काठमान्डू बैशाख २९,
गोपाल सिवा : छोरा बुहारी द्धारा ६ महिनाअघि सडकमा फालिएकी आमाले आइतबार घर पाएकी छन्। धापासी, बसुनधारामा रहेको पवित्र समाज सेवा नेपालकी अध्यक्ष दीक्षा चापागाईँले आइतबार बिहान
कालिमाटी प्रहरीको सहयोगमा कालिमाटी माली आय स्टोरअघिको सडक पेटिकी बेवारिसे आमालाई
आफूसँगै लगेकी हुन्।
वैशाख २७ मा नागरिक दैनिकमा प्रकाशित'छोराबुहारीले नै ल्याएर छाडिदिए सडकमा' शीर्षक समाचार पढेपछि आमाले पाएको दुःखले दीक्षालाई पिरोलेकाले ती आमालाई आफ्नो आश्रममा लगेर पाल्ने सोचसहित आइतबार लगेको सुनाइन्। 'पहिले त आमा बोल्न र जान्न मान्नुभएको थिएन,' दीक्षाले नागरिकसँग भनिन्, 'जब आमाअघि बसेर कुरा गर्दा मेरो आँखाभरि आँसु आयो।' '
अनि मैले भने आमा म तपाईँकी छोरीजस्तै हुँ, हिन्नुस् म तपाईँको सेवा गर्छु। अनि बल्ल आमा तयार भइन्,' उनले भनिन्। आश्रममा ल्याउनसाथ आमालाई पहिले दीक्षाले कालो चिया पिउन दिइन्। त्यसपछि आमाले डेढ वर्षदेखि आफू ननुहाएको दुखेसो गरिन्। अनि दीक्षाले आमालाई नुहाइदिएर कपाल र हातखुट्टाको नङ काटिदिइन्। आमालाई नयाँ सारी पहिराएपछि त उनको अनुहार रभेषभुषानै नयाँ देखियो।
विगत १० वर्षदेखि दीक्षाले ३२ असाहय बालबालिकाको पवित्र समाजमा पालनपोषण, स्याहार सुसार र शिक्षा दिक्षाको ब्यवस्था गर्दै आएकी छन्। २० वर्षको उमेरमै समाज सेवामा लागेकी दीक्षाले आमाको नाम भगवानभन्दा पहिले आउने भएकाले कुनै पनि सन्तानले आमालाई यस्तो पीडा नदिउन् भन्ने कामना गरिन्।