'प्राण भएका कुनै पनि उड्ने तथा हिँड्ने
जीवजन्तुमध्ये छोराछोरीहरूलाई
जन्माएँ, दुःख गरेर पालेँ, त्यसैले
बुढेसकालमा उनीहरूकै पछि लागेर
बस्छु, उनीहरूले नै रेखदेख गरून् भन्ने
धारणा प्रायः मनुष्यबाहेक अरू कसैमा
देखिँदैन। छोराछोरीलाई आफ्नो
स्वतन्त्रतामा छोडिदिनुपर्छ भन्ने धारणा
छ।' (पृ २९३)
रामबहादुर रावल : मदनमोहन श्रेष्ठ, ७५, ले आफ्नो विगत र वर्तमानबारे संस्मरणात्मक शैलीमा लिखित पुस्तकमा विदेशमा रहेका सन्तानप्रतिको धारणा यसरी राखेका छन्। झट्ट हेर्दा श्रेष्ठले सन्तानको स्वतन्त्रता लाई सम्मान गरेको र उनीहरूकै रोजाइलाई समर्थन गरेको देखिन्छ। निहितार्थमा यी शब्दले धेरै यस्ता वृद्ध र अशक्त अवस्थाका बाबुआमाको कथा बोलेका छन्, जो प्रस्टसँग भन्न सक्दैनन् तर भित्रभित्रै मर्माहत छन्। एक्लोपनाले उनीहरूलाई पोलेको छ। उनी लेख्छन्, '७० वर्ष नाघिसकेका अग्रज नागरकिको लगातार भइरहने मृत्युप्रति सर्वसाधारणले त्यति ध्यान नदिँदा रहेछन्। आफ्नो मनलाई आफैँले सान्त्वना दिनुपर्ने उमेर र अवस्था रहेछ यो।'
भएका तीन सन्तान विदेशमा। व्यवसाय उतै। ती आएर चैनपुर (संखुवासभा) बस्लान् जस्तो लाग्दैन। जसरी बाबुले चैनपुर छाडे, त्यसरी नै सन्तानले नेपाल छाडे। यद्यपि, आफ्नो बाल्यकाल बितेको, आफ्नो मन परेको, साह्रै माया गरेको चैनपुरमा पर्यटक बनेर बेलाबेला अवश्य आऊन् भन्ने आग्रह छ उनको।
श्रेष्ठका यी शब्दमा हाम्रो ठूलो सहरिया मध्यमवर्गको आवाज ध्वनित हुन्छ। जसले आफ्ना सन्तानलाई गाउँदेखि संघर्ष गर्दै पश्चिमी संसारमा पुर्यायो, आज ती बाबुआमा एक्लो घर कुररिहेका छन्। ती घर भौतिक रूपले सम्पन्न छन्। बाहिर सुकिला र सुन्दर छन्। तर, भित्र कति उदेक र उच्छ्वासले भरिपूर्ण छन् ? यही पुस्तक पढ्दा काफी जवाफ पाइन्छ।
ती बाबुआमाले दुःखजिलो गरेर हुर्काए, पढाए। राज्यले पनि त्यत्तिकै लगानी गर्यो। बाली उठाउने बेला बाहिरियो। त्यतै हरायो। बरू अरबका खाडीमा रगतपसिना बगाउनेहरूले रेमिट्यान्स पठाएका कारण राष्ट्र बैंकले शोधनान्तर बचत अर्बका दरले देखाउन पाएको छ। पढ्न हिँडेको जमात आफू त र्फकंदैन नै, मुलुकको लगानी लैजान्छ। भएको धनसम्पत्ति लैजान्छ। कम्तीमा बुढेसकालमा बाबुआमाका लागि पारिवारिक मायामोहको, रेखदेखको सम्पूर्ण अवसर खोसेर लैजान्छ। यद्यपि, यसमा श्रेष्ठलाई खेद छैन। उनले आफूलाई सम्हालेका छन्। सम्झाएका छन्। 'तर, पर्यटक बनेर भए पनि एकपटक चैनपुर आए है' भन्ने भावनात्मक प्रस्तुतिले आजको वृद्ध पिँढीको दर्दनाक कथा बोलेको छ।
मदनमोहन श्रेष्ठ व्यावसायिक लेखक वा चर्चित सर्जकको नाम होइन। सम्पूर्ण ऊर्जा प्राविधिक क्षेत्रमा खर्चेर हाल निवृत्त जीवन बाँचिरहेका एक सामान्य व्यक्तिको नाम हो। त्यसैले स्मृतिको तरंगमा एक जनसामान्यले देखेभोगेको गाउँ, समाज, परविार, देशदेशावरको वर्णन हो। ठूला ऐतिहासिक र राजनीतिक महत्त्वका सनसनीपूर्ण घटना यसमा छैनन्। धेरै हदसम्म नितान्त निजी गन्थन छ। पढ्दै जाँदा कहीँ पट्यार लाग्छ। नमिलेको हिज्जेका ढुंगा लाग्छन्। नबगेको भाषामा ठेस लाग्छ। र पनि, एक सामान्य मान्छेको भोगाइ, अनुभूति र प्रस्तुति यति घतलाग्दो हुन सक्छ भन्ने नमुना खोज्नुपरे यही पुस्तक काफी छ। लेखक जुन प्रसंग झिक्छन्, त्यसको बिट नमर्दासम्म कौतूहल जगाइराख्छन्।
श्रेष्ठले पुस्तकमा आफूलाई सम्पूर्ण रूपमा पोखेका छन्। विगतलाई मज्जैले समीक्षा गरेका छन्। खुलेर आत्मालोचना गरेका छन्। क्षमायाचना गरेका छन्। माफी दिएका छन्। मन माझेका छन्। दिल पखालेका छन्। उनले स्पष्ट भनेका छन्, 'दूधले धोएर आएको व्यक्ति होइन म।' आफ्ना हरेक अपेक्षा, आग्रह, विचार, धारणा, अवस्था, अवस्थितिले रितिथितिलाई व्यावहारकि र प्रगतिशील कोणबाट अथ्र्याएका छन्। रूढ होइन, यथार्थपरक र व्यवहारपरक जीवन दर्शनको पक्षमा आफूलाई उभ्याएका छन्। परमिार्जित संस्कृतिको पक्ष लिएका छन्। धर्मकर्मको नाममा हुने आडम्बरी र सनातनी शैलीप्रति असहमति राखेका छन्।
'मेरो मृत्यु जहाँ भए पनि त्यहीँबाट सम्पूर्ण काम होस्। मलाई पशुपति नै पुर्याउनुपर्ने वा चैनपुरको रामबेनीमै जलाउनुपर्ने भन्ने होइन,' उनी लेख्छन्, 'महिनैपिच्छे वा वर्षेपिच्छेका श्राद्धहरूमा मलाई विश्वास छैन। तारक भनाउँदा पण्डाहरूलाई दान दिने कुरामा त बिलकुलै विश्वास छैन। बरू असहाय र गरबि आत्मामा भगवान् बसेका हुन्छन्। दिन मन लागे तिनलाई दिए पुण्य हुन्छ।' उनका भनाइमा, सेतो लुगा लगाएर, हरदम दुःखी अनुहार बनाएर हिँड्नुको पनि प्रयोजन छैन। उनको यो धारणा हाम्रो समग्र सामाजिक प्रणालीलाई सरल, छरतिो र व्यावहारकि बनाउन सहयोगी छ। यस्ता विचारको प्रवाहले सांस्कृतिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
सुनेदेखेका कुरालाई जस्ताको तस्तै राखेका छन् उनले। पौराणिक प्रसंग, मिथक एवं हिन्दु दर्शन र साहित्यको भरपूर प्रयोग छ यसमा। चैनपुरको भूगोल, संस्कृति, इतिहास एकैचोटि पढ्न पाइन्छ। काठमाडौँबाहिरका नेवार समुदायको बसाइँसराइबारे रोचक कथा छ। उपदेश होइन, व्यावहारकि शिक्षा छ यसमा। श्रेष्ठ भन्छन्, 'गान्धीजस्तो हुन धेरै गाह्रो भए पनि चाहेमा मण्डेलाजस्तो हुन धेरैले सक्दछन्।'
समग्रमा पुस्तक वृद्ध बाबुआमाका लागि सान्त्वनाको पोको हो। टाढा रहेका सन्तानलाई आफ्ना बाबुआमाको हालत जान्ने खबर पुस्तिका हो। जसले बाबुआमाको सेवा गर्न नपाएर गुमाए वा गरेनन्, तिनलाई अहिले बाबुआमा भइदिए कति सेवा गर्दो हुँ भनेर पछुतो हुन सक्छ। साथमै रहेका सन्तानले भने बाबुआमाको अपेक्षा बुझ्न पाउनेछन्। (नेपाल)
स्मृतिको तरंगमा :
लेखक : मदनमोहन श्रेष्ठ
प्रकाशक : एपेक नेपाल
पृष्ठ : ३००
मूल्य : ३५० रुपियाँ