बोस्टन, अमेरिका वैशाख १० ,
अमेरिकाको संघीय जाँच ब्युरोले बोस्टन बम काण्डका जीवित १९ वर्षे डोखार तासरनेभविरुद्ध आरोप तय गर्ने तयारी गरिरहेको छ । उनलाई बोस्टन नजिकैको वाटर टाउनमा नावमा लुक्रिरहेको बेला पक्राउ गरिएको थियो ।
नरसंहारको अभियोग लगाइएमा उनलाई मृत्युदण्डसम्मको सजाय हुन सक्छ ।
बेथेस्टडा मेमोरियल अस्पतालमा उपचार गराइरहेका उनी घाँटीमा गोली लागेकाले बोल्न सकेका छैनन् । प्रहरीले उनको लिखित बयान लिइरहेको अपुष्ट खबरहरू आएका छन् । उनको दाजु २६ वर्षे तामेरलानको प्रहरीसँग भिडन्तको क्रममा मृत्यु भएको छ । ज्यान बचाएर भाग्ने क्रममा भाइले दाजुलाई मारेको प्रहरीले दाबी गरेको छ । उनीहरू दस वर्षअघि मात्र दक्षिणी रुसको चेचेन्याबाट सपरिपवार अमेरिका प्रवेश गरेका थिए । यो कारबाहीको अन्त्यपछि बोस्टन लगायत पूरा अमेरिकीवासीले राहत महसुस गरेका छन् ।
म्याराथनको अन्तिम रेखामा भएको विस्फोटमा सोमबार तीनजनाको ज्यान गएको थियो । १ सय ७० घाइते भएका थिए ।
प्रहरीले स्केच जारी गरेपछि उनीहरू भाग्दै हिँडेका थिए । उनीहरूले भाग्ने क्रममा एक ट्याक्सीसमेत नियन्त्रणमा लिएर छाडेका थिए । यिनै दाजुभाइको गोली प्रहारबाट क्याम्बि्रज क्षेत्रमा शुक्रबार एक प्रहको ज्यान गएको थियो भने अर्का घाइते भएका थिए । घेरा हालेका प्रहरीलाई उनीहरूले घरेलु बम र ग्रेनेडले आक्रमण गरेका थिए ।
घटनास्थलबाट फेला परेको २ सय ५० राउन्ड गोली र अत्याधुनिक विस्फोटक पदार्थले उनीहरू थप आक्रमण गर्ने योजनामा रहेको प्रहरीले जनाएको छ । उनीहरूले चोरी गरेको कारमा पनि भारी विस्फोटक फेला परेको छ । स्वास्थ्य अवस्थामा सुधार भएपछि एक उच्च स्तरीय प्रहरी टोलीले डोखारसँग सोधपुछ गर्नेछ ।
अध्ययनमा अब्बबल, छात्रवृत्ति पाएका र पानीमा डुब्नेलाई बचाउने (लाइफ गार्डको सर्टिफिकेट कोर्स) गर्ने डोखरलाई गुप्तचर एजेन्सीले फसाएको वा उनीहरू कुनै षड्यन्त्रको सिकार भएको अभिभावक, आफन्तजन एवं मित्रहरूको भनाइ छ । अमेरिकी सुरक्षा अधिकारीहरूले पनि यी दाजुभाइले नरसंहार मच्चाउने कारण स्थापित गर्न सकेको छैन ।एजेन्सी: