धुम्रपान स्वास्थ्यका लागि बेफ़ाइदै बेफाइदा

काठमाण्डौ जेठ १४,

धुम्रपानका धेरै असर छन् । अझ भनौं यसका फाइदा त केही छँदै छैनन्, नकारात्मक असरै मात्र छन् । धुम्रपान गर्ने व्यक्ति प्रत्यक्ष असरबाट प्रभावित हुन्छ भने उसका परिवारका सदस्य र साथीभाइ पनि अपत्यक्ष प्रभावित भइरहेका हुन्छन् । धुम्रपानले एकातिर विभिन्नखाले स्वास्थ्य समस्या निम्त्याउँछ भने अर्कातिर पारिवारिक, समाजिक र आर्थिक समस्या पनि थपिन्छ ।

असर शिरदेखि पैतालासम्म
धुम्रपानले हरेक ८ सेकेन्डमा एकजनाको ज्यान लिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार किशोरावस्थादेखि लगातार २० वर्ष वा सोभन्दा बढी धुम्रपान गर्नेहरू, नगर्नेको तुलनामा २० देखि २५ वर्ष कम बाँच्छन् ।

धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन मुख्यतः फोक्सोको क्यान्सरको कारण हो । यसले मुटुसम्बन्धी रोगहरू पनि निम्त्याउँछ । मानिसको शिरदेखि पैतालासम्मै असरैअसर मात्र पु¥याउने धुम्रपान अन्य गम्भीर स्वास्थ्य समस्या जन्माउन प्रमुख कारण बन्दछ । धुम्रापान सेवानका कारण निम्न स्वास्थ्य समस्या आउँछन्ः

क्यान्सर
सुर्तीमा ४० वटाभन्दा बढी क्यान्सरजन्य तत्व हुन्छन् । धुम्रपानका अम्मलीलाई धुम्रपान नगर्ने व्यक्तिलाई भन्दा २२ गुणा बढी फोक्सोको क्यान्सरको सम्भावना हुन्छ । जसले बढी समय धुम्रपान गरिरहेको हुन्छ, उसलाई विभिन्नखाले क्यान्सर हुने सम्भावना त्यही अनुपातमा बढ्ने गर्छ । जस्तैः जिब्रोको क्यान्सर दुई गुणा बढी, मुखको ¥यालग्रन्थी तथा स्वासनलीको क्यान्सर ६ देखि २७ गुणा बढी, घाँटीको क्यान्सर १२ गुणा बढी र भोजननलीको क्यान्सर ८ देखि १० गुणा बढी हुन्छ । यसैगरी, स्वरनलीको क्यान्सर १० देखि १८ गुणा बढी, आमाशयको क्यान्सर २ देखि ३ गुणा बढी, मृगौलाको क्यान्सर ५ गुणा बढी, प्यान्क्रियाजको क्यान्सर २ देखि ५ गुणा बढी, आन्द्राको क्यान्सर ३ गुणा बढी र मलद्धारको क्यान्सर ५ देखि ६ गुणा बढी हुन्छ ।

मुटुसम्बन्धी रोग
संसारमा एकतिहाई मृत्यु, मुटुसम्बन्धी रोगले हुने गर्दछ । मुटुरोग लाग्ने कारणमध्ये धुम्रपान एउटा प्रमुख कारण हो । हरेक वर्ष मुटुसम्बन्धी रोगका कारण विकासोन्मुख देशहरूमा १० लाखभन्दा बढी व्यक्ति मर्ने गरेका छन् । धुम्रपानले मुटुको धड्कन तीव्र पार्छ, उच्च रक्तचापको सम्भावना बढाउँछ । धमनीलाई अवरोध गर्दै हृदयाघातको कारण बन्न सक्छ । यसको असरले कोरोनरी आर्टरीसम्बन्धी रोग, हृदयाघात, एओर्टिक एनुरिजम, क्यारोटिड आर्टरीजस्ता रोग लाग्न सक्छ । जसबाट मानिसको अकालमै मृत्यु हुन सक्छ ।

मुत्रथैलीको क्यान्सर तथा गर्भपात
धुम्रपानले पाठेघर तथा मुत्रथैलीको क्यान्सर हुने सम्भावना रहन्छ । गर्भ रहन नदिने समस्यासँगै धुम्रपानले गर्भावस्था र प्रसव अवस्थामा जटिलता ल्याउँछ । धुम्रपान गर्ने महिलाको शिशु कम तौलको जन्मने र पछि पनि स्वास्थ्य कमजोर हुने गर्छ । धुम्रपानका अम्मली गर्भवतीहरूमा गर्भपतनको सम्भावना दुईगुणा बढी हुन्छ । धुवाँमा भएको कार्बनमोनोअक्साइड र निकोटिनले भ्रुणलाई सास फेर्न कठिन पार्छ तथा सालनालबाट रक्तसञ्चारमा अवरोध ल्याई मृत बच्चा जन्मने गर्छ । अचानक गर्भमा शिशुको मृत्यु हुने (एसआईडी) रोग पनि धुम्रपानसँग सम्बन्धित छ । धुम्रपानले एस्ट्रोजिन नामक हर्मोन पैदा गर्न बाधा पु¥याउने हुनाले उमेर नपुगी महिनावारी बन्द गराउन सक्छ ।

कमजोर शुक्रकीट
धुम्रपानले शुक्रकीट कमजोर बन्छ र शुक्रकीटको डीएनएलाई ह्रास गर्दछ । जसकारण बाँझोपन तथा जन्मजात खोट भएको शिशु जन्मने सम्भावना बढ्छ । धुम्रपानका कारण शुक्रकीटको संख्यामा कमी आउँछ र लिङ्ग वरिपरि हुने रक्तसञ्चार कम गराउँछ । यसले अन्ततः नपुङ्सकता बढाउन सक्छ । धुम्रपान गर्नेहरूमा बाँझोपन बढी हुन्छ ।

टाउको खुइलिने
धुम्रपानले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई कमजोर बनाउने हुनाले विभिन्न रोग लाग्ने खतरा बढ्छ । कपाल झर्ने, मुखमा घाउ हुने, टाउको खुइलिने तथा हातमा पाप्रा आउने रोग लुपस इराइथेमाटोसस् धुम्रपानकै कारण हुने गर्छ ।

मोतिया बिन्दु
धुम्रपानका अम्मलीमध्ये ४० प्रतिशतभन्दा बढीलाई मोतिया बिन्दु भएको तथ्यांक छ । धुवाँले दुई किसिमबाट मोतिया बिन्दु गराउन सक्छ । पहिलो, आँखालाई पीडा तथा बढी संवेदनशील बनाएर र दोस्रो, फोक्सोमा सोसिएका रसाएन रक्तसञ्चारमार्फत आँखामा पुगेर । धुम्रपानले आँखाको दृश्यपटल (रेटिना)को मध्यभागमा क्षति पु¥याँउछ । धुम्रपान गर्नेहरूलाई आँखाको समस्याले छिटो सताउँछ । जसका कारण पढ्न, सवारी चलाउन, अनुहार चिन्न, रङ छुट्टाउन र कुनै वस्तुलाई स्पष्ट देख्न कठिन पर्छ ।

चाउरी पर्नु
धुम्रपान सेवन गर्नेहरूको बुढ्यौली लाग्नु अगावै छाला चाउरी पर्न थाल्छ । धुम्रपानले छालालाई चुस्त बनाउने भिटामिन ‘ए’ को शोषण गर्छ । रक्तसञ्चार प्रणालीलाई व्यवस्थित गर्ने प्रोटिनलाई नास गर्छ । धुम्रपानका अम्मलीको खासगरी ओठ र आँखाको छेउमा छाला फुस्रो, अरह्रो र सानासाना मुजा पर्ने हुन्छ ।

श्रवणशक्ति कम
धुम्रपानको धुवाँले रक्तनलीको भित्रि सतहमा जमेर कानभित्र हुने रक्तसञ्चारमा कमी ल्याउँछ । जसले गर्दा अम्मलीको श्रवणशक्ति छिटै कमजोर हुने र बहिरो नै हुने सम्भावना रहन्छ । धुम्रपानका अम्मलीहरूमा अन्य व्यक्तिको तुलनामा कान पाक्ने रोग तीनगुणा बढी हुन्छ । कानको यस्तो संक्रमणले मेनिन्जाइटिस र अनुहारको पक्षघातसमेत हुन सक्छ ।

छालाको क्यान्सर
धुम्रपानले छालाको क्यान्सर गराउँछ । धुम्रपानका अम्मलीहरूमा धुम्रपान नगर्ने मानिसमा भन्दा दुई गुणा बढी छालाको क्यान्सर हुनेगर्छ ।

दाँत बिग्रने
धुम्रपानले दाँत र मुखको स्वास्थ्य बिगार्छ । अत्यधिक मात्रामा दाँतमा लेउ जमाउनुका साथै दाँत पहेँलो हुने र अन्त्यमा दाँतमा संक्रमण भएर झर्न सक्छ । सामान्य मानिसभन्दा धुम्रपान गर्नेहरू झन्डै डेढ गुणा बढी छिटो थोते हुन्छन् ।

दम बढ्ने
धुम्रपानले फोक्सोको क्यान्सरका साथै दम बढाँउछ । यसले फोक्सोमा अक्सिजन पु¥याउने नलीहरू अवरोध गरेर सास फुलाउँछ । धुम्रपानले दीर्घखोकी गराई पीपयुक्त खकार पैदा गर्दछ । बिस्तारै खोक्न र सास फेर्न गाह्रो हुन्छ ।

हाड कमजोर
चुरोटको धुवाँमा कार्बनमोनोअक्साइड ग्यास हुन्छ । यो ग्यासले रगतको अक्सिजन बेक्ने क्षमतालाई १५ प्रतिशतले घटाउँछ । जसले हड्डीको घनत्व कम गराउँछ र सजिलै भाँचिन सक्ने बनाउँछ । घाउचोट लागेमा निको नहुने समय ८० प्रतिशतले बृद्धि गर्दछ । धुम्रपानका अम्मलीलाई ढाड दुख्ने समस्याको सम्भावना बढी हुन्छ ।

पेटको अल्सर
धुम्रपानले ब्याक्टेरियाविरुद्धको पेटको प्रतिरोध क्षमता घटाउने हुनाले पेटको अमलपित्त र अल्सर हुन सक्छ । यसले खाना खाएपछि पेटको अम्मललाई निष्क्रिय पार्ने पोटको क्षमता घटाएर पेटमा घाउ पार्छ । यस्तो घाउ निको हनु गाह्रो हुन्छ र बारम्बार बल्झिरहने गर्दछ ।

औँलाहरू पहेँलिने
चुरोटको धुवाँको कस औँला र नङमा जम्मा हुँदै जान्छ । औँला र नङहरूमा खैरो र पहेँलो दाग बस्छ । त्यसले गर्दा हात फोहोर देखिनुका साथै गन्हाउने पनि हुन्छ ।

सोराइसिस (छाला फुस्रिनु)
धुम्रपानका अम्मलीहरूलाई सोराइसिस हुने सम्भावना २ देखि ३ गुणा बढी हुन्छ । सोराइसिस नसर्ने खालको छालारोग हो । यो रोग लागेपछि छाला सुन्निनुका साथै चिलाउने र शरीरमा राटा टाटा देखिन थाल्छ ।

स्नायु, नशा तथा धमनी सुन्निने रोग
धुम्रपानले रक्तसञ्चारलाई असर पु¥याउँछ । राम्ररी रक्तसञ्चार नहुँदा शरीरमा स्नायु, नशा तथा धमनी सुन्निने गर्छ । यस्ता समस्या आए शरीरको कोष तथा तन्तुहरू मर्ने गर्दछन् । जसका कारण आघात भएको शरीरको अङ्गप्रत्याङ्ग काटेर फाल्नुपर्ने हुन सक्छ ।


वृद्धि र विकासमा असर:
 गर्भवती महिलाले सुर्तीजन्य पदार्थ सेवन गरेमा गर्भको शिशुको तौल कम हुन्छ । शिशु जन्मँदा पनि तौल कम नै हुन्छ । कम तौलको बच्चा जन्मँदा बच्चाको शारीरिक र मानसिक वृद्धि तथा विकासमा असर पर्न जान्छ . (स्वास्थ्य खबर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com