फेसन डिजाइनर सुरिता श्रेष्ठलाई चित्रकार, सेरामिक्स आर्टिस् अनि डल, फ्लावर मेकरका रूपमा धेरैले चिन्दैनन्। रुचिकै भरमा टिभी हेर्दै कपडाका फूल तथा डलहरू बनाउने अनि छ्वाली आर्ट गर्ने सुरिताको स्कुल पढ्दादेखिकै यो क्षमता देखेर धेरैले स्यावासी दिन्थे।
उनले कतिपय प्रतियोगितामा भाग लिएर अवार्ड पनि जितेकी छिन्। उनले बनाएका डल एवं फूलहरू स्कुल पढ्दा नै धेरैले किनेका थिए। कुनै पनि प्रशिक्षण नलिई सिकेको उनको यो कलाका प्रशंसक पनि उत्तिकै छन्। त्यतिबेला उनले जमलमा हस्तकला सिकाउने अवसर पनि पाइन्। सिर्जनशील काम गर्न रुचाउने सुरिता मोर्डन आर्ट पनि गर्छिन्। रंग, क्यानभाष र कुचीसँग रमाउने सुरिता आफ्नो कलामार्फत सुख र दुःख जीवनको अभिन्न अंग भएको कुरालाई दर्शाउँछिन्। भारतमा बस्दा उनले सेरामिक्स आर्ट पनि सिकेकी थिइन्।
उनी सेरामिक्सका सिन्दूर पट, कप, प्लेट तथा वावलहरू बनाउँछिन्। विशेष रुचिका रूपमा बनाइएका सेरामिक्सका ती सामान उनी साथीभाइ एवं आफन्तहरूलाई उपहार दिन मन पराउँछिन्। अहिले पनि उनी फुर्सदमा चित्र कोर्ने तथा सेरामिक्सका सामानहरू बनाउने काम गर्छिन् जसबाट उनलाई विशेष ऊर्जा मिल्छ भने नयाँ-नयाँ चीजहरू बनाउने प्रेरणा पनि प्राप्त हुन्छ।
यद्यपि उनलाई धेरैजसोले हस्तकला, चित्रकलाको पार्टबाटभन्दा फेसन डिजाइनरका रूपमा चिन्छन्। सन् २००९ मा आइसिसीद्वारा आयोजित डिजाइनर प्रतियोगितामा प्रथम भएकी सुरिता अहिले कुपन्डोलमा आफ्नै बुटिक खोलेर बसेकी छिन्। फेसन डिजाइनिङ उनको रोजीरोटीको माध्यम हो भने कला उनको रुचिको विषय हो। सिर्जना दुवाल श्रेष्ठ ! नारी !