काठमाण्डौ बैशाख २७,
पिटी लोप्चन (नेपाल): नाम्चे गुम्बामा १२ वर्षअघि आगलागी हुँदा बहुमूल्य सामग्रीहरू नष्ट भए। त्यस बेला गुम्बा व्यवस्थापन समिति अध्यक्ष थिए, लाक्पा डोमा शेर्पा, ६०, का पति। गुम्बाको सहायताका लागि लाक्पा डोमाले अगुवाइ गरनि्। त्यस कार्यमा अभूतपूर्व एकता महसुस गरेपछि उनकै अध्यक्षतामा गठन भयो, आमा समूह।
त्यसयता उनी नाम्चेको विकाससँग कुनै न कुनै रूपमा गाँसिएकी छन्।
आमा समूहले गुम्बा, अस्पताल तथा बाटोघाटो निर्माणमा ठूलो योगदान दिएको छ। समूहले देउसी, ल्होसार र पुलुकमा जम्मा गरेको रकमले लार्जे दोभानलगायत विभिन्न ठाउँ जाने पर्यटकीय पदमार्ग निर्माण तथा मर्मत गरेको छ। समूहले आर्थिक अवस्था कमजोर भएका महिलालाई पनि सघाउँदै आएको छ।
लगातार १२ वर्ष भयो, लाक्पा डोमाले अध्यक्षका रूपमा समूहलाई नेतृत्व दिँदै आएको। सफल नेतृत्वकर्ता र कुशल संगठकका रूपमा उनी नाम्चेभरि कहलिएकी छन्। उनले नेतृत्व हस्तान्तरण गर्न चाहँदासमेत अन्य सदस्य जिम्मेवारी लिन तयार भएनन्।
भन्छिन्, "मैले धेरैपटक पद त्याग गर्न चाहेँ तर कसैले इच्छा देखाएनन् ।"
सामाजिक मान्यता पाएर नाम्चेकै विकासमा तल्लीन नाम्चे आमा समूह एक वर्षअघि मात्र नाम्चे महिला समूहको नामले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा दर्ता भएको छ। दर्तासँगै समूहमा अहिले ५१ जनाभन्दा बढी सदस्य छन्।
सुरुका वर्षमा भौतिक विकासलाई केन्द्रविन्दु बनाएर बाटोघाटो, पुलपुलेसा, गुम्बा तथा अस्पताल निर्माणमा ध्यान दिएको समूह अहिले सिर्जनात्मक कार्यतिर केन्दि्रत भएको छ।
समूहले खुम्बुलाई काटमार निषेधित क्षेत्र बनाएको छ। जोरसल्लेभन्दा माथिको क्षेत्रलाई पशुपन्छी काटमार निषेधित क्षेत्र घोषणा गरिएको हो। त्यस क्षेत्रमा काटमार गरेको भेटिएमा १० हजारदेखि १५ हजार रुपियाँसम्म जरिवाना तिराइन्छ। खुम्बु क्षेत्रमा जोरसल्लेभन्दा तल्लो क्षेत्रबाटै पशुपन्छी वध गरी लैजाने गरिएको छ। लाक्पा डोमा भन्छिन्, "आगो फुक्दा, जथाभावी दिसापिसाब गर्दा यहाँको वातावरणमा नकारात्मक असर पर्ने भएकाले अब यससम्बन्धी पनि नियम बनाउँदै छौँ।"
झैझगडाका कारण सामाजिक एकता बिग्रने भएकाले मादक पदार्थ बिक्री गर्ने पसलहरूलाई राती ९ बजेपछि बन्द गराउने तरखर भइरहेको छ। नाम्चे महिला समूहका सदस्यहरूले अहिले मासिक एक सय रुपियाँ उठाउँछन्, जुन नाम्चेकै विकासमा खर्च हुन्छ। नाम्चेको समग्र विकासका लागि समूहलेे नाम्चे युवा समूह, सगरमाथा पोलुसन कन्ट्रोल कमिटी, सामुदायिक प्रहरी, रेडक्रस सोसाइटी, इलाका प्रहरी तथा सगरमाथा राष्ट्रिय निकुञ्जजस्ता संघसंस्थासँग समन्वय गररिहेको छ।
दुईपटक जर्मनी र एकपटक अमेरिका भ्रमण गरसिकेकी लाक्पा डोमालाई अमेरिका भन्दा नाम्चे नै प्यारो लाग्छ। जाडो छल्न एक-दुई महिना काठमाडौँ जाँदासमेत आफूलाई नाम्चेकै हावापानीले बोलाइरहेझैँ लाग्दो रहेछ उनलाई। बाँचुन्जेल नाम्चेमै बस्ने र नाम्चेकै विकासमा क्रियाशील रहने उनको अठोट छ। भन्छिन्, "जति जति उमेरले पाको बनाउँदै लगेको छ, उति उति सामाजिक सेवामा पाखुराहरू दह्रो बन्दै गएका छन्।"