चितवन, वैशाख ३,
नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले पर्यापर्यटनको विकासका लागि आगामी दिनमा पनि सहयोग गर्न आफू तत्पर रहेको बताएका छन्। पश्चिम चितवनको मङ्गलपुरस्थित ज्ञानेश्वर ब्लकमा जडान गरिएको विद्युतीय तारवारको आज अवलोकन गर्दै उनले विद्युतीय तारवारले वन्यजन्तु र मानवबीचको द्वन्द्वमा कमी ल्याएर संरक्षणमा टेवा पुगेको देख्दा आफूलाई खुसी लागेको बताए।
सो अवसरमा विश्व वन्यजन्तु कोष ताल कार्यक्रमका प्रमुख शिवराज भट्ट, हरियो वन कार्यक्रमका प्रमुख डा शान्तराज ज्ञवाली, राष्ट्रिय प्रकृति संरक्षक कोष सौराहाका प्रमुख डा चिरञ्जीवी पोख्रेल, जिल्ला वन कार्यलय चितवनका प्रमुख डा इन्द्रप्रसाद सापकोटालगायतको सहभागिता थियो।
युएसएआइडी, हरियो वन र राष्ट्रिय प्रकृति संरक्षण कोषको रु सात लाख ५८ हजार आर्थिक सहयोगमा ज्ञानेश्वर ब्लकको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तारवार गरिएको हो। सेतीदेवी, ज्ञानेश्वर र सिद्धिगणेश सामुदायिक वनको आवधिक क्षेत्रलाई समेटेर ज्ञानेश्वर ब्लक निर्माण गरिएको छ।
राजदूतसहितको टोलीलाई विद्युतीय तारवारको प्रभाव र संरक्षणका क्षेत्रमा भएका उपलब्धिको विषयमा सेतीदेवी सामुदायिक वनका अध्यक्ष दीपक अधिकारीले जानकारी गराएका थिए। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै