१८ देखि २४ वर्ष उमेर समूहका अविवाहित युवतीहरूको आन्तरिक प्रतिभा प्रष्फुटनसागै शैक्षिक विकासका लागि राजधानीमा हुन लागेको 'तेस्रो मिस ग्लोबल इन्टरनेशनल २०१३' का लागि शनिबार पहिलो चरणको अडिसन सम्पन्न भएको छ ।
मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले आयोजना गर्न लागेको प्रतियोगिताका लागि लिइएकेा अडिसनमा ५५ युवतीको सहभागिता रहेको थियो । जसमध्ये दोश्रो चरणको प्रतिस्पर्धाका लागि ३० युवती छानिएका छन् । सहभागीलाई पूर्व मिस नेपाल माल्भिका सुब्बा र कन्सल्टेन्सीका प्रबन्धक मनोजकुमार जैसीले अडिसन लिएका थिए ।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख रूपैंयाँसहित विदेश पढ्न जानका लागि प्लेन टिकटको व्यवस्था गरिएको छ । त्यस्तै फष्ट रनरअपले ८० हजार रूपैंयाँ र सेकेण्ड रनरअपले ४० हजार रूपैयाँसहित एयर टिकट पाउनेछन् ।
आगामी साउन १२ गते राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा हुने फाइनल प्रतियोगिताका लागि शीर्ष उपाधिसहित वेष्ट वक, मिस फोटोजेनिक, मिस पर्सनालिटी, डिसिप्लिन, ट्यालेन्ट, वेष्ट स्किन, मिस पपुलर, मिस हेयर र मिस स्माइल उपाधि जित्न प्रतिष्पर्धा गर्नेछन् ।
साथै प्रतियोगितामा मिस मार्केटिङको टाइटल विजेताले २ लाख रूपैयाँसमेत प्राप्त गर्नेछन् ।
यस अघि सन् २०११ मा भएको पहिलो मिस ग्लोबल इन्टरनेशनलमा दिक्षा लामा विजेता भएकी थिइन् भने दोस्रो संस्करणमा प्रियङ्का भण्डारीले ताज चुमेकी थिइन् ।
-इकान्तिपुर: