वसन्तिको अचार विदेश सम्म I

काठमाण्डौ असार ५,

भनिन्छ, रात रहे अग्राख पलाउँछ । यो उखान ठ्याक्कै मिलेको छ-बुटवलकी व्यवसायी वसन्तीसँग । उनी सानैदेखि मीठो अचार बनाउँथिन् । बर्मामा जन्मिएर जीवनका र्ऊवर समय भारतको मेघालयमा बिताएकी वसन्ती खत्री -६३ वर्ष) को सीपले २० वर्षअघि मात्र प्रस्फुटन हुने अवसर पायो, त्यो पनि छिमेकीले दिएको हौसलाले । 

उनले बनाएको अचारका पारखी छिमेकीहरूले अचार बनाएर बेच भनेर कर गर्न थालेपछि सुरुमा ५० रुपैंयाँको सामग्री किनेर अचार बनाउन थालिन् । जसलाई सालको पातमा पोको पारेर २ देखि ५ रुपैयाँ प्रतिपोका बेच्न थालिन् । यसरी थालेको वसन्तीको अचार व्यवसाय अहिले विदेशसम्म फस्टाएको छ । बुटवल शिवनगरमा वसन्ती अचार उद्योगका नामबाट अचार उद्योग संचालन गरेकी वसन्तीले मासिक करिब ८० क्विन्टलसम्म अचार बनाउँछिन् । 

वसन्तीले अचार बनाउन ११ जना पूर्णकालीन र ७ जना अल्पकालीन गरी १८ जना कामदार राखेकी छिन् । पोखराका होटलहरूमा मात्र मासिक २८ क्विन्टल अचार जाने वसन्ती बताउँछिन् । उनी दिनको १६ घन्टा अचार बनाउन व्यस्त रहन्छिन् । 'अचारकै कारण पैसा, प्रतिष्ठा र प्रशंसा पाएँ । आजसम्म मैले जेजति पाएँ, अचारबाटै पाएँ ।' वसन्तीले भनिन्-'त्यसैले अचार बनाएर म थाक्दिन ।' अचारको व्यवसाय मात्र होइन प्रशिक्षणमा पनि व्यस्त छिन् वसन्ती । उनले अहिलेसम्म विभिन्न क्षेत्रका ५ सयजति महिलालाई अचार बनाउन औपचारिक प्रशिक्षण दिएकी छिन् । 

उनी भन्छिन्-'मात्र लगनशीलता र चाहना हुनुपर्छ, प्रगति गर्न गार्‍हो छैन ।' वसन्ती यही कामकै कारण विभिन्न संघसंस्थाबाट सम्मानित भएकी छिन् । राष्ट्रिय महिला उद्यमीका रूपमा नेपाल सरकारले सम्मान गरेको छ । उद्योग वाणिज्य महासंघ, महिला विकास कार्यालय, रोटरी क्लब तथा उनी सहभागी भएका सबैजसो राष्ट्रिय मेला तथा प्रदर्शनीले पनि उनलाई उत्कृष्ट उद्यमीका रूपमा पुरस्कृत गरेका छन् ।   अमृता अनमोल (नारी)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com