काठमान्डू चित्र २४,
उदार एवं खुला अर्थतन्त्रले जगजगि फैलाएको अहिलेको समयमा फेसनलाई कतिपय अर्थशास्त्रीहरू सम्बन्धित मुलुकको आर्थिक विकासको स्तर नाप्ने आधारसमेत मान्छन्। यही परिप्रेक्ष्यमा कतिपय मुलुकले फेसनकै कारण शेष संसारमा आफ्नो परिचय स्थापित गरेका छन् र पर्यटन प्रबर्द्धनको दरिलो माध्यम बनाएका छन्।
आर्थिक विकासमा फेसनको यो भूमिकामा नेपाल अझ धेरै पछाडि छ भन्ने कुरा गत चैत १७ गते सम्पन्न नेपाल फेसन सप्ताहको प्रस्तुतिले समेत प्रमाणित गरेको छ।
हरेक वर्ष आयोजना गरिने फेसन सप्ताहमा सम्बन्धित समाजको फेसन सम्बन्धी चेतना झल्कनुपर्छ र सम्बन्धित समाजकै परम्परागत पहिरनको आधुनिक एवं परिस्कार गरिएका स्वरूप प्रस्तुत हुनुपर्छ भन्ने मान्यता विश्वव्यापी छ। यो पृष्ठभूमिमा नेपालमा आयोजना हुने फेसन सप्ताहको प्रस्तुतिलाई अन्य मुलुकको फेसनको सिकोका रूपमा लिन सकिन्छ। नेपाल फेसन सप्ताहमा पनि नयाँ कुरा भन्दा पश्चिमा संसारमा चलेका फेसन ट्रेन्डहरूलाई पछ्याउने फेसन डिजाइनरहरूको वाहुल्यता देखियो।
खासगरी वान पिस र गाउन जस्ता पहिरनको प्रस्तुतिमा के न्दि्रत नेपाल फेसन सप्ताहमा सहभागी भएका फेसन डिजाइनरहरू प्राप्त अवसरको सदुपयोग गर्दै आफ्नो परिकल्पनालाई नयाँ ढंगले प्रस्तुत गर्न सकेको भए अझ राम्रो हुने थियो।
नेपाली फेसन संसारमा आफ्नो परिचय बनाउन अगाडि बढेका विद्यार्थी डिजाइनर, फेसन डिजाइनिङमा स्नातक गरेकाहरू, मुक्ता श्रेष्ठ, विशाल कपुर, प्रेमशंकर देव, समा बानु, खुश्बु डंगोल, नीलिमा मादेन लिम्बूजस्ता नेपाली फेसनमा चलेका नामहरूको उत्कृष्ट सिर्जना एउटै मञ्चमा अवलोकन गर्न पाउनु नै फेसन सप्ताहको उल्लेखनीय पक्ष थियो।
फेसन बजारमा देखिँदै आएका लेहेंगा, कुर्ता, साडी, इभनिङ गाउन, वन पिस ड्रेसहरूजस्ता पहिरनमै केन्दि्रत यो फेसन सप्ताहमा पहिरन प्रस्तुत गर्ने मोडलसँगै ओपनर र शो स्टपरहरू पनि दर्शकको आँखा र्याम्पतिर अड्याउन सफल देखिए, जसमा नेपालका नाम चलेका चलचित्र अभिनेत्री तथा मिस नेपालहरूको बाहुल्यता थियो।
चलेका फेसन शैलीहरूको बाहुल्यता रहेको भए पनि सिलहुट्स, रंग संयोजन, फ्याबि्रक छनोट र स्टाइलिङको विविधतासँगै मोडलमाथि प्रयोग गरिएको मेकअप तथा केश विन्याशले अधिकांश दर्शकको मन जितेको देखिन्थ्यो। फेसन सप्ताहका केही कलेक्सन भने नेवाः संस्कृतिबाट प्रेरित थियो भने केहीमा अल्लो, नेपाली ढाका, हाकु पटासी जस्ता नेपालीपन बोकेका विम्बहरू पनि देखिन्थे।
अनेकन रंगहरूको विविधतासँगै यस पटकको फेसन सप्ताहमा कालो, सेतो एवं नियन सेड्सका रंगहरूको प्रचुरता थियो।
गत चैत १४ गते प्रारम्भ भएर १७ गते सम्पन्न भएको नेपाल फेसन सप्ताहको अवधिभर एकल, युगल र समूहगत गरी पहिलो दिन १४ जना, दोस्रो दिन ३४ जना, तेस्रो दिन २९ जना र अन्तिम दिन ९ जना गरी जम्मा ८६ जना फेसन डिजाइनरले तयार पारेका ८ सय ८६ वटा पहिरन र्याम्पमा प्रस्तुत भए। रातो, कालो, पहेलो, नीलो, सेतो जस्ता विविध रंगमा प्रस्तुत गरिएका ती पहिरनले फेसन डिजाइनरहरूको कल्पनाशिलता भन्दा बढी अरुबाट प्रभावित भएको छनक दिइरहेका थिए।
होटल सोल्टी क्राउन प्लाजाको मेघा मल्हार प्रेक्षालयमा राजु पेन्टरद्वारा सजाइएको र्याम्प सेटअपमा १६ नेपाली तथा ४ भारतीय मोडलको बिरालो चालमा हरेक दिन साँझ करिब ९० मिनेटसम्म विभिन्न डिजाइनका पहिरन प्रस्तुत भए। एच आर यादवले फेसन कन्सल्टेन्टको भूमिका निर्वाह गरेको फेसन सप्ताहमा मोडलहरू मेकअप आर्टिष्ट स्नेहा राणाको श्रृङ्गार एवं हेयर स्टाइलिस्ट राजेश घिमिरेको केशविन्यासमा प्रस्तुत भएका थिए।
डिजे र्याबिट तथा डिजे फिन्जोकका साथमा यू टर्नका साउन्ड डिजाइनरहरूले तयार पारेको संगीत संयोजनको तालमा आफ्नो चाल मिलाएर आकर्षक प्रस्तुति दिएका मोडलहरूको प्रस्तुतिलाई कोरियोग्राफर प्रशान्त ताम्राकारले निर्देशन गरेका थिए। पूर्व मिस ने पालहरूदेखि अभिनेत्री, सञ्चारकर्मी एवं गायिकासम्म शो ओपनर र स्टपरका रूपमा प्रस्तुत भएका कारण फेसन सप्ताह रोमाञ्चक बन्न पुगेको थियो। उक्त फेसन सप्ताह फेसन डिजाइनिङ संस्था आइइसीको सहकार्यमा आप्का इभेन्ट्सको आयोजनामा सम्पन्न भएको थियो।(साप्ताहिक)