पर्वत,वैशाख ३,
धौलागिरि क्षेत्रको वृहत भेलाबाट मूल समिति बन्यो :
बहुचर्चित कुश्मा–नेपाने मोटरेवल पुलको डिटेल सर्भे सम्पन्न भए लगत्तै पर्वत र बागलुङका उपभोक्ताहरुको वृहत भेलाले पुलका परिकल्पनाकार मेघनाथ शर्मा पौडेलको अध्यक्षतामा “कुश्मा–नेपाने कालीगण्डकी मोटरेवल पुल निर्माण उपभोक्ता मूल समिति गठन गरेको छ । हालै शिवालय तथा बलेवामा भएका दुई चरणका भेला पछिको संयुक्त भेलाले पौडेलको अध्यक्षतामा सर्वसम्मत मूल समिति चयन गरेको हो ।
नवगठित समितिको बरिष्ठ उपाध्यक्ष कमलनाथ पोख्रेल (शिवालय), उपाध्यक्ष यमबहादुर के.सी. (नारायणस्थान), सचिव राजु पौडेल (शिवालय), कोषाध्यक्ष विषमकुमार श्रेष्ठ (शिवालय), सहकोषाध्यक्ष नेत्र पराजुली (शिवालय), सहसचिव कविराज बस्नेत (नारायणस्थान) रहनु भएको छ भने सदस्यहरुमा क्रमशः दलबहादुर खड्का (अमलाचौर), एकनारायण चालिसे (शिवालय), प्रनिश गिरी (शिवालय), रामप्रसाद आचार्य ‘अमिन’ (शिवालय) नारायण शर्मा (अमलाचौर),गणेशबहादुर भण्डारी (शिवालय),चक्रबहादुर खत्री (नारायणस्थान), नरेश शर्मा (नारायणस्थान), कोपिला खड्का (नारायणस्थान), टिकाराम पाठक (पैयुंपाटा),चित्र सापकोटा (अमलाचौर) र खगेश्वर पाठक (अमलाचौर) रहनु भएको छ । साथै पुल निर्माण कार्यलाई चुस्त रुपमा अघि बढाउनका लागि एक सल्लाहकार समिति गठन गरिएको छ ।
सल्लाहकार समितिमा पूर्व शिक्षा मन्त्री दिननाथ शर्मा, प्रधानमन्त्रीका भूपू सल्लाहकार देवेन्द्र पौडेल, एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रामजीप्रसाद शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सभासद अर्जुनप्रसाद जोशी, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी एमाओवादीका केन्द्रीय सदस्य नेत्र अधिकारी ‘हिमाल’, केन्द्रीय सदस्य मानबहादुर बुढा, नेकपा एमाले अञ्चल कमिटी सदस्य मेघनाथ सुवेदी र नेपाली कांग्रेस बागलुङका सभापति प्रकाश शर्मा रहनु भएको छ ।
समितिले पुल निर्माणका लागि आवश्यक सहयोग गर्न विभिन्न उपसमितिहरु समेत गठन गर्न सकिने जनाएको छ ।
चैत्र २९ गते सार्वजनिक गरिएको डिटेल सर्भेको प्रतिवेदन अनुसार यो पुल निर्माण गर्न करीव एक अर्व २९ करोड लाग्ने बताइएको छ । मोटरेवल पुल निर्माण प्रक्रियालाई सहयोग गर्दै आउनु भएका इञ्जिनियर सुशिलबाबु रेग्मीका अनुसार यो नेपालमै पहिलो पटक अध्ययन र सर्वे गरिएको हो । छिमेकी मुलुक चिनमा करीव १२ सय मिटर लामा पुल एउटा पहाडबाट अर्को पहाडमा जोड्ने गरी बनिसकेको र आफूहरुले सो प्रविधि हेरिसकेको तथा नेपाल भित्र्याउन उत्सुक रहेको बताउनुभयो ।
उहाँले प्रविधि चिनिया हो, नेपालमा यस्ता पुलहरु भित्र्याउन सरकार समेत सकारात्मक रहेको आफूले पाएको बताउनुभयो ।
यस विषयलाई औपचारिक तथा अनौपचारिक रुपमा राजनीतिक वृत्तमा, सरकारर चिनिया पक्षसँग समेत विभिन्न चरणका छलफलहरु भइसकेका छन् भने एमाओवादी अध्यक्ष प्रचण्ड चिन जाँदा समेत यस पुलको विषयमा प्रस्ताव भइसकेको छ ।
यस अघि दुई चरणका प्रारम्भिक सर्भे सकिए लगत्तै केन्द्रबाट समाजसेवी बलेवा अमलाचौर निवासी मेघनाथ शर्मा पौडेलको नेतृत्वमा इञ्जिनियर निरञ्जन ताम्राकार र सकिल मानन्धर लगायतको टोली आई एक हप्ताको स्थलगत सर्भेक्षण सम्पन्न गरिएको थियो ।
यस विषयमा राजनीतिज्ञ, सरकारी निकाय तथा चिनिया पक्षसँग विभिन्न चरणका छलफलहरु भइरहेको र सरकारको तर्फबाट चिनिया सरकार सहयोग गर्न तयार रहेको आश्वासन आफूले पाएको निर्माण समितिको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो – धौलागिरि क्षेत्रकै एकीकृत विकासका लागि कुश्मा–नेपाने मात्र नभई कुश्मा–ज्ञादी, कुश्मा–मुडिकुवा, फलेवास–कैया, पाङ–बागलुङ लगायतका ठाउँमा समेत यो प्रविधि भित्र्याउन सबै राजनीतिक दलले साझा पहल गर्नुपर्ने बताउनु भयो ।
उहाँले कालीगण्डकी नदीका कारण दुई भागमा विभाजित यो भ्यालीलाई एकीकृत भ्यालीको रुपमा विकास गरी साझा विकासमा जुट्नुको विकल्प नभएको बताउनुभयो ।
यसमा सबै राजनीतिक दल, सामाजिक संघसंस्था तथा व्यक्तिहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग पाउने अपेक्षा आफूले लिएको बताउनुभयो ।
यो नयाँ प्रविधि र नेपालमै पहिलो पुल भएकाले सम्बन्धित विभाग र सिनियर इञ्जिनियहरु समेत उत्सुक र जागरुक रहेको बताइएको छ । पुल निर्माण पछि कुश्माबाट सिधै एक मिटेनमा गाडी वारपार हुनेछन् भने नेपानेमा प्रस्तावित पोलिटेक्निक इन्टिच्यूट तथा बलेवा विमानस्थल संचालनमा समेत सहयोगी हुने अपेक्षा गरिएको छ ।
पुल निर्माण पछि बलेवा क्षेत्रलाई बागलुङ कुश्माको बैकल्पिक व्यापारिक केन्द्रका रुपमा विकास गर्न र कुश्मा तथा बागलुङलाई नेपालकै पहिलो पर्यटकीय गन्तव्य बनाउँदै यहाँको जीवनस्तर माथि उकास्न सकिने छ । बागलुङ पुलैपुलको जिल्ला भनेर चिनिएको जिल्ला हो यो पुल निर्माण पछि पर्वत जिल्लाको सदरमुकाम कुश्मा अग्ला र नमूना पुलको सदरमुकाम भनेर चिनिनेछ । यसका साथै कुश्मा–कैया र कुश्मा– मुडिकुवामा समेत अग्ला झोलुंगे पुल निर्माण प्रक्रिया अघि बढिरहेका छन् ।