खेलकी रानी वैद्यको सौन्दर्य शान

काठमाण्डौ बैशाख १७,

खेलकुदकी पर्याय बनिसकेकी संगीना वैद्य जति चर्चित छिन् त्यत्तिकै उनी स्वास्थ्य र सौन्दर्यप्रति सचेत पनि छिन् । त्यसैले त एसियन तेक्वान्दो च्याम्पियनसिपमा उनले पाएको स्वर्ण पदक जस्तै चमकदार छ, उनको जीवन ।

उनी ओलम्पिकमा छनोट पार गरेर सहभागी हुने पहिलो नेपाली खेलाडीसमेत हुन् । तर, सधैं खेलजीवनमा सक्रिय नभए पनि स्वास्थ्य र सौन्दर्यप्रतिको उनको जागरुकता भने निरन्तर कायम छ । उनी खासगरी आफ्नो शरीरलाई ख्याल गर्छिन् रे ! ‘बिहान प्रत्येक दिन डेढ घन्टा प्रशिक्षण गर्छु । 

टाइममा खान्छु । मेरो झोलामा हरेक समय खाने कुरा हुन्छ,’ संगीना भन्छिन् । अहिले यस्तो लाग्छ, स्वस्थ शरीर हरेकको चाहना हुने भएकाले खेलकुद त्यसको राम्रो माध्यम हो । ‘खेल खेलेर मेडल नै जित्नुपर्छ, अरूलाई हराउनु नै पर्छ भन्ने मात्र होइन,’ संगीनाको अनुभव बोल्छ, ‘शरीर पनि स्वस्थ हुन्छ, निरोगी रहने सम्भावना बढी हुन्छ ।’ उनको भनाइजस्तै उनी आफ्नै उमेरका अन्य मानिसभन्दा फरक देखिन्छिन्, अझै पनि खेलाडीको जस्तै ऊर्जा र ताप उनमा देखिन्छ । संगीना नुवाकोटको त्रिशूलीमा परिवारको आठमध्ये पाँचौं सन्तानका रूपमा जन्मिन् । सातजना दिदीबहिनी र एउटा भाइ भएको उनको परिवारमा दिदीहरू विद्यालय स्तरको खेलकुदमा निकै सक्रिय थिए । 

स्कुलमा आयोजना हुने वीरेन्द्र सिल प्रतियोगितामा निमला, सविना, अमलालगायत दिदीहरूले एथलेटिक्स, भलिबललगायत खेलमा सहभागी भएर ल्याएको पदकले संगीनालाई पनि खेलकुदप्रति आकर्षित ग¥यो । उनलाई लाग्यो, ‘खेल्दा अरूभन्दा राम्रो भइन्छ ।’ उनको सधैं मान्यता पनि रह्यो, ‘कुनै न कुनैमा बेस्ट हुनै पर्छ ।’ पढाइमा सामान्य संगीता विद्यालयमा चिनिन खेलमा सक्रिय भइन् । एथलेटिक्स, फुटबल, भलिबललगायत खेलमा उनको सहभागिता रहन्थ्यो । पुरुष साथीहरूलाई दौडमा जितेर उनी मिश्रित फुटबल टिम (महिला र पुरुष दुवै, यद्यपि महिला फुटबलर निकै थोरै हुन्थे) मा स्ट्राइकर बन्थिन् । उनलाई यस्तो लाग्थ्यो, मलाई कसैले जित्नै सक्दैन । 

उनी सामान्य खानाकै भरमा खेल्थिन् । ‘मलाई खेल्न खानै पर्दैनजस्तो लाग्थ्यो,’ हालसालै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रहेको स्विमिङ पुलको छेउमा बसेर संगीना पुराना ती दिन सम्झँदै थिइन्, ‘खेलाडीले यस्तो खानुपर्छ, उस्तो खानुपर्छ भन्ने सुनेको चाहिँ थिएँ ।’ छोरीलाई शारीरिक मेहनत बढी हुने देखेर संगीनालाई आमाले कहिलेकाहीं चना, अन्डा बनाइदिनुहुन्थ्यो । ‘तर, मलाई यी कुराको वास्ता नै थिएन,’ उनी सुनाउँछिन् । फुटबल, भलिबल नियमितजस्तै खेल्थिन्, उनी । एसएलसीपछि संगीना अध्ययनका लागि काठमाडौं आइन् । त्यसअघि उनले एक पटक ब्रुस्लीको फिल्म हेरेकी थिइन्, त्यसमा ब्रुस्लीले हानेका किक उनलाई मन परेछ । उनलाई लाग्यो, मैले पनि यो गेम खेल्न पाए हुन्थ्यो । पछि उनलाई थाहा भयो, ब्रुस्लीले मार्सल आर्ट देखाएका रै’छन् । 

‘मार्सल आर्ट एउटै खेलजस्तो लाग्थ्यो त्यतिबेला,’ संगीना सम्झन्छिन् । काठमाडौंमा आएर उनले मार्सल आर्टकै एउटा खेल तेक्वान्दो खेल्न सुरु गरिन् । दक्षिण एसियामै नेपाली तेक्वान्दोको प्रभाव सशक्त रहेकाले पनि उनलाई मार्सल आर्टका अन्य खेल कराँते, उसु, बक्सिङलगायतले तान्न सकेन । छोटो समयमै उनलाई यति ठूलो सफलता मिल्यो कि तेक्वान्दो प्रशिक्षण थालेको चार महिनामै उनी त्यतिबेलाकी चर्चित खेलाडी बिमला भण्डारीलाई हराएर राष्ट्रिय च्याम्पियनसिपमा पहिलो भइन् । यसले उनलाई राष्ट्रिय टिममा समेत स्थान दियो । तौल समूहअनुसार प्रतिस्पर्धा हुने खेल भएकाले संगीनालाई स्वास्थ्यमा निकै ध्यान दिनुपर्ने अवस्था आयो । कम तौल समूहमा प्रतिस्पर्धा गर्दा नेपाली खेलाडीलाई फाइदा हुने भएकाले संगीनाले आफ्नो तौल घटाएर खेल्नुपर्ने भयो । ‘तौल घटाउन थुक निल्ने कुरासम्म ख्याल पु¥याउनुपथ्र्यो,’ संगीनालाई राम्रोसँग याद छ । 

खाना कम खाने बानी पनि उनले बसाल्नुपर्ने भयो तर यस्तो विधिमा तौल घटाउँदा सामान्य परिस्थितिमा समेत उनलाई अप्ठ्यारो महसुस हुन्थ्यो । उनलाई प्रशिक्षणलगत्तै भित्ता खोज्नुपथ्र्यो, जिउ अड्याउन । अर्कोतर्फ उनलाई प्रशिक्षणको महत्व पनि थाहा हुँदै गयो । फूर्तिलो हुन नियमित प्रशिक्षण आवश्यक हुँदोरहेछ भन्ने उनमा मानसिकता विकास हँुदै गयो । विसं २०४९ मा फिलिपिन्समा सम्पन्न एसियन च्याम्पियनसिपमा उनले करिब चार÷पाँच केजी तौल घटाएर ४२ केजीभन्दा मुनिको तौल समूहमा प्रतिस्पर्धा गरिन् जसमा उनले रजत पदक जितिन् । कोरियाली खेलाडीसँग हारेपछि उनी विश्व च्याम्पियनसिपमा भने क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकिनन् । अस्ट्रेलियामा भएको १२आंै एसियन च्याम्पियनसिपमा सहभागी हुनुभन्दा अगाडि उनले कोरियामा एक महिनाको प्रशिक्षण लिइन् । 

यहाँ उनले राम्रो नतिजा निकाल्न सुत्ने र खाने कुराको प्रभाव रहने कुरा बुझिन् । ‘खाएर, पिएर नै शरीरलाई आफूलाई चाहिने अवस्थामा राख्न सक्यो भने फूर्तिलो अनि प्रभावकारी हुने रहेछ,’ उनले आफ्नो अनुभव सुनाइन् । एकपछि अर्को अनुभवबाट संगीनाले सिक्दै गइन् । यसपछि नै उनले एसियन च्याम्पियनसिपमा स्वर्ण पदक जितिन् भने सागमा दुई स्वर्ण पदक जितिन् । १०औं सागमा कांस्य पदक जितेपछि उनको खुट्टामा समस्या आयो र उनको खेलजीवन नै समाप्त भयो । 

खेल्ने रहर थियो तर ज्यानले साथ दिएन । संगीनालाई लाग्छ, ‘खेलाडीले आफ्नो शरीरलाई भगवान्सरह व्यवहार गर्नुपर्छ । शरीरलाई स्वस्थ र चोटमुक्त राख्ने प्रयास गर्न कुनै कन्जुस्याइँ गर्नुहुन्न ।’ अचेलका खेलाडी स्वास्थ्यप्रति गम्भीर नभएको उनको अनुुभव छ । भन्छिन्, ‘मार्सल आर्टका खेलाडी घाइते हुने सम्भावना निकै हुन्छ । लिगामेन्ट, कुर्कुचा, घुँडालगायत शरीरका भागमा असर पर्न सक्छ । यसका लागि खेलाडी आफंै सचेत हुनुको विकल्प छैन तर अहिलेका खेलाडी त्यति सिन्सियर छैनन् ।’[ स्वास्थ्य खबर]

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com