अङ्गालो भरीको घाम
–दाजु गुरुङ , हङकङ
सुखद पर्खाइ पछिको
एउटा मध्यान दिन
घाम सँगको सोंझो सहवासमा
समुन्द्र आफ्नो छाँया आफै हराईरहेछ ।
वैंशले उन्मुक्त तन्नेरी घाम
आगाका लप्काहरु ओकल्दै चुनौती दिइरहेको वेला
तरलित वन्दै समर्पित भइरहेछ समुन्द्र ,
अलि कति वैंशको उन्मादले
अलि कति पर्खाइको थकाईले
र अलि कति वैशालु सहवासको अधैर्यताले ।
अनि वगाईदिन खोजीरहेछ तृष्णा
र तृप्तिका समर्पणको वाढीले घामलाई
डुवाईदिन खोजीरहेछ आफै भित्र भित्र घामलाई
मनको चहाना भरी
छाती भरी , अँगालो भरी
र त समुन्द्र घाम भैरहेछ
घाम समुन्द्रमा हराइरहेछ ।
निर्वन्धन आकाश भित्र
कुनै अनिर्णयाक युद्वमा सामेल
सुसज्जित योद्वा जस्तो घाम
क्रमस तातिदै तातिदै गईरहेछ ,
अलि कति तन्नेरीपनले
अलिकति पे्रयसीको आत्मिक न्यानोपनले
र अलिकति पुरुषोत्वको अहंमताले
आगो ओकलीरहेछ घाम
किन की सामुन्ने खुल्ला संसर्गको निमन्त्रण सम्प्रेषण सँगै
समर्पणमा लम्पसार परिहेछ समुन्द्र
घामलाई तरलित वनाउने मनशायले ,
तर आगमनको दस्तकले
उनलाई पगाल्ने मन भित्र भित्रै आफै पग्लदै गइरहेछ
एउटा चरम सन्तुष्टिको प्रहरमा ।
समुन्द्र निरन्तर माथि हेरीरहेछ
अन्तर्मनलाई साक्षी राखी घामलाई अंगालो भरी वाँधेर
अनि सम्झिरहेछ प्रियतमका प्रेमिल यात्राहरु
भञ्झ्याङ चौतारी डाडा – काडा उकालीहरु
वदल सँग लुकामारी खेल्दै हिड्ने गोरेटोहरु
र गुनिरहेछ ,हतारिदै आएको प्रेमी ओरालो झर्ने वाटाहरु
डाडा–काडा चौतारी भञ्झयाङ र ओरालीहरु
गुनिरहेछ , गुनिरहेछ –
अलिकति स्नेहले
अलिकति समयको पावन्दीले
र अलिकति वियोगको पिडनले
र त निरन्तर घाम हेरीरहेछ समुन्द्र
निरन्तर समुन्द्र हरीरहेछ घाम
एउटा सुखान्त दुखान्तका दैनिक पलहरु ।
समर्पित सागर
समपर्णमा निरन्तर फैलीरहेछ
गोलाद्र्वको एउटा किनार देखि अर्को किनार सम्म
अनि , मुटु काप्ने हिमपातका कहाली लाग्दा रातहरु
कहिले आगो फूल्ने ताता लाभाहरु
निथ्रुक्क रुझाईदिने झरी वादलहरु
र समय असमयका ताडन प्रतिताडनहरु / घात प्रतिघातहरु
समुन्द्र सहि दिन्छ ,सहिरहेछ
र सदियौं देखि सहदै आइरहेछ
अंगालो भरी घामको लागि
र त घामको आगमन सँगै ताती दिन्छ
गमन सँगै चिसीदिन्छ
तातीए पनि चिसीए पनि
सधै सधै स्थिर छ निश्चल छ समुन्द्र ।
सायद घाम भएर समुन्द्र छ ,
सवैलाई एउटा पूर्ण घाम चाहिदो रहेछ
अनि जीवनमा आफ्ना आफनै घाम हुदोरहेछ
अंगालो भरीको घाम ।