आइसीसी वर्ल्ड क्रिकेट खेलमा नेपालको निराशाजनक प्रदर्शन

 काठमाडौ बैशाख १७,

नेपालले आइसीसी वर्ल्ड क्रिकेट लिग डिभीजन ३ को आफ्नो दोस्रो खेलमा पनि नमिठो पराजय बेहोरेको छ । डिभिजन २ मा पुग्ने लक्ष्यका साथ बर्मुडा पुगेको नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा नेपालको डिभिजन २ को यात्रा निकै कठिन बनिसकेको छ । सोमबार सम्पन्न खेलमा नेपालले युगान्डासँग लज्जास्पद पराजय बेहोरेपछी नेपालको डिभीजन २ को सम्भावना निकै कमजोर बनेको छ । 

नेपाली टोली २ ठूला हारका कारण समूह तालिकाको अन्तिम स्थानमा छ भने नेपालले प्रदर्शन सुधार्न नसके डिभिजन ४ मा झर्ने सम्भावना पनि उत्तिकै देखीएको छ । अहिलेसम्मको खेलमा देखाएको प्रदर्शनलाई दोहोर्याइ रहने हो भने नेपालको विश्वकपको सपना त टुङ्गिने छ नै डिभीजन ३ मा नै बसिरहन समेत निकै धौ धौ पर्ने छ । सोमबार सम्पन्न खेलमा नेपाल युगाण्डासँग ६ विकेटले पराजित भएको छ । 

१ सय १७ रनको झीनो लक्ष्य पाएको युगान्डाले मात्र ४ विकेट गुमाउँदै १ सय ३८ बल बाँकी छँदा उक्त लक्ष्य भेट्टाएको थियो । युगान्डाका लागी रोजर मुसाकाले अविजित ४९ रन जोडेका थिए भने बेन्जामिन मुसोकले २२ रन जोडेका थिए । नेपालका लागी बसन्त रेग्मीले २ विकेट लिएका थिए भने अमृत भट्टराई र चन्द्र साउदले समान १-१ विकेट लिएका थिए । 

यसअघि टस जितेर ब्याटिङ थालेको नेपाली टोलीले ४४ ओभर २ बल खेल्दै आफ्ना सबै विकेट गुमाउनु अघि मात्र १ सय १६ रनको स्कोर खडा गरेको थियो । नेपालका लागी प्रदिप ऐरेले २४ रन र शक्ति गौचनले २१ रन जोड्नु बाहेक अन्यले २० को आकँडा भेट्टाउन सकेनन् । युगाण्डाका लागीसुबुगा र अरिनाईत्वेले समान ३-३ विकेट लिएका थिए भने मासाबाले २ विकेट तथा वाइस्वा र सेन्योन्डोले समान १-१ विकेट लिएका थिए । खेलको म्यान अप द म्याच अरिनाईत्वे घोषित भएका थिए ।नेपाली:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com