Interview : ‘निजी क्षेत्रका अस्पतालमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’


कुमार थापा
अध्यक्ष, अल्का अस्पताल, जावलाखेल, ललितपुर

स्वास्थ्य  क्षेत्रमा  तपाई कहिले प्रवेश गर्नुभयो ?
 म पहिलोपटक औषधि पसलबाट यस क्षेत्रमा प्रवेश गरेको हुँ । २०३७ सालमा मैले औषधि क्षेत्रमा काम शुरू गरेँ । स्वास्थ्य सेवामा लागेको २०४६ सालदेखि हो । शुरूमा जावलाखेलमा आफ्नै औषधि पसल स्थापना गरेको थिए  । २०५७ सालमा पोलीक्लिनिक हँुदै २०६२÷/६३ सालदेखि अल्का अस्पताल सन्चालन गर्दै आइरहेको छु ।

अस्पतालमा लगानी गर्ने सोच कसरी आयो ?
 स्वास्थ्य क्षेत्रमा यति धेरै लगानी गर्छु भन्ने सोच बनाएको त थिइनँ तर विस्तारै काम गर्दै जादा आफ्नो मनोवल पनि बढ्दै गयो । सबैवाट हौसला पनि पाएँ । विशेषगरी जावलाखेल र पाटनका जनताको विश्वासले गर्दा म सफल भएको हुँ । अर्को कुरा अस्पतालमार्फत् समाज सेवा गर्ने उद्देश्यले पनि अस्पताल सञ्चालन गरेको हँु ।

अस्पताल सफलरूपमा संचालन गर्नु भएको छ, यसका आधार के के हुन् ?
 मेरा शेयर होल्डर साथीहरु, चिकित्सक, कर्मचारी र ललितपुरबासीबाट पाएको साथले गर्दा नै मैले सफलता हाँसिल गर्न सकेको हँु जस्तो लाग्छ । मैले मात्र एक्लै गरेर सफलता मिलेको होइन । म शुरुवातदेखि नै अस्पताल विकासका लागि निरन्तर समर्पित छु । अस्पतालका हरेक समस्यालाई मैले नजिकबाट नियाल्दै समाधानका लागि अधिकतम प्रयास गरेको छु । कामप्रति लगाव, समर्पण र भक्तिभाव राख्ने हो भने सफलता हाँसिल गर्न कठिन हुन्छ जस्तो मलाई लाग्दैन । मैले अस्पताललाई मात्र एउटै लक्ष्य वनाई अन्य क्षेत्रमा हात हालिनँ । म निरन्तर अस्पतालको विकासमा मात्रै खटिरहेँ । त्यसैले पनि अस्पतालबाट सफलता हाँसिल गर्न सकेको हँु ।

अस्पताल सन्चालनका चुनौती के–के देख्नु भएको छ ?
 अस्पताल सञ्चालन गर्न निकै चुनौतीपूर्ण र कठिन छ । बिरामी पक्षबाट कुनै जानकारी बिना  आउने नकारात्मक सोच अहिलेको प्रमुख चुनौती हो । यस्ता समस्या सधैं नआउन पनि सक्छन् तर बिरामीवाट उनीहरुको स्वार्थ अनुकुल काम हुन नसक्दा र कुरै नवुझी आकस्मिक रुपमा समस्या ल्याउनु  दुखद पक्ष हो ।
 व्यवस्थापनको कुरा गर्दा साझेदारीमा नै  गर्ने हो । साझेदारीमा गर्दा शुरुमा सबैले सहमत जनाउने र पछि काम गर्दै जाँदा सानो सानो कुरामा सम्बन्ध चिसिँदै जानसक्छ । यस्ता कुराले  अस्पताल सन्चालनमा झनै  कठिनाई उत्पन्न हुन जान्छ । अर्को कुरा चिकित्सकहरु पनि एक ठाउँमा मात्रै केन्द्रित नभएर विभिन्न ठाउमा काम गर्ने भएकाले पनि धेरै समस्या उत्पन्न भइरहेको हुन्छ । त्यसैगरी सरकारको स्वास्थ्य नीति पनि अस्पताल मैत्री हुन नसक्दा थप समस्या भइरहेको छ

सरकारी नीति र कार्यक्रम कस्तो हुनुपर्छ त ?
 सरकारको स्वास्थ्य नीतिमा परिमार्जन गर्नुपर्ने देखिन्छ । सरकारले पूर्णरूपमा निजी अस्पतालमैत्री नीति ल्याउनुपर्छ । सरकारी नीति प्रभावकारी नभएकाले विशेषज्ञ चिकित्सक  विदेश पलायन हुनु परिररहेको दुखद अवस्था छ । त्यसैले सरकारले विदेशमा पलायन हुनबाट रोक्न नीतिमार्फत् पहल गर्नुपर्छ । चिकित्सकहरुले न्युन पारिश्रमिकमा पनि सेवा पु¥याइरहेको अवस्थामा उनीहरुलाई सरकारी स्तरबाटै प्रोत्साहन पनि गरिनुपर्छ । चिकित्सकहरु राम्रो विशेषज्ञ वन्नका लागि १० देखि १५ वर्षसम्म समय खर्चिनुपर्ने र सोही अनुसार ठुलो धनराशी पनि खर्च हुने भएकाले उनीहरुबारेमा सरकार संवेदशनशील हुन जरुरी छ ।

अस्पताल सन्चालनका लागि व्यवस्थापनको कस्तो भूमिका रहनु पर्छ ?
 अस्पताल संचालन गर्नु भनेको अन्य कुनै व्यवसाय चलाउन जस्तो सहज छैन । अस्पताललाई प्रत्यक्ष निगरानीमा राख्नुपर्ने हुन्छ । व्यवस्थापनले चिकित्सक,  बिरामी र कर्मचारीका समस्यालाई तुरुन्तै सम्बोधन गर्नुपर्ने हुन्छ । बिरामीको समस्या त कुनै पनि बेला आउने समस्या हो ।

तपार्इंका साझेदारहरु तपाईंबाट अलग्गिनुको कारण के होला ?
 व्यवस्थापनसँग सम्बन्ध राम्रो नहुनुमा उहाँहरुको भिन्न बिचार नै हो । यहाँबाट काम सिक्ने र अन्यत्र काम गर्ने मनोवृत्ति पनि यसको कारण हो । यहाँ काम गरेर यसैलाई राम्रो गरौ भन्ने बिचार नै थिएन उहाँहरुको । उहाँहरू निश्चित उद्देश्य पूर्तिका लागि आउनुु भएको रहेछ र यहाँबाट सिकेर यस्तै व्यवसाय सञ्चालन गर्नु भएको छ । तर पूर्ण ज्ञानको अभाव भने उहाँहरुमा देखिन्छ । किनकि मेरो यस क्षेत्रमा २५ वर्षको अनुभव छ, उहाँहरुको दुई तीन वर्षका अनुभवमा त कुनै तुलना नै हुँदैन । फेरि उहाँहरुले यही व्यवसायलाई केन्द्रविन्दु वनाउन सक्नु भएको छैन । यसमा मलाई कुनै गुुनासो छैन । तर यस क्षेत्रमा व्यवसाय गरेकाले स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

तपार्इंको भावि योजना के छ ?
 अल्का अस्पतालको  स्थापना देखि नै मैले अस्पतालका शाखा ७५ जिल्लामै १५ देखि २५ शैयाका अस्पताल संचालन गर्ने योजना वनाउँदै आएको छु । यसमा मलाई फाइदा चाहिँदैन । त्यहाँका जनताले स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने मेरो उद्देश्य हो । मेरो अर्को योजना भनेको  मेडिकल कलेज स्थापना गर्ने पनि छ ।
[ स्वास्थ्य खबर ]

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com