आन्दोलन गरिरहेका विद्रोहीले खसाले लडाकू विमान

२५ वैशाख

सिरियामा राष्ट्रपति बसार अल असाद विरुद्ध आन्दोलन गरिरहेका विद्रोहीले सिरियाको उत्तरी प्रान्त आलेप्पोमा एक लडाकू विमान खसालेका छन् । सिरियाली आन्दोलनको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर हृयुम्यान राइट्सले दिएको जानकारी अनुसार आलेप्पोमा एक लडाकु विमानलाई विद्रोहीहरूले खसालिदिएका छन् ।

विगत दुई महिनादेखि आलेप्पो प्रान्तको विभिन्न क्षेत्रमा सिरियामा आन्दोलन गरिरहेका विद्रोही र सैनिकबीच सङ्घर्ष चलिरहेको छ । त्यसैगरी, सिरियाको दक्षिणी प्रान्त दारामा पनि सैनिक र विद्रोहीबीच झडप भएको बताइएको छ । सरकारी सेनाले आक्रमण गरेपछि विद्रोहीहरुले पनि त्यसको प्रतिकार गरेको बताइएको छ । मानवअधिकारवादीहरुले उक्त आक्रमणमा कयौको हताहति भएको बताएपनि के कति क्षति भएको छ भन्ने बारे कुनै यकिन विवरण आउन सकेको छैन् ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको आन्दोलनका क्रममा कम्तीमा पनि ७० हजार नागरिकको ज्यान गएको संयुक्त राष्ट्रसंघले हालै जनाएको छ । राष्ट्रपति असादको राजिनामाको मागगरी सुरु भएको सो आन्दोलन हाल आएर हिंसात्मक बनिरहेको छ । यसको शान्तिपूर्ण समाधानका लागि अहिलेसम्म कुनै प्रभावकारी कदम भने कतैबाट पनि आएको छैन ।एजेन्सी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com