भोक मेटाउन किरा-फट्याङ्ग्रा खादै ओडारमा जीवनयापन चेपाङ्ग बृद्धा I

सिद्धि (चितवन), असार ३ ,

बिमल खतिवडा : अन्न अभावमा मान्छे भोकै बसेको त सुन्नुभएको होला । भोक मेटाउन मागेर भए पनि खान्छन् । तर भोक टार्नकै लागि मान्छेले किरा-फट्याङ्ग्रा खाएको खबर सुन्दा पत्याउन मुस्किल पर्ला । यहाँका ७२ वर्षीय हस्तबहादुर चेपाङ किरा फट्याङ्ग्रा बटुलेर खान्छन् । कसैले दिए अन्न पेटमा पर्छ । त्यो पनि थाल वा कचौरामा खाँदैनन् । 

भुइँमा पोखेर खान्छन् नत्र दिनभर किराफट्याङ्ग्रा बटुल्छन् र काँचै खान्छन् । उनको घर छैन । भीरको ओडारमा बसेको १५ वर्ष भइसक्यो । यिनको न परिवार छ न हेरचाह गर्ने आफन्त नै । चढ्न मुस्किल भीरको ओडारमा उनको बास छ । त्यहीं बसेर वषर्ा र हिउँद कटाउन बाध्य छन् । पानी पर्दा होस् वा घाम लाग्दा ओत लागेको चराजस्तो उनी ओडारमा हुन्छन् । झरी पर्दा रुझेर रात काट्छन् । पाइमाराङ खोलाको चट्टानमा बसाइँ सरेको ६ वर्षभन्दा बढी भयो । त्यसअघि सिद्धिकै वाकतालको ओडारमा बस्थे । त्यहाँको ओडार पहिरोले भत्काएपछि सरेका हुन् । 

उनले माथिल्लो ओडारमा ९ वर्ष बिताए । भोक मेटाउन किराफट्याङ्ग्रा खान्छन् । कहिले भोकै रात बिताउँछन् । साँझ पर्दा उनी रूखबिरुवा खोज्छन् । साथमा रहेको लौराले किरा मारेर जम्मा गरी काँचै खान्छन् । उनी काउले गाविसमा जन्मिएका हुन् । सानै छँदा घर छाडेर मजदुरी गर्न हिँडे । बुबाको नाम टिकुगुलु भए पनि उनलाई आमाको नाम थाहा छैन । आमाबुबा बिते । उनका चार वटी दिदी र १ भाइ पनि रहेनन् । उनी एक्लो बने । 'आफ्नो घर छैन, परिवार छैन,' ओडारमा रहेका हस्तबहादुरले भने, 'एक्लो जीवन ओडारमै कटाइरहेको छु ।' 

उनले खाने अन्न्ा नहुँदा किरा मारेर खाने र धेरै भोक लाग्दा घाँस खाने गरेको बताए । उनी हतपत ओडारबाट टाढा जाँदैनन् । उनको ओडारमा चुलो छैन । पकाउने भाँडाकुँडा छैनन् । लाज छोप्न पुराना र टालेका लुगा छन् । त्यसैले राति वरिपरि थोत्रा लुगा थुपारेर सुत्छन् । ओडारबाट लडे खोलामा पुगिन्छ । उनी लौरो, थोत्रो छाता र झोला भिरेर ओडार वरिपरि घुम्छन् । उनको ओडार नजिक घर छैन । पूरै शरीरमा मयलका टाटा छन् । अहिलेसम्म नयाँ लुगा फेरेका छैनन् । उनले लगाएको रातो सर्ट मैलिएर कालो भएको छ । खुट्टा र हात मयलले काला छन् । 

ओडारमा बसेदेखि पूरा पेट खान पाएका छैनन् । 'परिवार बिते, म पनि एक्लो बनें, घर छैन,' उनले भने, 'अरूको घरमा आश्रय लिएर दुःख पाउनुभन्दा भोकै ओडारमा बस्न जाती ।' दिउँसो ओडारभन्दा केही दूरीको खोरियाका मकै रुग्ने गर्छन् । स्थानीय शेरबहादुर चेपाङको मकै रुग्ने गरेकाले त्यसबापत कहिलेकाहीं खोले ल्याएर दिन्छन् । खोले उनी थाल वा बटुकीमा खाँदैनन् । 

भुइँमा पोखेर माटोमा मिसाएर खान्छन् । 'उनका कोही छैनन्, एक्लै ओडारमा बस्छन्,' स्थानीय शेरबहादुर चेपाङले भने, 'त्यसैले मेरो घरमा मकै पिठो भएको दिन ल्याएर दिन्छु, नहुँदा उनी किरा खाएर बस्छन् ।' उनी कसैले आफ्नै नाममा गाउँमा टहरो बनाइदिए बस्ने बताउँछन् । भीरमा बस्ने भएकाले हतपत उनलाई गाउँलेले समेत देख्दैनन् । 'खान नपाएको धेरै वर्ष भयो,' उनले भने ।(इकान्तिपुर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com