आध्यात्मिक पुँजीको सही ‘मार्केटिङ’ गर्न सके नेपाल धनि बन्न सक्छ - स्वामी अरुण I

काठमाडौ असार १०,

काठमाण्डुस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले विश्वमा अध्यात्मप्रतिको चाहना बढिरहेको र आफुसँग रहेको आध्यात्मिक पुँजीको सही ‘मार्केटिङ’ गर्न सकेमा नेपाल पनि केही दशकभित्रै धनी मुलुक बन्नसक्ने बताए ।

मंगलबार बेलुकी बेलायतको स्लाउमा आयोजित एक सत्संगमा बोल्दै स्वामी अरुणले ध्यान शिविरहरु आयोजना गर्ने क्रममा आफुले बर्षेनी दर्जनौं मुलुकहरुको भ्रमण गर्ने गरेको र त्यहाँ मानिसहरुमा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा ध्यान पद्धतिहरुबारे ठूलो जिज्ञासा रहेका पाएको बताए । “हामीले यी विधाहरुको प्याकेजिङ गरेर विश्व मानचित्रमा नेपाललाई चिनाउनसके प्रशस्त विदेशी मुद्रा कमाउनुकासाथै रोजगारीको पनि सिर्जना गर्न सक्छौं,” स्वामी अरुणले भने । 

विश्वका विभिन्न असी मुलुकबाट विदेशीहरु ध्यान सिक्न तपोवन आइरहेका र ती मध्ये रुस, अमेरिका, फ्रान्स र जर्मनीबाट आउने साधकहरुको संख्या बढी रहेको पनि उनले जानकारी दिए। उपनिषदसँग तुलना गर्न मिल्ने संसारमा कुनै साहित्य नभएको बताउँदै स्वामी अरुणले भने, “तर नेपालीहरु आफुसंग भएको सम्पदाको महत्व नबुझेर र त्यसको सदुपयोग गर्न नसकेर गरीबीमा बाँच्न वाध्य भएका छन्।” 

गरीबी नै सबै समस्याको जड हो भन्नुहुँदै स्वामी अरुणले जलस्रोत र पर्यटनसँगै अध्यात्मको प्रचारप्रसार गरेर नेपाललाई समृद्ध तुल्याउनेतर्फ सबैले प्रयास गर्नुपर्ने धारणा व्यक्त गरे । एकप्रश्नको जवाफमा स्वामी अरुणले दिनहुँ पन्ध्र मिनट योग, पन्ध्र मिनट प्राणायाम र आधा घन्टा ध्यान गर्ने बानी बसाल्नाले जीवनमा आमूल परिवर्तन आउने सुझाव दिए । 

“खासगरी पश्चिमा मुलुकहरुमा सर्वसाधारण मानिसहरुलाई पनि थुप्रै भौतिक सुविधा उपलब्ध छन् तर उनीहरु राम्रोसँग निदाउन पनि सक्दैनन्। परिवारमा कलह, काममा तनाव र विषादमा लाखौं मानिसहरु बांचिरहेका छन् र धनी मुलुकहरुमा नै आत्महत्या गर्ने मानिसहरुको संख्या बढीरहेको छ। यी सबै समस्यको एकमात्र उपाय ध्यानको माध्यमबाट जीवन शैलीमा परिवर्तन ल्याउनु र सुखी एवम् सन्तुलित जीवन जीउने प्रयास गर्नु नै हो,” उनले भने । 

कार्यक्रममा बोल्दै बेलायतका लागि नेपाली राजदूत डा सुरेशचन्द्र चालिसेले भौतिक सुखसुविधासंगै मानिसले ध्यात्मको पनि अभ्यास गर्नुपर्ने र त्यसबाट मात्र सुखी जीवन बिताउन सकिने बताए । उनले पश्चिमा देशहरुमा मानिसहरुमा योग र ध्यानप्रति रुची बढदै गएकाले पूर्वीय मुलुकहरुले आफुसंग रहेको ज्ञान बांडेर संसारमा व्याप्त हिंसा र तनाव कम गर्न योगदान दिनुपर्ने सुझाव दिए । 

ओशो क्याम्प युकेद्वारा आयोजित उक्त सत्संगमा स्लाउस्थित एज एसिया रेष्टुरेण्टकी संचालिका मां अमृताले सबैलाई धन्यवाद दिए । झण्डै दुईसातासम्म वेल्स तथा लण्डनका विभिन्न स्थानहरुमा ध्यान शिविरहरु सन्चालन गरेपछि स्वामी अरुण बुधबार नेपाल फर्केका छन् । आउँदो जुलाईमा उनले अमेरिकाका विभिन्न शहरहरुमा ध्यान शिविर सन्चालन गर्ने कार्यक्रम रहको आयोजकहरुले जनाएका छन्।ओशोतपोबन :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com