सम्पूर्ण सम्पत्ति समाज सेवामा


लेखनाथ, वैशाख १२ ,

बसन्ती बास्तोला : समाजसेवा गर्ने धोको हुँदाहुँदै उमादेवी गुरुङका श्रीमान्को चार वर्षअघि अचानक मृत्यु भएको थियो । श्रीमान् टंकप्रसादको मृत्युपछि कास्की डाँडानाककी ४९ वर्षीया उमादेवीलाई उनको सम्झनाले पिरोल्न थाल्यो । त्यही भएर उनले श्रीमान्ले कमाएको सम्पत्ति समाजसेवामा खर्च गर्ने निधो गरिन् । श्रीमान्ले बि्रटिस लाहुरे बनेर जोडेको एक करोड रुपैयाँभन्दा बढी पर्ने जग्गा दान गरिन् । 

डाँडानाकस्थित पृथ्वी राजमार्गमा पर्ने उनको दुई रोपनी जग्गामा आश्रम, बालगृह र अस्पताल बनाउने उनको सपना छ । टंकप्रसादको कमाएकै भरमा लमजुङ कर्पुटारको गुरुङ परिवार लेखनाथ बसाइ आएको थियो । 'मेरो श्रीमान्को कमाइ मैले उनैलाई दिएर पठाएँ,' गुरुङले आँखाभरि आँसु पार्दै बुधबार भनिन् । जग्गा दान दिएपछि यस स्थानमा श्रीकृष्ण प्रणामी परमार्थ मिसन ट्रस्ट मन्दिर तथा अनाथ सेवा आश्रम बन्ने भएको छ । 

यस आश्रममा एक हजारभन्दा बढी अनाथ बालबालिका, छोराछोरीले हेलाँ गरेका बावुआमा र श्रीमान्ले हेलाँ गरेर घर निकाला गरेका महिला हुनेछन् । गुरुङले जग्गा मात्र दिएकी छैनन् अबको जीवन तिनै असहायको सेवा गरेर बिताउने लक्ष्य लिएकी छन् । श्रीमान् समाजसेवामा रुचि राख्ने कारण आफूले यस क्षेत्रमा काम गर्ने प्रेरणा जागेको गुरुङले बताइन् । उनले भनिन्, 'धेरै सम्पत्ति भएर दिएको होइन, सेवा र दान नै धर्म हो भनेर लागेको ।' एक्लैले गरेर केही नहुने कारण उनले सबैलाई सहयोग गर्न आग्रह गरेकी छन् । दुई छोरा र एक छोरीको सहमतिमै उक्त जग्गा आश्रमको नाममा दिएको उनले जानकारी दिइन् । 

अनाथ बालबालिका, वृद्धा र महिला देख्दा जहिले दुःखी हुने गुरुङको सपनालाई साकार पार्न स्थानीयवासी समेत लागेका छन् । उनले दिएको देखेर ७६ वर्षे वसुन्धरा लामिछानेले १ लाख २० हजार प्रदान गरिन् । उमाले सबै जग्गा दिएपछि आफूले जीवनभर जोडेको रकम दिन मन लागेको लामिछानेले बताइन् । भनिन्, 'उनको दानले मलाई नि मन छोएर दिएको ।' त्यसमै १ लाख ५० हजार खड्कबहादुर गुरुङले थपिदिए । यसरी नै सहयोग जुट्दै गएपछि आश्रम बन्नेमा ढुक्क छिन् सञ्चालक कला गुरुङ ।(स्रोत-इकान्तिपुर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com