उनि ....

काठमाण्डौ बैशाख २०,

अस्विनी कोइराला : एकाबिहानै लंगौटिया साथी शिशिर मेरो घर आइपुग्यो। उसको अनुहारमा जीवनमा पाएको सफलताको उत्साह थियो। पहिरन र भावभंगिमाले व्यक्त गरिरहेको थियो, उसले प्रसस्त पैसा कमाएको छ। म ओच्छानमै थिएँ। उ मेरै छेऊमा बस्यो। 

चिया पिउने क्रममा उसले सानामा हामी हास्दै-खेल्दै कक्षा १० सम्म पढेको सम्झना गर्‍यो। हिजोका दिनमा मैले गरेको सहयोग एवं मित्रताका लागि हार्दिक आभार पनि व्यक्त गर्‍यो। उसले मेरी छोरीका लागि केही मिठाइ पनि ल्याएको रहेछ। एकछिन् छोरीसँग पनि केटाकेटी भाकामा कुरा गर्‍यो। यति लामो बिछोडपछि उसले देखाएको आत्मियताले मलाई साह्रै आनन्द दिइरहेको थियो। केही क्षणपछि उसले जाने तरखर देखायो। हिँड्ने बेलामा उसले उपहार भन्दै एउटा प्याकेट मेरो हातमा हाल्यो। 

ऊ बाहिर निस्किएपछि मैले प्याकेट खोलें। प्याकेटमा निकै महँगो देखिने कश्मीरी रेसमको ओढ्ने थियो। त्यसलाई फैलाउन खोज्दा एउटा चिट प्याकेटबाट खस्यो। चिटमा लेखिएको थियो, 'तिमीले अप्ठारो बेलामा मेरो परीक्षाको सय रूपैयाँ शुल्क तिरिदिएका थियौं। यत्रो वर्षपछि त्यो सय रूपैयाँ फिर्ता गर्न आँट आएन। त्यसको साटो यो सानो उपहार दिएको छु, स्वीकार गर।' मैले पुरानो कुरा सम्भिmएँ। हो, मैले सय रूपैयाँ फि तिरिदिएको थिएँ तर त्यो पैसाका लागि मैले आमाको बाकसबाट ५ सय चोरेको थिएँ। 

त्यतिबेला बाकसबाट चोरिएको पैसाले सिनेमा हेरिएको थियो, चटपटे खाइएको थियो। त्यही दिन उसले फि तिर्न समस्या भएको कुरा सुनाएपछि मैले बाँकी रहेको सय रूपैयाँ उसलाई दिएको थिएँ। मैले त्यो कश्मीरी ओढ्ने आमालाई दिनु उपयुक्त सम्भिmएँ जब मैले आमालाई त्यो ओड्ने दिएँ, त्यो पल्टाइ-पल्टाइ गर्दै आमा झन्डै-झन्डै रुनुभयो। कारण थियो¬- मेरो आफ्नै हातले मैले अहिलेसम्म आफ्नी आमालाई कुनै उपहार दिएको रहेनछु।[साप्ताहिक]

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com