ठेगान लगाउन बाबुराम भट्टराईले आफूमार्फत आग्रह गरेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले खुलासा गर्नुभएको छ । भट्टराईले राजा र माओवादी मिल्न सके संसदवादी दलहरूलाई ठेगान लगाउन सकिने प्रस्ताव गरेको थापाले फेसबुकमार्फत खुलास गर्नुभएको हो ।
पुर्ण असत्य भन्दा अर्ध सत्य बढी भ्रमपुर्ण र खतरनाक हुन्छ भन्ने डा. बाबुरामको लेखको जवाफ फर्काउँदै थापाले यस्तो खुलासा गर्नुभएको । एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बन्न आग्रह गरेको स्वीकार गर्नुभएको छ ।
पार्टीको नीतिअनुसार नै आफूले कमल थापामार्फत ज्ञानेन्द्रलाई राष्ट्रपति बन्न प्रस्ताव गरेको उहाँले खुलासा गर्नुभएको हो । फेसबुकमार्फत भट्टराईले देशलाई थप रक्तपातबाट बचाउन तथा राष्ट्रिय स्वाधीनताको पक्षमा योगदान गर्न तत्कालीन समयमा ज्ञानेन्द्रलाई मुलुकको पहिलो राष्ट्रपतिको रुपमा स्वीकार्न तयार भएको बताउनुभयो ।
आफूले ज्ञानेन्द्रलाई भेटेर नै यस्तो प्रस्ताव गर्न चाहे पनि उनले भेट्न नमानेकाले कमल थापामार्फत प्रस्ताव गरिएको भट्टराईले फेसबुकमा उल्लेख गर्नुभएको छ । उहाँले पार्टीको घोषित नीतिअनुसारै यदी ज्ञानेन्द्र सहजै सहमतिमा आए उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखेको बताउनुभयो । उहाँले तत्कालीन समयमा देशमा भइरहेको रक्तपात रोक्न र मुलुकको सहज निकासका लागि मात्रै आफूहरूले यस्तो प्रस्ताव गरेको जिकिर गर्नुभएको छ । भट्टराईले नै केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रको सक्रियताले गणतन्त्र संकटमा पर्न लागेको भन्दै जेल हाल्नु पर्ने अभिव्यत्ति दिनुभएको थियो ।
भट्टराई फेसबुक पेजमा लेखको स्वीकारूक्ती यस्तो छ :
त्यसबखत लोकेन्द्र चन्द प्र.म. थिए भने वार्ताकारका हर्ता़कर्ता नारायण सिंह पुन र रमेशनाथ पाण्डे थिए । पछि सुन्नमा आयो कुनै अनधिक्रित मान्छेले ज्ञानेन्द्रलाई पहिल्यै हामी माओवादी संवैधानिक राजतन्त्र मान्न तयार छौं भनेकाले वार्तामा वोलाइएको रहेछ तर पछि त्यस्तो नपाएपछि उनी रिसाएर मसंग भेट्न नमानेको हामीले अनुमान गर्यौं । जे होस् काठमाण्डौमा भएको दुई चरणको वार्तामा कुनै परिणाम आउने लक्षण नदेखे पछि हामी वार्ता भंगको मनस्थितिमा पुग्यौं ।
त्यसैक्रममा हाम्रै पहलमा नेपालगंजमा धवलशमशेर राणाको घरमा कमल थापा र मेरो लामो कुराकानी भएको हो । त्यहाँ मैले पार्टीको घोषित नीति अनुसारै यदि ज्ञानेन्द्र नेपाली सिंहानूक बन्न तयार भएमा उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखें । कमल थापाले संवैधानिक राजतन्त्र मानिदिने आग्रह गरे । हाम्रो कुरा मिलेन । उनले हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुर्याए पुर्याएनन् थाहा भएन । पछि हापुरे वार्ता असफल भयो र हामी फेरि जनयुध्दमा फर्कियौं ।
सत्यतथ्य यत्ति हो । त्यसपछिको १२-वुँदेदेखिको इतिहास सबैलाई थाहै छ । दरबार हत्याकाण्डको दिनदेखि नेपालमा गणतन्त्रको उदय भैसकेको मान्यता राख्ने हामीले 'बेबी किंग' वा ' सांस्कृतिक राजा' वा अन्य कुनै विशेषणयुक्त राजतन्त्र मान्ने कुरा सपनामा पनि कसरी सम्भव होला र ?
भट्टराईको जवाफ स्वरूप थापाले लेखेको फेसबुक स्ट्याटस :
"पुर्ण असत्य भन्दा अर्ध सत्य बढी भ्रमपुर्ण र खतरनाक हुन्छ" भन्ने डा. बाबुरामको भनाई प्रति म शतप्रतिसत सहमत छु । तर, दुर्भाग्यवश उंहा स्वयंबाट आज फेसबुक मार्फत सानो अर्ध सत्य प्रवाहित भएको छ । त्यो अर्ध सत्यले पार्न सक्ने भ्रम र नकरात्मक प्रभावको निराकरणका लागि केहि स्पष्ट पार्नु आबश्यक ठानेको छु ।
डा. धवल शमसेर राणाको नेपालगंज स्थित निवासमा उंहासंग भएको मेरो एकान्त वार्ताको क्रममा उंहाले म संग एक पटक होईन बारम्वार राजा संग सहकार्यको आग्रह गर्नु भएको हो । "राजा हामीलाई सत्ता हस्तान्तरण गर्न तयार हुनु हुन्छ कि हुनु हन्न, राजालाई सम्झाई दिनु पर्यो" भनि उंहाले गर्नु भएको आग्रह अहिले पनि मेरो मस्तिष्कमा ताजा छ । राजा ideology free institution भएकोले राजालाई तपाईहरुसंग सहकार्य गर्न गाह्रो पर्दैन, २०४६ सालको आन्दोलन पछि कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्रि बनाएर आन्दोलनकारी दलहरुसंग राजाले सहकार्य गरेको तथ्यको समेत मैले उंहालाई जानकारि गराए ।
तर, राजाले संसदवादी दलहरुलाई अलग गराएर तपाईहरुलाई सत्ता सुम्पन सक्ने अवस्था नभएको हुंदा चुनावमा भाग लिनु होस र जितेर आए पछि तपाईहरुलाई सत्ता सुम्पन राजालाई कुनै अप्ठेरो पर्दैन भनि मैले भन्दा उंहाले मुसुक्क हांसेर "राजा र हामी मिले पछि दलहरुको चिन्ता गर्नु पदैन, ती आफै ठेगान लाग्छन्" भन्नु भएको सत्यलाई स्मरण गर्न म बाबुराम जीलाई आग्रह गर्दछु । सत्तामा नपुगि चुनावमा भाग लिंदा विद्रोहीले नराम्रो पराजय भोग्नु परेको बारे अफ्रिकाको कुनै एक देशको नाम लिई उंहाले दिएको उदाहरण पनि म सम्झि रहेको छु । नेपालगंज वार्तामा उंहा र म दुई जना मात्र भएकोले त्यस बेला भएको कुराकानिको साक्षी हाम्रो आत्मा र विवेक मात्र हो । त्यसलाई ईमान्दारिताले मात्र पुष्ठि गर्दछ ।
तर, हापुरे वार्ताको क्रमामा बाबुराम जीले लामो व्याख्या सहित परोक्ष रुपमा राजसंस्थाको अस्तित्व स्विकार्न सकिने बारेमा गर्नुको आग्रहका साक्षी डा. प्रकाश चन्द्र लोहनी, दमननाथ ढुंगाना, पद्यरत्न तुलाधर, कृष्ण बहादुर महरा र कर्णध्वज अधिकारी अझै जीवित हुनु हुन्छ । निश्चय नै बाबुराम जीले हाम्रो परिभाषा अनुरुपको संबैधानिक राजसंस्थाको कुरा गर्नु भएको होईन । त्यो वार्ता राजा वा राजसंस्थाका बारे केन्द्रित पनि थिएन । वार्ताको एजेण्डामा राजसंस्था थिएन पनि । माओवादी कै माग अनुसार गोलमेच सम्मेलन, अन्तरिम सरकार र संबिधानसभाको चुनाव नै वार्ताको मुख्य एजेण्डा थियो ।
प्रसंगवश राजसंस्थाका बारेमा कुरा गर्दा उंहाले श्री ५ पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै राजालाई प्रथम राष्ट्रपति वा आबश्यक पर्छ भने राजा कै पदविमा पनि कायम राख्न सकिने, राजालाई दिईने भत्ताका बारेमा कुनै विवाद नगर्ने र नारायणहिटी मै बस्न सक्ने जस्ता धारणा समेत राख्नु भएको थियो । जंहा सम्म धार्मिक सांस्कृतिक अधिकार सहितको सांस्कृतिक राजतन्त्रको कुरा छ त्यो अवधारणा मैले पहिलो पटक संबिधानसभाको चुनाव अगाडि बाबुराम जी कै मुखबाट सुनेको हुं ।
त्यस भन्दा अगाडि त्यस्तो पदावलीको मलाई जानकारि समेत थिएन । यो अवधारणा प्रस्तुत गर्दा माओवादी अध्यक्ष प्रचण्ड पनि संगै हुनु हुन्थ्यो । यस वारे बाबुराम जी ले पछि सार्वजनिक रुपमा समेत चर्चा गुर्न भएको छ । राजासंग सहकार्यको कुरा उठदा चिन्तित र आतंकित हुनुको कुनै औचित्य नै छैन । देशका सबै राजनैतिक शक्तिहरु बिचको एकता र सहकार्यबाट मात्र देशमा शान्ति र स्थायित्व कायम हुन सक्दछ । कुनै बेला राजासंग सहकार्यको कुरा गरेको आधारमा माओवादीहरुले अहिले हिनताबोध गर्नु पर्ने जरुरी छैन ।
प्रचण्ड स्वयंले कम्बोडिया मोडेलको राजसंस्थाको हामीले परिकल्पना गरेका थियौ भनि सार्वजनिक रुपमा नै भन्नु भएको अभिलेख छ । राजा बिरेन्द्रसंग अघोषित सहकार्य गरेको, २०६२ माघ सम्म राजा ज्ञानेन्द्रसंग भेटको प्रतिक्षा गरेको तथा नोकर होईन मालिक संगै कुरा गर्छौ भनि माओवादी नेताहरुले व्यक्त गरेका थुप्रा धारणाहरु नेपाली जनताले सुनेकै छन् । अमृत साईन्स कलेजका मेरा सहपाठी बाबुराम जी संग अरु पनि रोचक कुराकानी भएका छन् ।
अब थप विवाद नगरौ भन्ने मेरो आग्रह छ । प्राविधिक रुप मै भए पनि अहिले देशमा गणतन्त्र कायम भएको छ । गणतन्त्रले राष्ट्रियता बलियो भयो भने, गणतन्त्रले प्रजातन्त्र बलियो भयो भने, गणतन्त्रले शान्ति र स्थायित्वक कायम गर्न सक्यो भने तथा गणतन्त्रले नेपाली जनताको अनुहारमा हांसो र उज्यालो ल्याउन सक्यो भने बाबुराम जीको जीत हुनेछ । तर, त्यो स्थिति आउन सक्दैन भन्ने मेरो दावि हो । त्यस अवस्थामा राजा सहितको प्रजातन्त्र वाहेक देश जोगाउने अर्को विकल्प रहंदैन । यो तितो सत्य स्विकार्न बाबुराम जी पनि तयार हुनु पर्दछ । (नेपालब्रिटेन)