काठमाण्डौ जेठ १९,
भिषण राइ : गत शनिबार ललितपुरको हात्तीवनस्थित माङखिममा परम्पराअनुसार पूजा गरेपछि उपत्यकामा पनि उभौली सुरु भएको छ। पहिलो दिन ललितपुरको नखिपोट मैदानमा नाच प्रदर्शन गरियो। त्यसैगरी साकेला मनाउन राजधानीको टँुडिखेल, कीर्तिपुर, पुरानो ठिमी, कोटेश्व्ार, शंख्ापार्क आदि स्थानमा भेला भएर नाच्ने व्यवस्था मिलाइएको यायोक्खाका उपमहासचिव दिवस कोयु राईले बताए।
सांस्कृतिक पहिचान जोगाउन संस्थागत पहलमा साकेला नाचलाई व्यवस्थित रूपमा प्रदर्शन गरिएको किराँत माङखिम समितिले जनाएको छ। राई जातिको सामाजिक संस्था किराँत राई यायोक्खा, लिम्बूको किराँत याक्थुङ चुम्लुङ, याक्खाको किराँत याक्खा छुम्मा तथा सुनुवारको सुनुवार सेवा समाजले सामूहिक नाच प्रदर्शनको ब्यवस्था गरेका छन्।
विगतमा साकेला नाच्न निम्तो दिने अवस्था थियो भने अहिले समय फेरिएको छ। साकेलामा अन्य समुदायको सहभागिता पनि बढ्दै गएको छ।
विदेशमा बसेका किराँतीहरूले पनि साकेला मान्ने गरेका छन्। सरकारले २०५८ सालमा मंसिर पूणिर्मालाई किराँत चाड घोषणा गरेको थियो भने २०६४ सालमा वैशाख पूणिर्मालाई समेत किराँत चाड घोषणा गरियो।
धरानबाट सरिता पुमा राई लेख्छिन्- अहिले किराँत राईहरूको मुख्य चाड उभौलि साकेलाको रौनक छ। धरानका टोलटोल र चोकचोकमा साकेला नाचिएको छ। जताततै ढोल तथा झाम्टाको आवाज पनि गुञ्जिरहन्छ। राईहरूको चाड उभौलीमा युवायुवती, केटाकेटी, वृद्धा सबै जोसका साथ एक ठाउँमा भेला भएर नाच्छन्। साकेला नाच वर्षमा दुई पटक मनाइन्छ।
पहिलो उधौली मंसिर पूणिर्मामा उधौलीका रूपमा पाँच दिन मनाइन्छ भने दोस्रो उभौली वैशाख पूणिर्मामा १५ दिन मनाइन्छ। यसैगरी कटारीबाट ऋषि राई लेख्छन्- वैशाख पूणिर्माका अवसरमा शनिबार कटारीको गोलपार्क साकेलामय भयो। किराँत समुदायको बाहुल्यता रहेको कटारीमा पहिलो पटक सामूहिक साकेला उभौलीको आयोजना गरिएको हो। गएका वर्षहरूमा फरक-फरक समूहमा राईहरूले साकेला र सुनुवारहरूले चण्डी नाचे पनि यसपालि भने एकै ठाउँमा उनीहरूले साकेला उभौली मनाए।