इजिप्टको यात्रा नगर्न अमेरिकाले आफ्ना नागरिकलाई अपिल गरे I

वासिङ्टन असार १६,

अमेरिकाले आफ्ना नागरिकलाई इजिप्टको यात्रा नगर्न अपिल गरेको छ । त्यहाँ निरन्तर झडप भइरहेको हुनाले आकस्मिक सेवा बाहेकका कूटनीतिक कर्मचारी र उनीहरूका परिवारलाई समेत उक्त मुलुक छाड्न अमेरिकाले निर्देशन दिएको छ । अमेरिकी विदेश विभागले त्यहाँ रहेका आफ्ना अन्य नागरिकलाई सचेत रहन आग्रह गरेको छ । 

इजिप्टका राष्ट्रपति मुहम्मद मुर्सीका समर्थक र विपक्षीबीचको हिंसामा आफ्नो एक नागरिकसहित तिनको ज्यान गएपछि अमेरिकाले यो चेतावनी जारी गरेको हो । उक्त मुलुकको उत्तरी सहर अलेक्जान्डि्रया सहरस्थित मुस्लिम ब्रदरहुडको कार्यालयमा शुक्रबार विपक्षीले आक्रमण गर्दा दुई जनाको ज्यान गएको थियो । यो क्रममा उच्छृंखल भीडको तस्बिर खिचिरहेका एक अमेरिकी पनि मारिएका थिए । 

यो घटनामा दर्जनौं घाइते भएका थिए । राष्ट्रपति मुर्सीलाई समर्थन गर्ने ब्रदरहुडको मुलुकभरि आठ कार्यालय छ । राजनीतिक एवं सामाजिक अशान्ति मच्चिन सक्ने सम्भावनालाई ध्यानमा राखेर उसले नागरिकलाई गैरजरुरी भ्रमणका क्रममा इजिप्ट नजान भनेको हो । इजिप्टको राजधानी कायरो विमानस्थलमा त्यो मुलुक छाड्न लागेका यात्रुले भरिएको छ । युरोप, अमेरिका र खाडी मुलुकका उडानहरू यात्रुले खचाखच भरिएका छन् । 

अधिकारीहरूले यसलाई अनपेक्षित र अप्रत्याशित बताएका छन् । विपक्षीले मुर्सीलाई सत्ता छाड्न माग गर्दै आइतबार निकाल्ने विशाल र्‍याली योजना अगाडि त्यहाँ तनाव झनै बढेको छ । मुर्सीले आइतबार एकवर्षे कार्यकाल पूरा गर्दै छन् । समर्थकहरूले मुर्सीको वैधानिकतालाई स्विकार्दै विपक्षीको मागलाई अस्वीकार गरेको छ । राजनीतिक दल र त्यसका कार्यकर्ताले विरोध गरे पनि अधिकांश जनता मुर्सीकै पक्षमा देखिन्छन् । 

लामो समयदेखिको अस्थिरताले त्यहाँ इन्धनलगायत अति आवश्यक दैनिक उपभोग सामग्रीको अभाव भएकाले विपक्षी दलसँग जनता आक्रोशित छन् । राष्ट्रपति मुर्सीले यो विभाजनले मुलुकलाई ठप्प पार्ने चेतावनी दिइसकेका छन् । उनले विपक्षीसँग वार्ता प्रस्ताव पनि अघि सारेका छन्, जसलाई अस्वीकार गरिसकिएको छ । स्वतन्त्र एवं निष्पक्ष ढंगले भएको निर्वाचनबाट मुर्सीले सन् २०१२ को जुन ३० मा इजिप्टको प्रथम इस्लाम राष्ट्रपतिको पदभार सम्हालेका हुन.् । 

उनको पहिलो वर्षको कार्यकाल निरन्तरको राजनीतिक अस्थिरता र मुलुकको मन्द आर्थिक अवस्थाबाट गुज्रेको छ । राष्ट्रसंघका महासचिव बान कि मुनले शान्ति वार्ताको अन्तर्राष्ट्रिय सिद्धान्तको सम्मान गर्न इजिप्टेलीसँग आग्रह गरेका छन् । अमेरिकी विदेश विभागले पनि हिंसा हुन नदिनु राजनीतिक दलका नेताहरूको कर्तव्य भएकोमा जोड दिएको छ । - एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com