उपेन्द्र साहले हेलिकप्टर चार्टर गरेर छोरी अन्माए

बार जेठ १०,

बारा- मानिसका सोख पनि अनेक हुन्छन्। करैयास्थित एक प्राथमिक विद्यालयका हेडसरको अनौठो सोखले बिहीबार जिल्लाभर चर्चा पायो।कलैयास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक उपेन्द्र साहले बिहीबार हेलिकप्टर चार्टर गरेर छोरी अन्माए। 

रौतहट गरुडा– ९ निवासी राजकिशोर साहका छोरा राजेन्द्रप्रतापसँग छोरी प्रमेशिलाको बुधबार राति बिहे भयो, बिहीबार उनले ७५ हजार रुपैयाँमा हेलिकप्टर चार्टर गरेर नजिकैको बेहुलाको आँगनसम्म छोरीज्वाइँ पुर्‍याइदिए। हेलिकप्टर चार्टर गरेर छोरीज्वाइँ बिदा गरेका प्रावि हेडसरको सोख र सम्पत्ति चर्चाको विषय बन्यो सामान्य आर्थिक हैसियतका उनको घरमै बुधबार राति हिन्दु परम्पराअनुसार छोरीको बिहे सम्पन्न भयो। 

बिहीबार बिहान उपेन्द्रले कलैयास्थित सिद्धेश्वर मन्दिरमा छोरी ज्वाइँलाई राखेर पूजापाठ गरेका थिए। त्यही मन्दिरपरिसर हेलिकप्टर ल्याएर उनले छोरी अन्माएका थिए। उपेन्द्रले छोरीको बिहेमा प्रयोग भएको हेलिकप्टर केटापक्षबाट ल्याइएको दाबी गरे। उनले आफू सामान्य परिवारको, हेलिलप्टरबाट छोरी अन्माउने हैसियत नरहेको बताए। तर बलेरो र स्कारपियो लिएर जन्ती आएका बेहुलाका बाबु अचानक हेलिकप्टर देख्दा अचम्ममा परे। 

कलैयाबाट छोरीज्वाइँ लिएर उडेको भाडाको हेलिकाप्टर ज्वाइँको गाउँ गरुडामा अवतरण गरेको थियो। बेहुला–बेहुलीलाई घर छाडेर हेलिकाप्टर काठमाडौं फर्केको साहले जानकारी दिए। कलैयाबाट हेलिकप्टर १५ मिनेटमै उडेको थियो। सामान्य व्यक्तिले छोरीको बिहेमा हेलिकप्टर चार्टर गरेको देख्दा एकछिन त जिल्ला सुरक्षाप्रमुख, प्रहरी, राजनीतिक नेता र उनका छिमेकी चकित भएका थिए। कलैयाबजारमा उपेन्द्रको सम्पत्तिबारे दिनभर चर्चा चल्यो। 

स्रोतका अनुसार उनी छोटो समयमा धेरै सम्पत्ति कमाउने व्यक्तिमा कहलिन्छन्। छोरीको बिहेमा उनले दाइजोबाहेक १०–१५ लाख रुपैयाँ खर्च गरेको छिमेकीले बताए। स्रोतका अनुसार प्रअ साहको पुर्ख्याैली घर कलैयामा उनको नाममा करिब १० कठ्ठा जग्गा छ, तर उनी आफ्नै कमाइको करोडौं रुपैयाँको महलमा बस्छन्। साहका तीन दाजुभाइ छन्। दुई छोरामध्ये सुधीरप्रसादले निजी खर्चमा एमबिबिएस पास गरिसके भने अर्का सुशीलप्रसाद पनि डाक्टर पढ्ने तयारीमा छन्।(नागरिकबाट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com