समय सान्दर्भिक दमदार उपन्यास दमिनी भीर
काठमान्डू चैत्र २३,
गुरुङ सुशान्त : लामो समय कविताको साक्षी बसेको मान्छे भागेर कहाँ जाला? कविताको नाडी छामिसकेको भए ऊ फेरि कवितामै पुग्छ भन्ने थाहा हुन्छ, दमिनी भीर पढ्दा। सिर्जनशील अराजकताका एक अगुवा राजन मुकारुङ, जसले कवितामार्फत केही थान धारिला प्रश्न उभ्याएका थिए।
०६५ सालमा हेत्छाकुप्पा लेखेपछि उनी कविताबाट पलायन भएजस्ता देखिन्थे। दमिनी भीरमा आइपुग्दा उनी कविताप्रेमको झन् अग्लो विश्वासमा उभिए। अघिल्लो उपन्यासको भाषा राम्रै भए पनि फिनिसिङ्को कमी देखिन्थ्यो। दमिनी भीरको गद्यमा चाहिँ ज्यानदार कविता र कलाकौशल पनि समानान्तर कुदेका छन्।
'बिर्सिन्छु कि भन्ने डरले लेख्छु म।' नोबेल पुरस्कार वितरण समारोहमा ओह्रान पामुकले भनेका रहेछन् । परचियको भोक कुनै अनौठो होइन, बरू स्वअस्तित्त्वप्रति सचेत नहुनु पलायन हो। राजन मुकारुङलाई आफ्नो अस्तित्त्वको माया नलाग्ने कुरै भएन तर उनी आफूभन्दा आफ्नो समुदाय र पिछडिएका वर्गको पहिचानका लागि बढी चिन्तित छन् भन्ने कुरा उनकै उपन्यासहरू बोल्छन्।
नेपाली-नेपाली मात्र होइन, हरेक मान्छे जन्म र रगतका आधारमा एउटै हुन् भन्ने कुरा घोकेकै छौँ हामीले तर पृथक् संस्कृतिले मान्छेको स्वरूपमा मौलिकता ल्याउँछ। भिन्न संस्कार-संस्कृतिलाई सम्मानजनक नजरले नहेर्ने व्यवहारले नै जातीय विभेदका खाकाहरू कोर्दै लगेको हुनुपर्छ। राज्य/केन्द्रले कुनै संस्कृति, भाषा, धर्मलाई मात्र प्राथमिकता दिएपछि अन्यले आफूलाई किनारामा मूल्यहीन फ्याँकिएको पाउँछ। तिनै किनाराका आवाजहरूलाई शब्दशक्ति भर्ने काम गरेका छन् राजनले।
व्यक्ति मनको अभिव्यक्ति हुँदाहुँदै पनि साहित्यले टिप्ने विषय सामाजिक हुनु राम्रो मानिन्छ। समाजशास्त्रीहरू प्रत्येक कृतिलाई कुनै समयको प्रजातिको खोल तथा छाया मान्छन्, जसबाट मानव प्रजातिको गम्भीर अध्ययन गर्न सकिन्छ। दमिनी भीरलाई आजको समयको एउटा दमदार डिस्कोर्स मानेर अध्ययन गर्ने हो भने नेपाली समाजको त्यो तस्बिर देखिन्छ, जहाँ सशस्त्र विद्रोहकालीन मानसिकतादेखि संविधान निर्माणका अन्योलसम्म पोतिएका छन्। पहाडमा भन्दा सहरमा ठूल्ठूला अक्करे भीर छन्, जहाँ न नैतिकता अडिन्छ, न सहजता फुल्छ।
कुमारी आकांक्षाहरू काँधमा बोकेर सहर पस्ने युवा जमातदेखि पहाडमै विकासे गन्ध खोज्ने समुदायका असन्तुलित पाइलाको छाप प्रस्ट देखिन्छ, दमिनी भीरमा। राजनको रचनाकारतिामा उत्तरदायित्वबोध र प्रतिबद्धता छ भन्नलाई यति मात्रै काफी छैनन्। थोरबहुत जोकोही लेखकले समाज लेखिहाल्छ, आफ्नो ढङ्गले। उनको प्रतिबद्धतामा चाहिँ उत्तरोतर प्रगति दृष्टिगोचर हुन्छ।
हेत्छाकुप्पामा पनि जातीय, सांस्कृतिक र राजनीतिक विषयलाई अन्तरघुलन गरेकै हुन् उनले। समाख्याताको लोकेसनमा केही हठवादिता देखिएकाले हेत्छाकुप्पा दमिनी भीरजति शालीन हुन सकेन। आफ्नो वर्ग-समुदायको आवाजलाई राँको नबालीकन पनि राम्रैगरी तताउन सकिन्छ भन्ने बोध गरेको छ दमिनी भीरले। एक थरी भन्छन्, दमिनी भीरमा राजनीति बढी भयो।
अर्का थरी भन्छन्, कम भयो। दुवै मतको सामान्य निष्कर्ष हो, राजनीतिचाहिँ छ उपन्यासमा। हुन त प्रायः क्रिटिकल डिस्कोर्स राजनीतिकै वरपर घुम्छ। वैचारकि लेखन समाजका रूप परविर्तनका लागि हो भने नयाँ-नयाँ उपकेन्द्रको स्थापना जरुरी हुन्छ त्यहाँ। छेलिएका, हेपिएका, छोपिएकाले आफू हुनुको अनुभूति गरून् ती उपकेन्द्रमा।
राज्यको घाम देख्न नपाएका समुदायले अँध्यारोविरुद्ध दिएको अभिव्यक्तिलाई उज्यालो समुदायको विपक्षमा नारा फलाकेको ठानिनु अर्को अँध्यारो हो। राजनको लेखन पनि त्यही अँध्यारो र उज्यालोबीचको दूरी देखाउनमा एकोहोरिएको देखिन्छ। यस्तो लेखनमा न्यारेटरमाथि लेखक हावी हुने डर रहन्छ सधैँ। राजनले आफूलाई तटस्थ राख्ने सक्दो प्रयास गरे पनि लेखकीय पक्षधरता प्रस्टै देखिन्छ उपन्यासमा। दमिनी भीरको वैचारकि पक्षसँग सहमत हुन नसक्ने पाठकले पनि कलात्मक आनन्दचाहिँ लिन सक्छन्, जुन लेखकको लेखनीको जबरजस्त शक्ति हो।
नेपालजस्तो देशको समाजमा वर्ग र जातिमध्ये कुनचाहिँ ठूलो समस्या हो भन्ने प्रश्नले तानेर ल्याउने तर्कहरूमा एकत्व देखिँदैन। कसैको धारणा छ, वर्गीय समस्या हल भएपछि जातीय कुरा स्वतः मिल्छन्। विपरीत ध्रुवको राय छ, वर्गभन्दा जातीय मुद्दाले प्राथमिकता पाउनुपर्छ पहिले। हाम्रो समाजको असन्तुलन भित्र जातीय विभेद दुःखद पक्ष त हुँदै हो तर एउटै जातिभित्र पनि वर्गको दूरी झनै डरलाग्दो छ। दमिनी भीरको चासो र चिन्ता यतैतिर हो, जो नेपाली राजनीतिकै केन्द्रीय विषय हो अहिले।
परम्परागत नायकत्वको श्रीपेच झिकेर बहुल चरत्रिलाई ससम्म्ाान स्थान दिनुपर्ने आशय देखिन्छ उपन्यासको। मूल धार मानिने साहित्यले प्रयोग गर्ने भाषिक घेराबाहिर गएर किराँत शब्द प्रशस्तै प्रयोग गरेका छन् लेखकले, जसले उपन्यासलाई कृत्रिम हुनबाट बचाएको छ। अश्लील ठानिएका शब्दको सहज प्रयोगले अन्तर्लयको निर्माणमा सघाएको छ। यस्ता शब्दयुक्त संवाद पात्रसम्मत देखिन्छन् तर पूर्ववर्ती लेखकहरूलाई उछिन्दै नयाँ रेकर्ड नै राखेका छन् उनले।
एक थान नागरकिता र ल्याप्चे नै पूर्णता हो, एउटा सिङ्गो नागरकि हुनलाई? आदिवासी-जनजाति, दलितजस्ता समुदायले आफ्नै भूमिमा किन अनागरकि पाउँछन् आफूलाई? यिनै अनागरकिको झन्डा बोक्ने उच्च नश्लीयचेतधारी राजन मुकारुङ र दमिनी भीर दुवैलाई जातिवादीको आरोप लाग्न सक्छ। वैचारकि आन्दोलनको इतिहासमा कला र शिल्पयुक्त यस्ता कृतिको महत्त्वलाई चाहिँ कसैले नकार्न सक्दैन। हेर्नु छ, दमिनी भीरको आवाज र राज्यको श्रवणशक्तिमा कुनचाहिँ कमजोर छ ? नेपाल)
दमिनी भीर :
स्रष्टा : राजन मुकारुङ
प्रकाशक : फिनिक्स बुक्स
पृष्ठ : २९९
मूल्य : ३५० रुपियाँ